मतदान गर्न जानुपूर्व यी कुरामा सचेत हुनुस

प्रतिनिधि र प्रदेशसभाको दोस्रो चरण अन्तगर्त ४५ जिल्लामा आज मतदान हुँदैछ । प्रतिनिधि र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकतर्फको दुबै मतदान एकैसाथ हुने भएकाले आज तीनवटा छुट्टाछुट्टै मतपत्रमा चार ठाउँमा मतदान गर्नुपर्छ ।

कसरि गर्ने त मतदान

१. मतदानका लागि जाँदा सकेसम्म निर्वाचन आयोगले दिएको मतदाता परिचयपत्र लिएर जानुपर्छ ।

२. मतदाता परिचय पत्र नभए सरकारी निकायबाट जारी भएका आधिकारिक प्रमाणपत्र जस्तो नागरिकता प्रमाणपत्र, सवारी चालक अनुमतीपत्र, जग्गाधनी दर्ता प्रमाणपुर्जा लगायतका आधारमा पनि मतदान गर्न पाइन्छ ।

३. प्रतिनिधि र प्रदेशसभाको दुईवटा चुनाव एकैपटक हुने भएकाले दुवै तहका लागि प्रत्यक्ष र समानुपातिक गरी दुई–दुई ठाउँमा छाप लगाउनुपर्छ । प्रत्यक्षतर्फ दुईवटा छुट्टाछुट्टै मतपत्र हुन्छन भने समानुपातिकतर्फ प्रत्यक्ष र समानुपातिकका लागि दुई खण्ड रहेको एउटै मतपत्र हुन्छ । जसमा माथि र तल एक–एकवटा छाप लगाउनुपर्छ ।

४. कर्मचारीले परिचयपत्र रुजु गरेर नङमा कालो मसी लगाइदिन्छन् ।

५. मतदान केन्द्रमा पुगेपछि सबैभन्दा पहिले मतपत्र लिनुपर्छ । मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर छ कि छैन भन्ने यकिन गर्नुपर्छ । हस्ताक्षर नभएको मतपत्रमा मतदान गरेमा त्यो मान्य हुँदैन ।

६. मतदान अधिकृतले सबैभन्दा पहिले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको हरियो रंगको मतपत्र दिनेछन् । त्यो मतपत्रमा स्वस्तिक छाप लगाएर मतपेटिकामा खसाल्नुपर्छ ।

७. प्रतिनिसभाको प्रत्यक्षतर्फको लागि भोट खसालेपछि सँगै रहेका कर्मचारीले प्रदेशसभाको प्रत्यक्षतर्फको कालो रंगको मतपत्र दिनेछन् । त्यसलाई पनि छाप लगाएर कालो रंगकै मतपेटिकामा खसाल्नुपर्छ ।

८. प्रत्यक्षतर्फको भोट खसालेपछि समानुपातिकतर्फको हल्का रातो रंगको मतपत्र सँगै बसेका अर्का कर्मचारीले दिनेछन् । त्यसको माथिल्लो भागमा प्रतिनिधिसभा र तल्लो भागमा प्रदेशसभाका लागि एक/एक वटा चिन्हमा मात्र छाप लगाउनुपर्छ ।

९. मतदान गर्दा र मतपत्र पेटिकामा खसाउँदासम्म साना जस्ता लाग्ने धेरै कुरामा ध्यान पुर्‍याउनुपर्छ । नत्र मत बदर हुने वा आफूले मतदान गर्न चाहेको व्यक्तिले मत नपाउने खतरा पनि रहन्छ ।

१०. मतपत्र पट्याउँदा मसी नलत्पतिने गरी पट्याउनुपर्छ । मतपत्र लिएपछि सबैभन्दा पहिलो मतदान अधिकृतको हस्ताक्षर छ÷छैन निश्चित गर्नुपर्छ । हस्ताक्षर नभएको मतपत्रमा मतदान गरे बदर हुन्छ ।

११. मतदान गर्दा स्वस्तिक छाप मात्र प्रयोग गर्नुपर्छ । औंला कलम वा अरु कुनै वस्तुले ल्याप्चे लगाए वा ठीक लगाएर मतदान गरे खेर जान्छ ।

१२. एउटा मतपत्रमा एक मात्र चिन्हमा स्वस्तिक छाप लगाउनुपर्छ । एकभन्दा बढी छाप लगाएमा मत बदर हुन्छ ।

१३. मतदान गर्दा स्वस्तिक छापले अर्को कोठाको ठाडो वा तेर्सो धर्कालाई छुन हुँदैन । त्यस्तै मतपत्रमा डटपेनले ठिक लगाउने वा केही लेख्ने गर्नु हुँदैन । त्यसो गर्दा मत बदर हुन्छ ।

१४. मतपत्रलाई मसी नलतपतिने गरी पट्याएर बाकसमा खसाउनुपर्छ ।

१५. मतदानको तरिका बुझेर मात्र मत खसाल्नुपर्छ । मतदान गर्नु अघि नबुझेका कुरा मतदान केन्द्रमा खटिएका कर्मचारीलाई सोध्नुपर्छ ।

रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँ र युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ ।

You May Also Like