एमडी/एमएसमा मेरिट अनुसार भर्ना लिन डाक्टरका ९ संघ–संस्थाको माग

रारा सञ्चार
काठमाडौँ, १९ असार । चिकित्सकहरूका विभिन्न ९ संघ–संस्थाले त्रिभुवन विश्वविद्यालयको एमडी/एमएस (चिकित्सा शास्त्रमा स्नातकोत्तर) तहमा मेरिट लिस्टका आधारमा विद्यार्थी भर्ना गर्न माग गरेका छन्। ती संघ–संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतको आदेश बमोजिम मेरिट लिस्टका आधारमा भर्ना गर्न माग गरेका हुन्।

सर्वोच्चको आदेशपछि पनि मेरिट लिस्टका विद्यार्थी भर्ना हुन नपाउनु त्रिविको कमजोरी भएको उनीहरूको ठहर छ।

‘डिन कार्यालयको पटक–पटकको सूचना तथा निर्देशन लत्याएर निजी मेडिकल कलेजले गैरकानुनी भर्ना लिनु र सर्वोच्चको आदेश पालनामा अटेर गर्नु भ्रष्ट मानसिकताको पराकाष्ठा हो। तसर्थ निजी कलेजहरू कडाभन्दा कडा कारबाहीको भागिदार हुनुपर्छ भन्नेमा चेतनशील न्यायप्रेमी समाजको दुईमत नहोला,’ विज्ञप्तिमा भनिएको छ, ‘सम्पूर्ण सरोकारवाला निकाय आइओएम डिन कार्यालय, त्रिवि उपकुलपति कार्यालय, नेपाल मेडिकल काउन्सिल र शिक्षा मन्त्रालयसँग सर्वोच्चको आदेश तुरुन्त लागू गराई विद्यार्थीका लागि तत्काल पठनपाठनको वातावरण सिर्जना गर्न समस्त चिकित्सकहरू जोडदार अपिल गर्दछन्।’

उनीहरूले मेरिट लिस्टमा परेका डाक्टरले भर्ना नपाएको विरुद्ध आफ्नो आन्दोलन जारी रहेको जनाउँदै सरोकारवाला निकायहरूलाई सचेत गराएका छन्।

डक्टर्स सोसाइटी अफ नेपाल, नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसन, रेजिडेन्ट एसोसिएसन अफ न्याम्स, जुनियर रेजिडेन्ट्स वेलफेयर सोसाइटी, नेपाल मेडिकल स्टुडेन्ट सोसाइटी, नेसनल डक्टर्स एसोसिएसन नेपाल, डक्टर्स फर चेन्ज, सेभ मेडिकल फ्र्याटर्निटी मुभमेन्ट र सोलिडारिटी फर डा. केसी अलाइन्सले संयुक्त विज्ञप्ति जारी गरी मेरिट लिस्टका आधारमा तत्काल विद्यार्थी भर्ना गर्न माग गरेका हुन्।

You May Also Like