राकमकर्णालीमा नयाँ सहरका लागि आठ वर्षपछि काम सुरु

आठबिस नगरपालिकाको राकमकर्णालीमा नयाँ सहर बनाउने योजनाले आठ वर्षपछि गति लिने भएको छ । स्थानीय बासिन्दा नयाँ सहरका लागि जग्गा दिन सहमत भएका छन् । 

मध्यपहाडी राजमार्गमा १० नयाँ सहर निर्माण गर्ने योजनाअनुसार, दैलेखको राकमकर्णाली पनि छनोट भएको थियो । तर, स्थानीय बासिन्दाले जग्गा दिन नमान्दा आठ वर्षदेखि काम सुरु हुन सकेको थिएन् । स्थानीय बासिन्दा जग्गा दिन सहमत भएसँगै निर्माणको काम सुरु भएको आयोजनाका प्रमुख सुशील रसाइलीले बताए । ‘जग्गाको समग्र वस्तुस्थिति समावेश गरेर राजपत्रमा सूचना प्रकाशन भइसकेको छ,’ आयोजनाप्रमुख रसाइलीले भने, ‘अब जग्गाको बृहत प्लानिङ सुरु हुन्छ ।’ सडक निर्माण, मनोरञ्जन पार्क, खानेपानी, विद्युत् सेवा, स्वास्थ्य संस्थाजस्ता पूर्वाधारहरू कहाँ र कति स्थानमा बनाउने भन्ने विषयको निक्र्योल भएपछि पूर्वाधारको काम सुरु हुने उनको भनाइ छ । 

जग्गा विवादले रोकिएको आयोजना अब सञ्चालन हुने आशा जागेको आठबिस नगरपालिका मेयर खड्गराज उपाध्यायको भनाइ छ । स्थानीय सरकारकै पहलमा सर्वसाधारण जग्गा दिन सहमत भएका थिए । स्थानीय बासिन्दासँग भएको सहमतिअनुसार, ‘ल्यान्ड पुलिङ’ विधिमार्फत नयाँ सहर बसाइनेछ । कुल जग्गाको ३० प्रतिशत सडक र अन्य पूर्वाधारमा प्रयोग गरिनेछ भने भने ७० प्रतिशत जग्गा जग्गाधनीलाई नै फिर्ता गरिनेछ । 

सहमति भएसँगै आयोजनाले गत असारमै जग्गाको ब्लग छुट्याएर स्वीकृतिका लागि मन्त्रालयमा पठाएको छ । यो वर्ष आयोजनामार्फत एक सय पाँच वटा सौर्य बत्ती जडान र दुइटा खानेपानी आयोजना निर्माणका लागि ठेक्का सम्झौता भएको छ ।

You May Also Like