नारायणगढ- मुग्लिन सडकखण्ड आजदेखि दिउँसो ६ घण्टा बन्द

काठमाडौं: नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दिउँसो ६ घण्टा बन्द हुँदैछ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म यो सडकखण्डमा गाडी चलाउन रोक लगाइने नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ ।

तर ट्राफिक प्रहरीले भने बिहान ९ बजेदेखि नै गाडी चल्न रोक लगाउने तयारी गरेको जनाएको छ । गाडी रोकेर राति सडक विस्तारको काम भइरहेकोमा काम गर्न कठिन भएपछि शनिबारदेखि दिउँसो नै गाडी रोकेर काम गर्न लागिएको हो ।

सडक विस्तारका क्रममा चट्टान काट्नेलगायत जोखिमपूर्ण काम हुने भएकाले गाडी रोक्नुपरेको आयोजना प्रमुख चन्द्रनारायण यादवले बताउनुभयो ।

नारायणगढबाट छिर्ने यात्रुबाहक गाडीलाई दासखोला पुल अगाडि, मालबाहक गाडीलाई भतेरी जंगलमा मुग्लिन हुँदै छिर्ने यात्रुबाहक बसलाइ मुग्लिन बजार र बेनीटारमा तथा मालबाहक गाडीलाई लेबारटार आँबुखैरेनीमा रोकिने चितवनका ट्राफिक प्रहरी प्रमुख सन्तोष पन्तले जानकारी दिनुभयो ।

दिउँसो सडकखण्ड बन्द हुने भएकाले यात्रु र चालकलाई बैकल्पिक सडक प्रयोग गर्न आयोजनाले आग्रह गरेको छ । यो सडक विस्तारको लागि तीन पटक समय थपिए पनि अझै पूरा भएको छैन ।

आउँदो चैतसम्म काम सक्ने आयोजनाले बताए पनि निर्माण कम्पनीले सडक निर्माणको काम पूरा हुन नसक्ने बताउँदै आएको छ । सडक विस्तार पूरा नहुँदा यात्रुले २४ घण्टासम्म जाममा बस्नुपर्ने बाध्यता छ । 

 

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

You May Also Like