काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेनको जित निश्चित


काठमाडौं, ११ जेठ ।

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह(बालेन) को जित निश्चित भएको छ ।

पछिल्लो मतपरिणामअनुसार बालेनले ५५ हजार ७ सय ७७ मत प्राप्त गरेका छन् । त्यस्तै सिर्जना सिंह ३५ हजार ३ सय ७१ मतसहित दोस्रो स्थानमा रहँदा स्थापित ३४ हजार ६ सय २६ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

बालेनले स्थापितभन्दा २१ हजार १ सय २१ बढी मत प्राप्त गरेका छन् । त्यस्तै सिर्जना सिंहभन्दा उनले २० हजार ३ सय ७६ मत बढी ल्याएका छन् । काठमाडौंका ३२ मध्ये २७ वडाको मतगणना सकिएको छ । अहिले वडा नम्बर १३, १४, १५, १६ र १७ को मत गणना भइरहेको छ । अब करिब १० प्रतिशत अर्थात १९ हजार ३ सयजति मत मात्र गन्न बाँकी रहेको त्यस्भन्दा बालेको मतान्तर बढी भएकोले विजय निश्चित भएको हो ।

त्यस्तै उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलको जित सुनिश्चित भएको छ । उनले प्रतिस्पर्धी उम्मेदवार गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले भन्दा झन्डै तेब्बर मत ल्याएकी छिन् । डंगोलले ५३ हजार ६ सय ४२ मत ल्याउँदा श्रेष्ठले १७ हजार ७ सय ६५ मत ल्याएका छन् ।

You May Also Like