मुगुमा मिल्न सकेन गठबन्धन, माओवादी केन्द्र र एसको तालमेलमा अटेन काँग्रेस

मुगु, ११ वैशाख ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले तालमेल गरेर जाने निर्णय गरेता पनि मुगुमा तालमेल नहुने भएको छ । जिल्लामा सत्ता गठबन्धनले लामो समयसम्म बैठक बस्दै आए पनि आइतबार बसेको बैठकले तालमेल मिलाउन नसक्दा एक्ला एक्लै निर्वाचनमा जाने भएका हुन् ।

मुगु जिल्लामा रहेका प्रमुख दल नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) भित्र भागबन्डा नमिल्दा गठबन्धन नहुने भएको नेकपा (माओवादी केन्द्र) छायाँनाथ रारा नगरपालिकाका सचिव रत्न वडुवालले जानकारी दिए । उनका अनुसार नेपाली काँग्रेसले हरेक पालिकामा बहुमत मागेकोले गर्दा कुरा मिल्न सकेन । यसमा माओवादी केन्द्र र एकीकृत समाजवादीले एकता गरेर निर्वाचनमा जाने भएका छन्, भने नेपाली काँग्रेस एक्लै चुनावमा जाने भएको हो ।

वडुवालका अनुसार छायाँनाथ रारा नगरपालिकामा मओवादी केन्द्रबाट नगर प्रमुख र समाजवादीबाट उप प्रमुख हुने गरी निर्णय गरिएको छ । माओवादी केन्द्रबाट नगर प्रमुखमा देविकृष्ण रोकायाले उम्मेदवारी दिने भएका छन्, भने समाजवादीबाट उप प्रमुखमा नाम टुंगीनसकेको उनले बताए । त्यस्तै नगरपालिकामा भएका वडामा ७ वटा वडा माओवादी केन्द्रलाई र ७ वटा वडा एकीकृत समाजवादीलाई दिने सहमतिमा तालमेल भएको वडुवालले जानकारी दिए ।

नेकमा (माओवादी केन्द्र) कर्णाली प्रदेश कमिटीका सदस्य सुरबहादुर बुढाका अनुसार मुगुमा नेपाली काँग्रेसले दुई पालिकाका प्रमुख सहित चार उप प्रमुखको दाबी गरेको छ, भने नेकपा (माओवादी केन्द्र)ले एउटा प्रमुखसहित दुईवटा उप प्रमुखको दाबी गरेको छ । त्यस्तै नेकपा (एकीकृत समाजवादी)ले एउटा प्रमुखसहित दुई उप प्रमुखको दाबी गरेका थिए त्यसमा पनि नेपाली काँग्रेसले बढी सिट मागेको कारण तालमेल हुन नसकेको उनले बताए ।

You May Also Like