भोट दिन खोज्दा परलोक भएका हजुरबा, हजुरआमाहरुको नाममा

मिलन तिमिल्सिना-

झापा दमक ९ का ८२ वर्षीय हजुरबा नरेन्द्रबहादुर भण्डारी हिजोसम्म पनि आफै साइकल चलाएर ओहोरदोहोर गर्नुहुन्थ्यो । चुनावको दिन कहिले आउला भनेर औंला भाँच्दै बसेका भण्डारी बुधबार बिहानै मतदान केन्द्र पुग्नुभयो । घरबाट सरस्वति माविको मतदान केन्द्र पुग्न झण्डै १५ मिनेट लाग्थ्यो ।

साढे ६ बजे नै परिवारका सदस्यसँग मतदान केन्द्र पुगेका भण्डारीलाई एकछिन पर्खनुपर्यो । पानी परेका कारण मतदान सुरु हुन ढिलो भयो । उहाँ लाइनको अघिल्तिर नै हुनुहुन्थ्यो । मतदान सुरु भएपछि उहाँकै पहिले पालो आयो । आफै हिँडेर पुगेका उहाँलाई केही होला भन्ने कसैले सोचेकै थिएनन् । मतपत्र हातमा लिएपछि उहाँ थर्थर काँप्न थाल्नुभयो । लौन के भयो भनेर एम्बुलेन्स बोलाउने बित्तिकै उहाँ चल्न चटपटाउन छाड्नुभयो । देख्नेका आँखा रसाए । भोट दिन पुगेका सबै स्तब्ध भए ।


उहाँ मात्रै होइन, बुधबार भोट दिन गएका अरु दुई वृद्धवृद्धाको पनि पाल्पामा निधन भयो । पाल्पाको राम आधारभूत विद्यालय बगनाशकाली केन्द्रमा मतदानका लागि जाने क्रममा ६२ वर्षकी कृष्णकुमारी कुमालको निधन भएको हो । मतदान पुग्नुअघि नै बेहोस भइ ढलेका कुमालको बाटोमै निधन भएको आफन्तले जानकारी दिएका छन् । पाल्पामै मतदानको लागि लाईनमा उभिएका ८४ वर्षका पूर्णचन्द्र भट्टराईको पनि निधन भयो । अरनिको आधारभूत विद्यालय यम्घाको मतदान केन्द्रमा भोट दिन लाईनमा उभिनुभएका भट्टराईको भोट दिन नपाउँदै निधन भएको हो ।

मतदान गर्न जाँदा भोट खसाल्न नपाउँदै निधन ! बुढा बाआमालाई पिठ्युँमा बोकेर र डोहोर्याउँदै गएका छोरा नातीलाई कस्तो भयो होला ! अनि मतदान गर्ने लाइनमा उभिएका बृद्धले सास फेर्न छोड्दा देख्नेहरुलाई कस्तो भयो होला !

यी हजुरबा हजुरआमा त्यसै भोट दिन गएका होइनन् । आफ्नो भोटबाट सन्ततिले सुख पाउँछन् भन्ने उनीहरुको ठूलो आशा थियो । आफ्नो पालामा सबैथोक पर थिए । नून किन्न त भोट पुग्नुपथ्र्यो, अरुको के कुरा गर्नु । नागरिकता बनाउन कहिलेकाहीँ गाउँमा घुम्ती टोली आउँथ्यो, नत्र अरु सबै काम गर्न जिल्ला सदरमुकाम पुग्नुपर्थ्यो । घण्टौं हिँडेर सदरमुकाम पुग्दा पनि काम हुँदैनथियो । अहिले पनि समस्या यस्तै छ ।

सानो कामको लागि आफूहरुले भोग्दै आएका यी समस्या छोरानातीले भोग्न नपरोस् भन्ने वृद्धवृद्धाको आशा र कामना थियो । त्यसैले आफ्नो लागि होइन, आफ्नो सन्ततिको लागि उनीहरु मतदानमा सहभागी हुँदै थिए । सबै काम गाउँमै गर्न सक्ने योग्य प्रतिनिधि चयनको लागि उनीहरुमा पनि उत्साह थियो । तर बिडम्वना यो उत्साह बोकेर भोट दिन गएका बृद्धबृद्धाको निधन भयो ।

यी हजुरबा हजुरआमा कुनै न कुनै दलका मतदाता थिए । आफ्ना मतदाताको सुरक्षा गर्ने जिम्मा सरकारसँगै सम्बन्धित दलको समेत हो । घरदेखि मतदान केन्द्रसम्म सुरक्षित तरीकाले पु¥याउनुपर्ने जिम्मा नेता कार्यकर्ताको समेत हुनुपर्ने हो, तर भएन । अनि मतदान केन्द्र पुगेर मतपत्र समेत हातमा लिइसकेका झापाका हजुरबाको ज्यान जोगाउनुपर्ने दायित्व त्यहाँ खटिएका सरकारी प्रतिनिधि र सुरक्षाकर्मीको हो । तर भोट दिन बेलैमा पुगेका हजुरबाको स्वास्थ्य अवस्था’bout उनीहरुले ख्याल गरेनन् ।

अभाव र कष्टकर जिन्दगी बिताउन बाध्य ती हजुरबा, हजुरआमाहरुले आफ्ना सन्ततिको लागि धेरै सपना बुनेका थिए । त्यही सपना पूरा गर्न भोट दिन गए । भोट दिन नपाउँदै संसार छाडेर बिदा भए । आफ्नो भन्दा सन्ततिको लागि मरिमेट्ने हजुरबा हजुरआमाहरुको आत्माले शान्ति पाओस् ।

You May Also Like