आज वाम गठबन्धनको चुनावी सभा बुटवलमा, प्रचण्ड सहभागी नहुने

रुपन्देहीः वाम गठबन्धनले आज रुपन्देहीको बुटवलमा चुनावी सभा गर्ने भएको छ । सभालाई एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी नेता रामबहादुर थापा ‘बादल’ले सम्वोधन गर्नेछन् ।

यसअघि माओवादी अध्यक्ष प्रचण्डले पनि सभालाई सम्बोधन गर्ने भनिएको थियो । आयोजकले पनि ओली र प्रचण्ड मुख्य वक्ता भनेर तस्वीरसहितको व्यानर र पोष्टरहरु तयार पारेका थिए । तर छोरा प्रकाश दाहालको निधन भएकाले प्रचण्डले चुनावी सभालाई सम्वोधन गर्ने छैनन् ।

मंगलबार चितवनको सभामा पनि प्रचण्ड उपस्थित मात्रै भए, सम्वोधन गरेनन् ।

प्रचण्डका प्रेस संयोजक मनहरी तिमल्सिनाले अनलाइनखबरसँग भने, ‘अब जहाँ-जहाँ अध्यक्ष प्रचण्डले सम्वोधन गर्ने भनिएको थियो, ति सबै सभामा बादल कमरेडले सम्वोधन गर्नुहुन्छ ।’

तिमल्सिनाका अनुसार प्रचण्ड बुधबार दिउँसो काठमाडौं फर्किँदैछन् । ‘बुटवलको सभामा जाने कार्यक्रम स्थगित भएको छ । हामी दुई बजे काठमाडौं फर्किँदै छौं,’ उनले भने ।

जनवादी गायक खुशीराम पाख्रिनको श्रद्धाञ्जली सभामा सहभागी भएर प्रचण्ड काठमाडौं फर्किने उनले जानकारी दिए । मंगलबार चितवनमा आयोजित सभामा गीत गाउँदागाउँदै अस्वस्थ भएका पाख्रिनको नारायणी सामुदायीक अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । बुधबार चितवनको माओवादी पार्टी कार्यालयमा पाख्रिनको श्रद्धाञ्जली सभा आयोजना गरिएको छ ।

You May Also Like