कुख्यात अपहरणकारीको कर्तुत : ‘भान्जाभान्जी’को अपहरण गरेको २४ घण्टा नबित्दै अर्को अपहरण !

काठमाडौँ । गत मंसिर २८ गते म्याग्दी घर भएकी (नाम परिवर्तन) सीता अपरान्हतिर छोराछोरीलाई घरमा राखेर पोखरा निस्किइन् ।  सीता १५ वर्षीया छोरी, १४ वर्षीय छोरा र भान्जीसँग सामाखुसी चोक नजिकै बस्दै आएकी थिइन् ।

सीता जेठी छोरीलाई सम्झाएर ससुराको पेन्सन पट्टा बनाउन भन्दै पोखरा निस्केकी थिइन् । पोखरा जानुअघि सीताले पहिलादेखि नै चिनजान रहेका आशिष सिजापतिलाई पनि आफू पोखरा जान लागेको र नानीबाबुको हेरचाह गर्दिन आग्रह गरिन् ।

काठमाडौँ महानगरपालिका–३ बानेश्वर बस्ने धनगढी घर भएका २४ वर्षीय आशिषले पनि ‘हुन्छ, चिन्ता नलिनुभन्दै’ भन्दै सीतालाई आश्वस्त पारे । आशिषले सीतालाई दिदी भनेर बोलाउँथे, आशिषलाई सीताका छोराछोरीले ‘मामा’ भन्थे ।

यसअघि सीता कहिले पनि छोराछोरीलाई छाडेर एक्लै बाहिर निस्केकी थिइनन् । जब सीता पोखराको लागि निस्किइन्, तब आशिषलाई खुँदो पर्यो । आशिषले उनीहरुको अपहरणको योजना बनाए । अन्ततः एकदिनमै अपहरण गर्ने योजना सफल पारे ।

३० गते सोमबार बिहान आशिष सीताको घरमा पुगे । सीताकी छोरी र भान्जी स्कुल जानको लागि तयारी गर्दै थिए । सीताको छोरा भने आशिष आउनुअघि नै स्कुल गइसकेका थिए ।

घर पुग्नासाथ ‘तिम्रो मम्मीले मलाई फोन गर्नुभएको छ, तिमी म सँग हिँड मम्मीले भनेको गोगंबुस्थित ब्लू स्टार गेष्ट हाउसमा,’ आशिषले सीताकी छोरीलाई भने । ‘मामा’ ले त्यसो भनेपछि छोरीले उनको कुरालाई विश्वास नगर्ने ठाउँ थिएन । उनीहरु निस्किए ।

आशिषले सीताको छोरालाई पनि सोही दिन बेलुकाको ५ बजेतिर दिदीहरु बसेको होटलमा ल्याए । ‘एकदिन बस्ने हो डराउन पर्दैन,’ भन्दै आशिषले उनीहरुलाई आश्वस्त पार्दै राखे । त्यसरी नै उनीहरुलाई ३ दिनसम्म आशिषले होटलमा राखे । सोमबार साँझ बच्चाहरुको हेरचाहको लागि भन्दै विनोद थापामगरलाई बोलाएर आशिष बाहिर निस्किए । त्यो दिनदेखि उनी त्यहाँ गएनन् । विनाद थापाले नै उनीहरुको हेरचाह गरिराखे । उनीहरुलाई बाहिर निस्कन र फोन गर्न दिइएको थिएन । आफू अपहरणमा परेको उनीहरुलाई पत्तै भएन ।

यता, सोमबार साँझै आशिषले सीतालाई छोरीको मोबाइलबाट फोन गर्दै, ‘तपाईंको छोरा, छोरी र भान्जीलाई लिएर राखेको छु । ३ लाख ५० हजार दिएपछि मात्र छोड्छु भन्दै धम्की दियो ।’

आशिषले पैसा लिएर आउनुस् अनि मात्र बच्चा छोड्छु भनिरहे । कुन ठाउँमा पैसा लगेर बुझाउने त्यो पनि आशिषले खुलाएनन् । २ दिनसम्म सीताले घटना’bout कसैलाई केही नभनी बसिन् । र, पैसा जुटाउनेतिर लागिन् ।

बुधबार सीता पोखराबाट काठमाडौँ फर्किन् । काठमाडौँ फर्केलगत्तै सीताले साँझ ६ बजेतिर महारागञ्ज वृत पुगेर घटना’bout प्रहरीलाई जानकारी गराइन् । उनीहरुको खोजी गर्न काठमाडौँ उपत्यकामा व्यापक मात्रामा प्रहरी परिचालन गरियो ।

अन्नतः महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीको नेतृत्वमा खटिएको टोलीले खोजी गर्ने क्रममा तीनैजना बच्चाको सकुशल उद्दार गर्न सफल भयो । प्रहरीले विनोद थापामगर र होटल सञ्चालकलाई समेत पक्राउ गरेको बोगटीले बताए ।

आशिषको समूहले नाताले भान्जाभान्जी पर्ने तीन बच्चालाई अपहरण गरेर सामाखुसीस्थित ब्लू स्टार गेष्ट हाउसको कोठा नम्बर ४०४ मा राखेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको बोगटीको भनाइ छ ।

पक्राउ परेका विनाद थापामगर र होटल सञ्चालकमाथि अपहरण तथा शरीर बन्धक मुद्दामा जिल्ला अदालत काठमाडौँबाट ७ दिनको म्याथ थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

होटलबाट निस्किएका आशिष कहाँ गए ?

सोमबार साँझ होटलमा विनोद थापामगरलाई बच्चाहरुको जिम्मा लगाएर आशिष कहाँ गए ? किन उक्त होटलमा आशिष बसेनन् ? कहानी अझै रोचक छ ।

होटलमै रहेको बेला धादिङ नेत्रावती गाउँपालिका–६ बस्ने २४ वर्षीय किसन गुरुङले आशिषलाई फोन गरेर भनेका थिए– ‘अर्को एकजना सोझो मान्छेलाई अपहरण गर्नसकिन्छ । आउन पर्यो ।’

त्यतिबेलासम्म आशिषले सीतालाई फोन गरेर पैसा नदिए तीनैजनालाई मारिदिन्छु भनेर धम्की समेत दिइसकेका थिए । किसनको फोनलगत्तै आशिष विनोद थापामगरलाई बच्चाको हेरचाह गर्न भन्दै बाहिरिएका थिए ।

सोमबार राती उनीहरुबीच टोखाको एक होटलमा भेट भएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । भेटमा किसन गुरुङ, आशिक लामा, आशिष सिजापती र सन्देश लामा सहभागी थिए ।

किसनले अपहरण गर्ने व्यक्तिको हुलियाको ’boutमा सबैलाई ब्रिफिङ गरे । होटलमै बास बसेका उनीहरु रातको १२ बजेसम्म कसरी ती व्यक्तिको अपहरण गर्ने योजना बनाएको प्रहरीको भनाइ छ ।

तीन बालिका अपहरण गरेको २४ घण्टा नबित्दै आशिष सिजापतिको नेतृत्वमा अपहरणकारीले मङ्गलाबार बिहानै टोखा नगरपालिका–३ डेरा गरी बस्ने रामेछाप दोरम्बा गाउँपालिका–५ घर भएका २१ वर्षीय नरेश थापामगरको अपहरण गरेका थिए ।

आशिषको समूहले नरेशलाई अपहरण गर्नुअघि काठमाडौँ महानगरपालिका–४ बस्ने काभ्रे मण्डल देवपुर नगरपालिका–९ घर भएका २८ वर्षीय सरोज सापकोटालाई समेत कुटपिट गरेका थिए ।

अपहरण गरेर नरेशलाई रातारात उनीहरुले हेटौँडा उपमहानगरपालिका–९ लामसुरेस्थित सरस्वती तामाङको घरमा पुर्याइसकेका थिए ।

कसरी खुल्यो पोल ?

अमलेखगञ्जबाट काठमाडौँ जान भनी हेटौंडातर्फ जाँदै गरेको बा.२ ज ५९५ नम्बरको ट्याक्सीमा सवार मध्येका मगरलाई बा २ ज ५३५६ नम्बरको ट्याक्सीमा आएका व्यक्तिहरूले अपहरण गरेको कुटाइ खाएका सापकोटाले नै प्रहरीलाई खबर गरेका थिए ।

सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत प्रहरी कार्यालयहरूबाट तत्कालै खटिएको प्रहरीले नरेशलाई बन्धक बनाइरहेको अवस्थामा फेला पारी सकुशल उद्धार गरेको हो ।

नरेशको अपहरण कार्यमा संलग्न किसन गुरुङ, आशिक लामा, आशिष सिजापती, सुनिता धामी र सरस्वती तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

परिसरका प्रहरी प्रमुख उत्तम सुवेदीका अनुसार ‘खतरनाक’ अपहरणकारी आशिष सिजापति यसअघि पनि अपहरण तथा शरीर बन्धक मुद्दामा सफाइ पाएर पुनः सोही पेसामा संलग्न रहेको बताए ।

You May Also Like