धनी पुरुषलाई सुन्दरताको जालमा फसाएर यसरी फाइदा लिन्थिन् यी टेलिभिजन प्रस्तोताले

कोलम्बिया । सुन्दरताको फाइदा उठाएर युवतीले कसरी पुरुषलाई आफ्नो जालमा फसाउँछन् र नाजायज फाइदा लिन्छन् भन्ने पछिल्लो उदाहरण बनेकी छन् कोलम्बियाकी पूर्व टेलिभिजनकर्मी पाउलिना करिना डियाज ।

२७ वर्षीया डियाजलाई हालै प्रहरीले गिरफ्तार गरेको छ । ला बुर्जाका नामले समेत चिनिने उनी अपहरण र फिरौती असुलीको आरोपमा पक्राउ परेकी हुन् । उनका साथ एक पुरुष पनि पक्राउ परेका छन्, जो उनकै प्रेमी रहेको बताइन्छ ।

टेलिभिजन प्रस्तोताका रुपमा आफ्नो छवि बनाएकी उनले सुन्दरतालाई धनी पुरुष फसाउने अस्त्र बनाएकी थिइन् । सार्वजनिक व्यक्तित्व भएका कारण धेरै प्रतिष्ठित पुरुषले उनलाई चाँडै विश्वास गर्दथे । त्यसैले उनले त्यस्ता पुरुषलाई भेट्न बोलाउने, सँगै घुम्न जाने र होटलमा लैजाने गर्दथिन् । होटलमा पुगेपछि आफ्नो प्रेमीको मद्दतमा उनले ती पुरुषलाई अपहरण गर्ने र फिरौती माग्ने गरेको रहस्य सार्वजनिक भएको हो ।

कोलम्बियन अधिकारीहरुका अनुसार एक प्रतिष्ठित व्यावसायी ह्युगो लोपेज मोनकायो र कानुन व्यवसायी मिल्टन कारो भिल्लामिललाई उनले ६ वर्षअघि अपहरण गरेकी थिइन् ।
सन् २०११ मा उनीहरुलाई डियाजले घुम्न बोलाएर डिस्कोमा लगेको र आफ्नो जालमा पारेर एउटा होटलको कोठामा लगेपछि अपहरण गरेको प्रहरी अधिकारीहरुको भनाइ छ ।

फिरौतीबापत उनीहरुसँग आठ लाख पाउण्ड रकम माग गरिएको बताइन्छ । अपहृत दुबैको अवस्था हालसम्म प्रष्ट हुन सकेको छैन । तर प्रहरीले डियाज र उनका प्रेमीलाई गिरफ्तार गरेको छ ।

डियाज ‘च्यानल २’ टेलिभिजनमा काम गर्दथिन् । सो टेलिभिजन च्यानलका मालिकका अनुसार उनले त्यतिबेला काम गरेबापत तलव लिन्नथिन् । आफू चर्चित हुन चाहेको भन्दै उनले पारिश्रमिक विना पनि कामका लागि स्वीकृति जनाएको ती मालिकले जनाएका छन् ।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (एजेन्सी)

You May Also Like