यो हप्ता मात्रै विदेशमा ३ नेपालीले ज्यान गुमाए

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट यो हप्ता मात्रै विदेशमा थप ३ जना नेपालीको ज्यान गएको छ । गैर आवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले यो साता बेलायतमा १ जना र युएईमा २ जनाको मृत्यु भएको जनाएको छ । यो सँगै कोरोनाबाट विदेशमा मृत्यु हुने नेपालीहरुको संख्या १९५ पुगेको गैर आवासिय नेपाली संघ (एनआरएनए)ले जनाएको छ ।

दक्षिण अफ्रिका, पोर्चुगल, स्पेन, कतार, साउदी अरब लगायतका देशमा कोरोना संक्रमण सामान्य वृद्धि भएको एनआरएनएका स्वास्थ्य समिति संयोजक डा. संजीव सापकोटाले बताए । अष्ट्रेलिया र युरोपका केही देशमा संक्रमणको दोस्रो लहर सुरु भएपछि नेपाली समुदायमा संक्रमण सामान्य रुपमा बढेको छ । हालसम्म विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

अहिले सम्म नेपाल बाहेक विदेशमा मात्र ३४ हजार ७ सय १ जना नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ । ३२ हजार ५ सय ११ जना कोरोना संक्रमणबाट मुक्त भएका स्वास्थ्य समितिले जनाएको छ ।

You May Also Like