संघीय लोकतान्त्रिक गणतन्त्रको फूलबारीभित्र काठमाडौं र धरानमा दुइटा फूलहरू फक्रिए : अध्यक्ष प्रचण्ड

काठमाडौं, १४ जेठ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्रको फूलबारीभित्र काठमाडौं र धरानमा फेरि दुइटा फूलहरू फक्रिएको बताएका छन् ।

शनिबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा बोल्दै प्रचण्डले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको फूलबारीभित्र काठमाडौं र धरानमा फेरि दुइटा फूलहरू फक्रिएको जस्तो ठान्छु म । यही संविधानकै फूलबारीभित्र उहाँहरू आउनु भएको हो ।’

काठमाडौं र धरानका मेयर साँचो अर्थमा स्वतन्त्र भएको पनि उनको भनाइ थियो । काठमाडौंका मेयर वालेन्द्र साह र धरानका मेयर हर्कराज साम्पाङ राई जनताका बीचमा जाँदा विशिष्ट विचार र संकल्पसहित गएको पनि उनले बताए । ‘जुन विचार, प्रवृत्ति र संकल्पसहित दुई जना युवाहरू जनताको बीचमा प्रस्तुत हुनुभयो त्यो विशिष्ट छ र त्यसलाई विशिष्ट मान्नुपर्छ । उहाँहरूका पछाडि कुनै पार्टी र पार्टीका मान्छे पछि लागेको देखिएन । अब तपाईंहरू जनताका भावना र जनताका आकांक्षाहरूलाई पूरा गर्नतर्फ लाग्नुहोला,’ उनले भने ।

You May Also Like