कर्णालीको पर्यटन गुरुयोजना तयार

कर्णालीको पर्यटन विकासका लागि कर्णाली प्रदेश सरकारले १० वर्षे गुरुयोजना बनाएको छ । पर्यटन विकासमार्फत प्रदेशको समग्र विकासमा टेवा पुर्‍याउन कर्णाली सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गुरुयोजना बनाएको हो । 

कर्णालीको प्राकृतिक भूबनोटमा आधारित पर्यटकीय सम्पदाको संरक्षण, संवर्द्धन र पूर्वाधार विकासका माध्यमबाट प्रदेशको आर्थिक विकासमा मद्दत पुग्ने गरी गुरुयोजनाको मस्यौदा तयार गरिएको मन्त्रालयका सचिव डा. कृष्णप्रसाद आचार्यले बताए । मन्त्रालयले पाँचवर्षे कार्यक्रम र १० वर्षे भिजनसहितको गुरुयोजनाको मस्यौदा बनाएको उनको भनाइ छ । ‘पर्यटकीय स्थलको पूर्वाधार विकास र प्रचारप्रसारका माध्यमबाट कर्णालीमा पर्यटक आकर्षिक गर्न गुरुयोजना बनाइएको छ,’ उनले भने ।

नेपाल भ्रमण वर्ष शुभारम्भको अवसरमा कर्णाली प्रदेशको पर्यटन गुरुयोजना सार्वजनिक गर्ने तयारी गरिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायाले बताए । आगामी पाँच वर्षमा निर्माण सम्पन्न गर्ने योजनासहित पर्यटकीय स्थलको वर्गीकरणका आधारमा ५० परियोजनाको छनोट गरिएको उनले बताए । पर्यटनमा निजी क्षेत्रको लगानी भित्र्याउन र पर्यटन प्रवर्द्धन गर्न यसले सहयोग पुग्ने उनको भनाइ छ । 

प्रदेशका सबै जिल्लामा पुगेर संकलन गरिएको सुझाबका आधारमा गुरुयोजनाको मस्यौदा तयार गरिएको जनाएको छ । पर्यटन परिषद् गठन गर्ने, वर्गीकरणका आधारमा भौतिक पूर्वाधार विकास गर्ने, कर्णालीको भाषा र संस्कृतिलाई पर्यटनसँग जोड्नेलगायत विषय गुरुयोजनामा राखिएको छ । 

यस्तो छ पर्यटकीय  स्थलको वर्गीकरण 
गुरुयोजनाले पर्यटकीय स्थललाई प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरको गन्तव्यका रूपमा वर्गीकरण गरेको छ । प्रदेशका १० वटै जिल्लाका स्थानीय सरकार र सरोकारवालाको सुझाब्का आधारमा प्रदेशस्तरका पर्यटकीय स्थलको सूच िबनाएको हो । प्रदेशका विभिन्न जिल्लाका महत्वपूर्ण पर्यटकीय स्थललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वको पर्यटकीय गन्तव्यका रूपमा छनोट गरिएको छ । 

हुम्लाको लिमी उपत्यका, खार्पुनाथ र सिमीकोट, मुगुको रारा र छायानाथ, जुम्लाको चन्दननाथ, गुठीचौर, पातारासी र सिँजा उपत्यका, कालिकोटको पचाल झरना, चुलीमालिका, कोटदरबार, पिली र मान्मा बजारलाई अन्तर्राष्ट्रिय महत्वको पर्यटकीय स्थलको सूचीमा छनोट गरिएको छ । 

त्यस्तै, दैलेखको राकम कर्णाली र पञ्चकोसी सर्किट, सुर्खेतको काँक्रेविहार, बुलबुले ताल र पञ्चपुरी सर्किट, सल्यानको कुपिण्डे दह र छायांनाथ तथा खैरावाङ मन्दिरलाई अन्तर्राष्ट्रिय महत्वका पर्यटकीय गन्तव्यमा राखिएको छ । यसमा रुकुम (पश्चिम)को सिस्ने हिमाल, स्यार्पुताल, मुसीकोट दरबार र डिग्रेमाई मन्दिर, जाजरकोटको भेरी मन्दिर, डोल्पाको माथिल्लो डोल्पा, से–फोक्सुन्डो ताल र त्रिपुरासुन्दरी मन्दिर राखिएका छन् ।

You May Also Like