पत्रकार कुट्ने प्रहरीविरुद्ध मुद्दा

काठमाडौं – तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) समापनका दिन समाचार संकलनका क्रममा आफ्ना खेल पत्रकारलाई कुट्ने प्रहरीलाई सजायको माग गर्दै नेपाल रिपब्लिक मिडिया प्रालिले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ।

मंसिर २४ मा साग खेल समापनको दिन नागरिक दैनिकका खेल पत्रकार सुमन चापागाई दशरथ रंगशालाअगाडि प्रहरीले दर्शक पिट्दै गरेको फोटो खिच्ने क्रममा कुटिएका थिए। मिडियाका तर्फबाट मदन अर्याल र प्रहरीबाट कुटिएका खेल पत्रकार चापागाईले दमनमा उत्रेका प्रहरीविरुद्ध मंगलबार कुटपिट मुद्दा दर्ता गरेका हुन्। कुट्ने प्रहरीलाई तीन वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवाना माग गर्दै मिडियाले मुद्दा दर्ता गरेको हो।

चापागाईलाई सोह्रखुट्टे प्रहरी वृत्तका डिएसपी सन्तोषसिंह राठौर, महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी रुगम कुँवर र बालाजु प्रहरी वृत्तका डिएसपी बालनरसिंह राणाले कुटपिट गरेका थिए। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेतृत्वका प्रहरीले शान्तिसुरक्षाका लागि खटेखटाएका बेला खेलकुद हेर्न पुगेका दर्शकमाथि दमन गरेको फोटो खिच्ने क्रममा चापागाईमाथि हातपात गरेका थिए। मुद्दामा प्रहरी महानिरीक्षक खनालसमेतलाई विपक्षी बनाइएको छ। अदालतले मुद्दालाई ०७६–सीफोर–०९३२ मा दर्ता गरी माघ १ को पेसी तारेख दिएको नेपाल रिपब्लिक मिडिया कानुन शाखाले जनाएको छ।

निर्घात कुटपिट गरी घाइते बनाइएका चापागाई ब्लुक्रस अस्पताल त्रिपुरेश्वरमा उपचाररत रहेकाले विपक्षीहरूलाई मुलुकी अपराध संहिताको परिच्छेद १४ को कुटपिटको महलको दफा १९१ विपरीत कसुर गरेको दाबी गरिएको हो।
मुद्दामा भनिएको छ, ‘मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १४ को दफा १९१ (१) मा वर्जित कसैले कसैलाई कुटपिट गर्नुहुँदैन भन्ने कसुर गरी ऐ (२) मा कसैले कसैलाई देहायको कुनै कार्य गरेमा निजले कुटपिट गरेको मानिनेछ भनी निषेध गरिएकोले ऐ (क) मा कुनै किसिमको शारीरिक पीडा पु-याएमा सो कसुर गरेको मानिने व्यवस्था गरी त्यस्तो कसुर अपराध गर्ने कसुरदारलाई ऐ दफा १९१ को उपदफा (३) मा उपदफा (१) को कसुर गर्ने व्यक्ति वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा ३० हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ भन्ने व्यवस्था भएकोले सोही व्यवस्थाबमोजिम निज विपक्षीहरूलाई हदैसम्म सजाय तथा जरिवाना गरिपाऊँ।’

चापागाईलाई भएको शारीरिक पीडाको उपचारमा लागेको खर्च एवं शारीरिक तथा मानसिक पीडालाई समेत विचार गरी उपयुक्त क्षतिपूर्तिसमेत एकमुष्ठ उपलब्ध गराउन समेत मुद्दामा माग गरिएको छ।

तेह्रौं साग समापनका दिन बिहान सुरक्षाका लागि खटिएका राठौर, कुँवर र राणाले खेलकुद प्रतियोगिता हेर्न उपस्थित दर्शकलाई अनावश्यक डरत्रास देखाएका थिए। बिनाकारण खेलप्रेमी दर्शकलाई कुटपिट थालेको देखेपछि फोटो खिच्दै गरेका पत्रकार चापागाईमाथि कुटपिट भएको मुद्दामा उल्लेख छ।

उपचारका क्रममा गरिएकोे शारीरिक परीक्षण, एक्सरे रिपोर्ट, डाक्टरको प्रेस्क्रिप्सनबाट समेत घटनामा भएको कुटपिट, ज्यादतीको अवस्था स्पष्ट हुने भएकाले प्रमाणसमेत पेस गरी अदालतबाट उपयुक्त न्याय दिलाइपाउन माग गरिएको छ।

घटनापछि प्रहरी ज्यादतीको रंगशालाभित्रै विरोध भएको थियो। त्यसपछि प्यारापिटकै ठाउँठाउँमा ‘प्रहरी दमन बन्द गर’ लेखिएका कालो रङका ब्यानर राखिएका थिए। ‘साग इज नट पुलिस परेड’ भन्दै लेखिएका ब्यानर र प्लेकार्ड प्रदर्शन गरी प्रहरीको विरोध भएको थियो। कुटपिटको विरोधमा नेपाली पत्रकार साथै श्रीलंका, बंगलादेशलगायतका पत्रकारले फाइनल खेल बहिष्कार गरेका थिए।

प्रहरी महानिरीक्षक आएर माफी माग्नुपर्ने अडानमा रहेका पत्रकारसमक्ष महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी शैलेश थापाले माफी मागेसँगै चापागाईमाथि सांघातिक कुटपिटको पुष्टि भएकाले सजायको भागीदार रहेको मुद्दामा उल्लेख छ। देशले राष्ट्रिय गौरवको रूपमा आयोजना गरेको दक्षिण एसियाको सबैभन्दा ठूलो खेल मेलाको समाचार संकलन गर्न गएका पत्रकार कुट्नुले प्रेस स्वतन्त्रता हनन भएको भन्दै विरोध भएको थियो। निर्बाध रूपमा समाचार, फोटो संकलन, सम्प्रेषण गर्न पाउने न्यूनतम लोकतान्त्रिक अधिकारको समेत हनन भएको भन्दै चौतर्फी विरोध भएको छ।

You May Also Like