सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालालाई सर्वोच्च अदालतले आधाभन्दा बढी सजाय छुट दिँदै जेलमुक्त गराएको बिरोधमा स्वतन्त्र राष्ट्रिय अभियानको पहलमा शुक्रबार माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । प्रदर्शनमा सहभागीहरुले ‘अदालतको चोला फेर्न चोलेन्द्रलाई महाअभियोग’, ‘भागबण्डाको गोटीले, उन्मुक्ति पाए भेटीले’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।
आफ्नै श्रीमतीलाई २०६८ सालमा हत्या गरेर लास वेपत्ता पार्न मकवानपुरमा लगी जलाएका कोइराला पछि पक्राउ परेका थिए । श्रीमती गीता ढकालको हत्या कसुरमा जिल्ला र उच्च (तत्कालीन पुनरावेदन) अदालतले कोइरालाविरुद्ध सर्वस्वसहित जन्मकैद (२० वर्ष) जेल सजाय तोकेका थिए । तर गत असार १५ गते सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले साढे ११ वर्ष जेल सजाय छुट दिएपछि कोइराला बिहीबार जेलमुक्त भएका हुन् । त्यसपछि बिभिन्न समुह अदालतको सो फैसलाबिरुद्ध आन्दोलित भएको छ ।