यात्रुको पी.सी.आर. नगरी उडान भरे कोरोना गाउँ गाउँमा पुग्छ

सोमबार ताप्लेजुङ जान १३ जना यात्रुले सीता एयरको टिकट बुक गरे। सीता एयरले उडान जोखिमपूर्ण हुने भन्दै यात्रुलाई पीसीआर परीक्षण गर्न आग्रह गर्‍यो। पीसीआर परीक्षण गरेबापत सीता एयरले यात्रुलाई केही रकम छुट पनि दियो। टिकट काटेका १३ यात्रुमध्ये तीन जनाले पीसीआर गर्न मानेनन्। १० जना यात्रुको आइतबार वी एण्ड वी अस्पतालमा गरिएको परीक्षणमा सोमबार चार जनाको रिपोर्ट पोजेटिभ आयो। सीता एयरले नेगेटिभ रिपोर्ट आएका ६ जना यात्रुमात्रै बोकेर सोमबार ताप्लेजुङका लागि उडान भर्‍यो।

आन्तरिक उडान कति जोखिमपूर्ण छ भन्ने यो एउटा उदाहरण मात्रै हो। सरकारले आन्तरिक उडानमा पीसीआर अनिवार्य नगरेपछि करिब ६ महिनापछि सुरुको भएको आन्तरिक हवाई उडान कोरोना संक्रमण थप फैलाउने माध्यम बन्न सक्ने खतरा बढेको छ। निजी वायुसेवा सञ्चालकले ५० प्रतिशत यात्रु राखेर उडान भर्न नमानेपछि सरकारले पुरै सिटमा यात्रु राखेर स्वास्थ्य मापदण्ड अपनाएर उडान भर्न अनुमति दिएको छ। विश्वभर कोरोना संक्रमण हवाई यातायातकै माध्यमबाट फैलिएको हो।

काठमाडौं लगायतका स्थानमा संक्रमण तीव्ररुपमा फैलिरहेका बेदा पीसीआर परीक्षणविनै हवाई सेवा सञ्चालन गर्दा संक्रमण थप फैलिन सक्ने विज्ञहरु बताउँछन्। आवागमन बढेपछि जोखिम पनि बढ्छ। त्यो स्पष्ट छ तर कति हुन्छ भनेर ठ्याक्कै भन्न नसकिएपनि हवाई उडानका कारण मानिसहरुको आवतजावत बढ्ने र यसले स्वतः जोखिन निम्त्याउने कुरामा दुई मत छैन संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले भने। पीसीआर परीक्षण नगरी यात्राको अनुमति दिँदा कोरोनाको जोखिम थप बढ्ने संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनको भनाइ छ।

हवाई उडान पुनः सञ्चालनमा आएको छ। यसले गर्दा कोरोना संक्रमितको संख्या निकै कम भएका ठाउँमा जनघनत्व बढी भएको ठाउँबाट मानिस जाँदा यसले ठूलो समस्या नआउला भन्न सकिन्न उनले भने हवाई उडान अथवा यातायातबाट यात्रा गर्ने सबै यात्रुका लागि सरकारले उनीहरुको गन्तव्यमा विशेष ध्यान दिनुपर्ने देखिन्छ। सरकारले उनीहरुका लागि क्वारेन्टाइनको व्यवस्था गर्ने गन्तव्यमा पुग्नुअघि नै सबै सावधानी अपनाउने लगायतका काम गर्नुपर्छ तर त्यस्तो गरिएको छैन। सरुवा रोग विशेषज्ञ डा. ल्हामो याङ्चेन शेर्पा पीसीआर परीक्षणविना हवाई सेवा सञ्चालन हुँदा संक्रमण कम भएका ठाउँमा पुनः जोखिम थपिने बताउँछिन्। एकबाट अर्को जिल्लामा मानिसको आवतजावत बढेको छ। यसले कोरोना संक्रमण न्यून भएका ठाउँमा फेरि संक्रमण बढ्ने सम्भावना धेरै रहन्छ उनले भनिन्, मैले नै लक्षण नदेखिएका कारण यात्रा गरेँ। तर म कोरोना संक्रमित रहेछु भने धेरैलाई सार्न सक्ने सम्भावना रहन्छ। भाइरस आफैँ एक ठाउँबाट अर्को ठाउँमा नसर्ने र मान्छेले नै ओसारपसार गर्ने भएकाले सावधानी अपनाएर यात्रा गर्नुपर्ने डा. पुनको भनाइ छ। ‘पीसीआर परीक्षण नगरी यात्रा गर्ने, सामाजिक दूरी कायम नगर्दा कुनै व्यक्ति गन्तव्यमा पुगेपछि त्यो ठाउँमा भाइरसको प्रभाव पर्ने सम्भावना अत्यधिक रहन्छ उनले भने मानिस एक ठाउँबाट अर्को ठाउँमा आउने जाने क्रम बढेसँगै देशभर नै यसको प्रभाव पर्न सक्छ। केही दिनमै मानिस दशैं मनाउन घर फर्किने क्रम सुरु हुन्छ। यो बेला काठमाडौंमा संक्रमितको विन्दु उत्कर्षमा पुग्न सक्ने र त्यसका लागि काठमाडौंबाट मानिसहरु गृह जिल्लामा जाँदा स्थानीय सरकारले विशेष ध्यान दिएर उनीहरुको व्यवस्थापन गर्नु पर्र्ने डा. पुनको भनाइ छ।

देशलाई सधैँ लक गरेर राख्ने अवस्था नभएकाले सबै क्षेत्र विस्तारै खुला गर्नुपर्ने तर त्यसका लागि आवश्यक सावधानी अपनाउनुपर्ने विज्ञहरुको सुझाव छ। अहिलेको अवस्थामा पुरै बन्द गर्न सम्भव छैन डा. सुवेदीले भने विशेषगरी प्लेन चढ्ने मानिसका लागि सरकारले पीसीआर परीक्षण गराएर मात्र नेगेटिभ भएमा यात्रा गर्न अनुमति दिनु उपयुक्त हुन्छ। दशैंमा थप जोखिम बढ्न सक्ने डा. शेर्पा बताउँछिन्। दशैं नजिकिँदै छ। मानिसहरु लामो यात्रा गरेर घर जान्छन्। हामी वृद्धवृद्धाको हातबाट दशैंको टिका थाप्छौँ उनले भनिन्  उहाँहरु यसै पनि जोखिममा पर्नुहुन्छ। यस’boutमा सोच्न आवश्यक छ। मुलुकभर कोरोना संक्रमितको संख्या बढिरहँदा ज्वरोमात्रै नापेर आन्तरिक उडानको अनुमित दिइँदा जोखिम बढ्ने खतरा छ। कोरोनालाई सरकार, सर्वसाधारण कसैले पनि हेलचक्राइँ गर्न नहुने र आफैँ सजग हुनुपर्ने विज्ञको सुझाव छ। काठमाण्डौं प्रेसबाट साभार 

 

You May Also Like