चितवन : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिल्लाको भरतपुर महानगरपालिका–१४ भीमसेनगरस्थित आधारभूत शान्ति प्रावि केन्द्रबाट मतदान गर्नुभएको छ । बिहान ७ बजेर १३ मिनेट जाँदा उहाँले मतदान गर्नुभएको हो ।
चितवन क्षेत्र नं ३ मा अध्यक्ष दाहाल वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार हुनुहुन्छ । मतदानपछि सञ्चारकर्मीलार्ई संक्षिप्त प्रतिक्रिया दिँदै दाहालले गठबन्धनअनुसार नै आफूले मतदान गरेको बताउनुभयो ।
दाहाल पत्नी सीता दाहाल र कान्छी छोरी गंगा दाहालले पनि सोही केन्द्रबाट मतदान गर्नुभएको छ भने माइली छोरी भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले निमावि सुन्दरबस्ती मतदान केन्द्रबाट मतदान गर्दै हुनुहुन्छ ।
यसैगरी महानगरको वडा नं २७ जानकी मावि केन्द्रबाट राप्रपा (प्रजातान्त्रिक) का केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेले मतदान गर्दैहुनुहुन्छ । उहाँले मतदान गरेको चितवन क्षेत्र नं ३ बाट पाण्डे लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार हुनुहुन्छ ।
शिक्षा राज्यमन्त्री एवं चितवन क्षेत्र नं २ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार शेषनाथ अधिकारीले रत्ननगर नगरपालिका वडा नं. ३ को शहीद स्मृति बहुमुखी क्याम्पस मतदान केन्द्रबाट मतदान गर्दै हुनुहुन्छ ।
जिल्लाको अर्काे नगरपालिका राप्ती नगरपालिकाबाट नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले मतदान गर्दैहुनुहुन्छ । उहाँले वडा नं ५ को हेल्थपोष्ट भवन भण्डारा केन्द्रबाट मतदान गर्नुहुनेछ । उहाँ चितवन क्षेत्र नं. १ बाट वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार हुनुहुन्छ ।
माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले भरतपुर महानगरपालिका वडा नं. १० स्थित नारायणी नमूना उच्च मावि मतदान केन्द्रबाट मतदान गर्दै हुनुहुन्छ ।
नेकपा (माओवादी केन्द्र) का अनुशासन विभागका अध्यक्ष अमिक शेरचनले महानगरको वडा नं २६ को दिव्यनगर मावि मतदान केन्द्रबाट मतदान गर्दै हुनुहुन्छ ।
एमालेकै पोलिटब्युरो सदस्य काशीनाथ अधिकारीले रत्ननगर नगरपालिकाको वडा नं ९ कपरफोरी केन्द्रबाट मतदान गर्दै हुनुहुन्छ ।