डा‍. टेड्रोसले सम्हाले ‘डब्लुएचओ’को नेतृत्व, यस्ता छन् ५ प्राथमिकता

रारा सञ्चार
जेनेभा, १९ असार । डा. टेड्रोस एडहानोम गेब्रेयासुसले विश्व स्वास्थय संगठन (डब्लुएचओ) को महानिर्देशकको जिम्मेवारी सम्हालेका छन्। उनले यसअघि अफ्रिकी राष्ट्र इथिओपियाको स्वास्थ्य मन्त्री र विदेश मन्त्रीका रुपमा काम गरिसकेका छन् भने ‘ग्लोबल फन्ड एन्ड रोल ब्याक मलेरिया पार्टनरसिप’को बोर्ड सदस्यको जिम्मेवारी पनि सम्हालिसकेका छन्।

जुलाई १ मा पद सम्हालेका उनको कार्यकाल पाँच वर्षको हुनेछ। जेनेभामा गत मे महिनाको अन्तिम साता भएको विश्व स्वास्थ्य संगठनको ७०औँ साधारण सभाले उनलाई महानिर्देशकमा निर्वाचित गरेको थियो।

डा. टेड्रोसले पाँच बर्से कार्यकालमा मुख्य पाँच क्षेत्रमा आफू केन्द्रित हुने बताएका छन्।

१. सबैका लागि स्वास्थ्य
गरिबीमा नपारी सबैका लागि विश्वव्यापी स्वास्थ्य सेवा उपलब्धता सुनिश्चित गर्नु नै स्वास्थ्यसम्बन्धी दीगो विकास लक्ष्यका उद्देश्य प्राप्त गर्ने आधार हो। ’cause जब मानिस स्वस्थ हुन्छन्, यसबाट उनीहरूका परिवार, समुदाय र राष्ट्रलाई प्रत्यक्ष फाइदा हुन्छ। हाम्रो पहिलो प्राथमिकता सरकारका स्वास्थ्य प्रयासलाई अझ सुदृढ पार्न, समुचित स्वास्थ्य पद्दति स्थापना गर्न र सबैका लागि समान स्वास्थ्य सेवा सर्वसुलभ सुनिश्चित गर्ने नीति कार्यान्वयन गर्न सघाउनु हो।

२. आपातकालीन स्वास्थ्य
विश्वमा आपातकालीन सार्वजनिक स्वास्थ्यका कारण जोसुकै मानिस जहाँसुकै पनि प्रभावित हुनसक्छ। अफ्रिकाको पश्चिमी भूभागले स्वास्थ्य सम्बन्धी विपत्तिसँग जुध्न तयारी नहुँदा सामना गर्नुपर्ने जोखिम/खतरा राम्ररी प्रस्ट्याइसकेको छ। लचकदार र सुदृढ विश्वव्यापी तथा स्थानीय स्वास्थ्य उपचार प्रणालीको विकास गर्न सके मात्र आपातकालीन स्थितिको रोकथाम, अनुगमन, पहिचान र तत्काल प्रतिकार गर्न सकिन्छ। त्यसैले विश्वव्यापी स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने लक्ष्य प्राप्तिमा हाम्रा प्रयासहरूको पहिलो प्राथमिकता यिनै हुनुपर्छ।

३. महिला, बालबालिका र किशोरकिशोरीहरू 
महिला, बालबालिका र किशोरकिशोरीको स्वास्थ्य, सम्मान र अधिकार सुरक्षित नगरेसम्म हामी स्वास्थ्य र विकासका महत्वाकांक्षी दीगो विकास लक्ष्यहरू प्राप्त गर्न सक्दैनौँ। तर, अहिलेसम्म पनि विश्वका कतिपय स्थानमा जारी लैंगिक विभेद, हानिकारक सांस्कृतिक र सामाजिक अभ्यास तथा लैंगिक हिंसाले महिला, बालबालिका र किशोरकिशोरीमाथि नकारात्मक असर पारिरहेको छ। यसैकारण हामीले महिला, बालबालिका र किशोरकिशोरीहरूको हितलाई विश्वव्यापी स्वास्थ्य र विकासको केन्द्रमा राख्नैपर्छ।

४. जलवायु र वातावरणीय परिवर्तन
जलवायु र वातावरणीय परिवर्तन जीवनका धेरै पक्षसँग जोडिएका हुन्छन्। स्वास्थ्यदेखि खाद्यसुरक्षा, आर्थिक जीवनयापन, वायु सुरक्षा र पानी तथा सरसफाइ पद्दतिजस्ता कुरामा जलवायु प्रदूषणले प्रभाव पारिरहेको छ। र, डब्लुएचओको अनुमान अनुसार विश्वभर बर्सेनि १२ करोड ६० लाख मानिसको मृत्यु अस्वस्थ्यकर वातावरणमा काम गरेका वा जीवनयापन गरेका कारण हुने गर्छ। यस्तो स्थितिको अन्त्य गर्न डब्लुएचओले जलवायु तथा वातावरणीय परिवर्तन नियन्त्रण गरी अनुकूलताका लागि आवश्यक नीति तर्जुमा गरी संयुक्त राष्ट्र संघीय संगठनहरू र सरोकारवालाहरूसँग निकट साझेदारी गर्नुपर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेछ।

५. डब्लुएचओको रुपान्तरण
डब्लुएचओलाई अझ प्रभावकारी, पारदर्शी र उत्तरदायी संस्थामा रुपान्तरण गर्न साहसिला सुधार र संगठनको स्थायित्व दुवैबीच सन्तुलन कायम राख्नु आवश्यक छ। २१औं शताब्दीका आवश्यकता र चुनौती सामना गर्दै परिस्थिति नै परिवर्तन गर्ने र दीगो परिणाम प्राप्त गर्न डब्लुएचओले आफ्नो कामलाई महत्वपूर्ण सरोकारवालाहरूसँग अझ बृहत् र सघन पार्नु छ। साथै लगानी भित्र्याउनु र उपयुक्त प्रतिभा पहिचान गर्नु तथा संस्थामा राख्नु जरुरी छ।

You May Also Like