सिन्धुपाल्चोकमा पहिरोको बितण्डा, १ जनाको ज्यान गयो, २३ जना बेपत्ता : देशका विभिन्न ठाउँमा भारी वर्षाको सम्भावना

                                                                                        सांकेतिक तस्वीर

पहिरोको बितण्डाले ग्रसित सिन्धुपाल्चोकमा फेरि पहिरो गएको छ । गएराति मात्र सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नं ७ मा पहिरो खस्दा एक जनाको ज्यान गएको छ भने २३ जना बेपत्ता भएका छन । बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाका अनुसार दुई जनाको उद्धार गरिएको छ । पहिरोले वडा नं ७ मा पर्ने घुन्थाङको भीरखर्कमा ३ वटा र नागपुजेमा ९ वटा घर पुरेको छ ।  मेयर शेर्पाले भीरखर्कमा ६ जना र नागपुजेमा १७ जना बेपत्ता भएको बताएका छन् । प्रहरीको टोली घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

            उता सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ का पहिरो प्रभावितलाई भेट्न सभामुख अग्निप्रसाद सापकोटा घट्नास्थलतर्फ गएका छन । । सापकोटा स्थलमार्ग हुदै आज आइतबार बिहानै सिन्धुपाल्चोकको बाह्रबिसे गएका हुन ।

                         यसैबीच आज प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही ठाउँहरुमा मेघ गर्जन र चट्याङ सहित पानी परीरहेको छ । मनसुनी वायुको प्रभावका कारण पानी परिरहेको मौसम पूर्वानुमान महाशाखा जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो पनि प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।

               राति भने देशभर आंशिकदेखि सामान्य बदली भएर केही ठाउँमा भारी र केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी वायुको प्रभाव रहिरहने हुनाले भोलि र पर्सि पनि पानी पर्ने सम्भावना महाशाखाको भनाई छ । आज प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एकरदुई ठाउँमा भारी वर्षाको सम्भावना भएकाले ती ठाउँका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

You May Also Like