यातायात नचल्दा समस्यामा परेकाहरुलाई गन्तव्यमा फर्काइयो

लामो बन्दाबन्दीका कारण सार्वजनिक यातायात नचल्दा काम विशेषले विभिन्न ठाउँ जानु पर्नेहरुलाई निकै शास्ती भइरहेको छ । यसैबीच काठमाडौँबाट मुगु जान समस्या भएका मुगुका १५ जना स्थानियलाई सोमबार गाउँ फर्काइएको छ । यातायात नचल्दा लामो समय देखि काठमाडौँमा रोकिएका उनीहरुलाई सिता एयरलाइन्सको हवाइ उडान मार्फत उद्धार गरिएको हो । वर्षादका कारण कर्णाली राजमार्ग अवरुद्ध भएकाले सडक मार्ग भएर मुगु सम्म जान असम्भव भए पछि उनीहरुलाई हवाईजहाज मार्फत गन्तव्यमा पठाइएको रारा एडभेन्चर प्रा.लि.का प्रमुख देवीकृष्ण रोकायाले बताए ।

 गाडी नचले पनि हवाई उडानबाट घर फर्किन पाउँदा आफूहरुलाई ठूलो राहात मिलेको उद्धार गरिएकाहरुको भनाई छ । कोरोना भाइरसको संक्रमण फैलिएसंगै शुरु भएको बन्दाबन्दीले घर फर्किन नपाएर काठमाडौँमा अलपत्र परेकाहरुलाई रारा एडभेन्चर प्रा.लि. र सिता एयरलाइन्सको सहकार्यमा गएको चैतदेखि नै हवाइजहाज चार्टड गरेर गन्तव्यमा फर्काउने काम हुदै आएको छ । सर्वसाधारणको सहजताका लागि आफूहरु सेवा गर्न तयार रहेको रोकायाको भनाई छ ।

You May Also Like