अबको दुई महिना बाकी हुदा आईजीपी छान्न ‘घमासान’ हुने, एआईजी मै कडा प्रतिस्पर्धा

काठमाडौं । मंसिर सकिएको छ । अबका दुई महिना पुस र माघ २९–२९ दिनका छन् । आजको मितिदेखि ठ्याक्क ५८ दिनमा नेपाल प्रहरीको मूली (प्रहरी महानिरीक्षक)सहित २२ उच्च पदस्थ प्रहरी एकै साथ सेवानिवृत्त हुँदैछन् अर्थात् ‘रिटार्यड’ हुँदै छन् ।

प्रहरी प्रमुख सर्वेन्द्र खनालसँगै उनका ब्याची ३ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र १८ प्रहरी नायव महानिरीक्षक (डीआईजी) एकै पल्ट रिटार्यड हुन लागेका हुन् । उनीहरुको सेवा अवधि सकिने तिथि हो, माघ २९ गते । उनीहरु २०४६ माघ २९ गते प्रहरी सेवामा प्रवेश गरेका थिए ।

नेपालको निजामती सेवामा सेवा अवधिको व्यवस्था छैन । तर, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागमा ३० वर्षे सेवा अवधिको प्रावधान राखिएको छ । निजामती कर्मचारी भने उमेर हद लागेर सेवा निवृत्त हुने गर्छन् । सरकारले निजामतीको उमेरहद बढाएर ५८ वर्षबाट ६० वर्ष बनाउने तयारी गरिरहेका बेला प्रहरीमा समेत सेवा अवधिको व्यवस्था हटाएर उमेरहदको व्यवस्था गर्नु उचित हुने कुरा चल्न थालेका छन् । तर, यो पल्ट सेवा अवधि सकिएका कारण माघ मसान्तमा एकसाथ ठूलो संख्यामा उच्च पदस्थ प्रहरी रिटार्यड हुँदैछन् ।

को–को बाहिरिँदै छन् ?
अवकाश पाउनेमा प्रहरी प्रमुख सर्वेन्द्र खनालसहित उनीसँगै प्रहरी प्रमुखको दौडमा सामेल भएका पुस्कर कार्की पनि छन् । एआईजी कार्की अहिले प्रहरी प्रधान कार्यालय कार्य विभागमा छन् । अघिल्लो पल्ट प्रहरी प्रमुख छान्दा कार्की राष्ट्रपतिको मान्छे भन्दै प्रचार भएको थियो । तर, उनले आफ्नो र राष्ट्रपति विद्यादेवी भण्डारीको जिल्ला एउटै हुनु संयोग मात्रै भएको भन्दै आफुले तिहारमा टीका थाप्ने गरेको कुरा झुठो, हो भनेका थिए । यस्तै, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा रहेका एआईजी ठूले राई पनि रिटार्यड हुनेको सूचीमा छन् । राईले तीन महिला पहिले विपत व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख बन्न आवेदन दिए पनि, छनोटमा हुन सकेनन् । सुरक्षा परिषदमा रहेका धिरु बस्नेत पनि अवकाश पाउँदै छन् । बस्नेत निर्मला पन्त प्रकरणमा उच्चस्तरीय अनुसन्धान टोलीको नेतृत्व गरेपछि बढी चिनिएका थिए ।

एकै दिन अवकाश पाउने डीआईजीमा मनोज न्यौपाने, सुरेशविक्रम शाह, पिताम्बर अधिकारी, केदार रिजाल, नारायणसिंह खड्का, कमलबहादुर जीटी, शेरबहादुर बस्नेत, दिनेश अमात्य, रामप्रसाद श्रेष्ठ, दीपककुमार थापा छन् । यस्तै, विनोद शर्मा घिमिरे, पूर्णचन्द्र जोशी, दानसिंह बोहरा, हरिभक्त प्रजापति, विकास श्रेष्ठ, महेशविक्रम शाह, सुरज केसी, महेन्द्रकुमार पोखरेल पनि रिटार्यड हुँदैछन् । यी मध्ये डीआईजी महेशविक्रम शाह वन सेवामा जागिर खाएकाले त्यो अवधि समेत जोडिएर पुसको पहिलो हप्ता नै अवकाश पाउँदैछन् ।

यो पटक पनि प्रहरी प्रमुख छान्न ‘घमासान’ हुने
अघिल्लो पल्ट आईजीपी र एआईजीहरु एकैपल्ट सेवानिवृत्त भएपछि डीआईजी मध्येबाट प्रहरी प्रमुख बनाउनु परेको थियो । त्यो बेला दौडमा थिए, सर्वेन्द्र खनाल, रमेश खरेल, र पुस्कर कार्की । त्यो दौडमा कार्यसम्पादन मूल्याङ्कनका आधारमा खनाल पहिलो भए । उनले दुई वर्षे कार्यकाल भरपुर खाए । दौडबाट बाहिरिएपछि बम्किएका रमेश खेरेलले सेवा अवधि छँदै डीआईजीबाट राजीनामा गरेर हिँडे । त्यो बेला दौडको पुछारमा रहेका पुस्कर कार्की खनालसँगै अवकाश पाउँदैछन् ।

त्यो बेला चर्चामा रहेकै व्यक्तिबाट आईजीपी छान्न त्यति कठिनाई भएन हाेला, जति यो पल्ट हुँदैछ । एक जना उच्च पदस्थ प्रहरी अधिकारीका अनुसार यो पल्ट ८ जना डीआईजी मध्येबाट एक जना आईजीपी छान्नु पर्ने छ । र, यो पल्ट बढी कठिनाई हुनुको कारण अर्को पनि छ, सुरुमा एउटा एआईजी बढुवा गरेर र्आजीपी बनाउनु छ । पछि, बाँकी रहेका ७ जना डीआईजीबाट ३ जना एआईजी छनोट गर्नु छ । त्यसैमा हुनेछ ‘घमासान’ । २०७५ जेठ २७ गतेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरी रहेको एआईजी दरबन्दी फाँडेको थियो । त्यसअघि नेपाल प्रहरीमा प्राविधिकसहित १६ जना एआईजीको दरबन्दी थियो । गृहमन्त्रालयले ५ जनाको दरबन्दी राख्न भनी प्रस्ताव लगेकामा मन्त्रीपरिषदले ३ जना कायम गरिदिएको हो । त्यही बैठकले सशस्त्र प्रहरीमा पनि एआइजीको दरबन्दी २ जनामा झारेको थियो ।

यो पटक आईजीपीको प्रमुख दावेदार को ?
माघ २९ बाट एकै पल्ट २२ उच्च पदस्थले अवकाश पाउने भएपछि नेपाल प्रहरीको भावीन नेतृत्वको पनि चर्चा सुरु भएको छ । कसले गर्लान् त ? झण्डै ८० हजार प्रहरीको नेतृत्व । भावी प्रहरी प्रमुखको प्रवल दावेदार मानिएका छन्, डीआईजी ठाकुर प्रसाद ज्ञवाली । उनी अहिले प्रदेश १ को प्रहरी प्रमुख छन् ।

यो पल्ट उम्मेदवार रहेका ८ डिआईजीमा सबैभन्दा ज्येष्ठ र वरिष्ठ उनैलाई मानिएको छ । तर, पछिल्लो समय एउटा नजिर बसेको छ, प्रहरी प्रमुख छान्न । त्यो हो, कासमु अर्थात् ‘कार्य सम्पादन मुल्याङ्कन’ । जसको नम्बर बढी छ, त्यही पहिलो हुने । यही कासमुले त्यो बेला डीआईजी नवराज सिलवाललाई प्रहरी प्रमुख बन्न छेक्बार मात्रै होइन, पर्खालको काम गरेको थियो । त्यही झोंकमा उनी राजनीतिमा आएर प्रतिनिधि सभा सदस्यको चुनाव जिते । त्यो पनि प्रत्यक्ष ।

त्यसैले यो पल्ट कसले बाजी मार्ला यसै भन्न सकिन्न । अहिलेसम्म ठाकुर प्रसाद ज्ञवालीको नाम बाहिर आएको छ । यो खेलको अग्रपंक्तिमा को–को हुन्छन् भन्ने थाहा हुन बाँकी नै छ । तर, खेल खेल्ने खेलाडीलाई भन्दा दर्शकलाई बढी उकुसमुकुस हुने गर्छ ।

को–को हुन एआईजीको दौडमा रहेका ८ डीआईजी ?
१. ठाकुर प्रसाद ज्ञवाली–प्रदेश १ को प्रहरी प्रमुख
२. विश्वराज पोखरेल– केन्द्रीय प्रहरी प्रवक्ता
३. शैलेश थापा क्षेत्री–महानगरीय प्रहरी प्रमुख
४. निरज शाही–व्यूरो प्रमुख
५. प्रद्युम्न कार्की– प्रदेश २ को प्रहरी प्रमुख
६. तारिणी प्रसाद लम्साल–सुदूरपश्चिम प्रहरी प्रमुख
७. सूर्य उपाध्याय– विमानस्थल प्रहरी प्रमुख
८. हरिबहादुर पाल– विशेष व्यूरो प्रमुख

जनतापाटीबाट

You May Also Like