दोस्रो चरणमा कुन कुन क्षेत्र बढी चर्चामा ?

काठमाडौं– दोस्रो चरणमा मंसिर २१ गते प्रतिनिधिसभातर्फ १ सय २८ र प्रदेशसभातर्फ २ सय ५६ क्षेत्रमा चुनाव हुँदैछ । यीमध्ये केही क्षेत्र धेरै चर्चामा छन् । शीर्ष र केही चर्चित नेताहरुले उम्मेदवारी दिएका कारण चर्चामा रहेका क्षेत्र यी हुन्:

चितवन ३
यहाँ वाम गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेसको समर्थनमा राप्रपाका विक्रम पाण्डे उम्मेदवार हुनुहुन्छ ।

झापा ३
यस क्षेत्रमा कांग्रेसका कृष्णप्रसाद सिटौला र राप्रपाका राजेन्द्र लिङदेनले उम्मेदवारी दिनुभएको छ । लिङदेनलाई वाम गठबन्धनको समर्थन छ । अरु ठाउँमा कांग्रेसले राप्रपासँग तालमेल गरेपनि यहाँ सिटौला र लिङदेनले छाड्न नमानेपछि राप्रपा र वाम गठबन्धनको तालमेल भएको हो ।

मोरङ ६
एमालेका चर्चित नेता लालबाबु पण्डित र कांग्रेसका डा. शेखर कोइराला दुवैले यस क्षेत्रबाट उम्मेदवारी दिनुभएको छ । पण्डित वाम गठबन्धनको साझा उम्मेदवार हुनुहुन्छ ।

धनुषा ३
यस क्षेत्रमा कांग्रेसका विमलेन्द्र निधि र राजपाका राजेन्द्र महतोले प्रतिस्पर्धा गर्नुभएको छ ।

काठमाडौं १
यहाँ विवेकशील साझा पार्टीका तर्फबाट रवीन्द्र मिश्र, कांग्रेसबाट प्रकाशमान सिंह र वाम गठबन्धनबाट माओवादीका अनिल शर्मा उम्मेदवार हुनुहुन्छ । यो क्षेत्रलाई कांग्रेसको प्रभाव भएको ठाउँको रुपमा लिइन्छ ।

काठमाडौं २
यस क्षेत्रमा वाम गठबन्धनबाट एमाले वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, कांग्रेसबाट दीपक कुईंकेल र विवेकशील साझा पार्टीबाट डा. सूर्यराज आचार्य उम्मेदवार हुनुहुन्छ ।

काठमाडौं ४
यस क्षेत्रबाट कांग्रेसका चर्चित युवा नेता गगनकुमार थापाले उम्मेदवारी दिनुभएको छ । उहाँसँग वाम गठबन्धनबाट एमालेका युवा नेता राजन भट्टराई प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

काठमाडौं ५
यहाँ वाम गठबन्धनबाट एमाले महासचिव ईश्वर पोखरेल र कांग्रेसबाट डा. प्रकाशशरण महत र विवेकशील साझा पार्टीबाट उज्जवल थापा उम्मेदवार हुनुहुन्छ ।

सप्तरी २
यहाँ संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र वाम गठबन्धनबाट माओवादीका उमेश यादव प्रतिस्पर्धामा हुनुहुन्छ ।

झापा १
कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा र वाम गठबन्धनबाट माओवादीका राम कार्कीले यो क्षेत्रबाट उम्मेदवारी दिनुभएको छ ।

गुल्मी २
यस क्षेत्रमा वाम गठबन्धनबाट एमालेका प्रदीप ज्ञवाली र कांग्रेसका चन्द्र भण्डारीबिच प्रतिस्पर्धा हुँदैछ ।

You May Also Like