कालिकोट पहिरोले ४ घर पुरिए

कालिकोटको तिलागुफा नगरपालिकामा पहिरो खस्दा चार वटा घर पुरिएका छन । जुम्ला र कालीकोटको सिमानामा पर्ने तिलागुफा नगरपालिका वडा नं १ को नाग्म बजारमा पहिरो खस्दा चार ओटा घर पुरिएका हुन् । पहिरोमा परी घर भित्र रहेका कम्तीमा दश जना मानिस पुरिएको हुन सक्ने आशंका गरिएको छ ।

त्यस क्षेत्रमा संचारको कुनै पनि सेवा र सुविधा नभएकाले जिल्ला प्रशासन कार्यालय कालीकोट र नजिकै पर्ने जुम्लामा खबर नहुँदा घर भित्र पुरिएका मानिसको उद्धार गर्न ढिलाइ भएको स्थानीयले बताएका छन । कर्णाली राजमार्गकै किनारका घरहरुमा पहिरो खसेकाले अहिले राजमार्ग पनि पूर्ण रुपमा बन्द भएको बताइएको छ।

भत्केको घर भित्रबाट मानिसको आवाज आएको सुनिएकाले सरकारी निकायबाट तत्काल उद्धार टोली पुग्न सके केही व्यक्तिलाई जीवितै उद्धार गर्न सकिने सम्भावना रहेको स्थानीयले बताएका छन् ।

You May Also Like