धनुषा बम विस्फोट

२८ मंसिर, जनकपुरधाम । धनुषाको छिरेश्वरनाथ नगरपालिका(५ महेन्द्रनगर बजार नजिक बम विष्फोट हुँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । घटनामा प्रहरी निरीक्षकसहित चार जना घाइते भएका छन् ।

महेन्द्रनगर बजारबाट उत्तरपूर्वतर्फ पर्ने कुचाइ टोलमा राजेश साहको घर बाहिरको पोलमा राखिएको गएराति सवा १२ बजेतिर बम विष्फोट भएको हो । सो विष्फोटबाट अन्दाजी ४५ वर्षीय राजेश साह र उनको अन्दाजी २५ वर्षीय छोरा आनन्दको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए ।घटनामा राजेश साहको अन्दाजी १९ वर्षीया छोरी अञ्जली, १५ वर्षको छोरा प्रकाश, प्रहरी निरीक्षक अमिर कुमार दाहाल र प्रहरी जवान रिजनाथ कुमार महतो घाइते भएका छन् । उनीहरुलाई जनकपुर प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचार गरेर थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको छ । चारै जनाको अवस्था गम्भीर छ ।

राजेश साहको घर बाहिरको पोलमा शंकास्पद वस्तु रहेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक अमिर कुमार दाहाल नेतृत्वको टोली खटिएको थियो । त्यहाँ जम्मा भएको भिड हटाउँदै गर्दा बम विष्फोट भएको थियो । विष्फोटका कारण प्रहरी निरीक्षक दाहाल र प्रहरी जवान महतोको बायाँ कोखमा छर्रा लागेको छ ।

बम विष्फोट कसले गरायो भन्ने खुलेको छैन । शनिबार बिहानसम्म घटनाको जिम्मा पनि कसैले लिएको छैन । यद्यपि बम विष्फोटमा विप्लव समूहको संलग्नता रहेको अनुमान छ । राजेश साहले ब्याजमा पैसा लगाउने गर्दथे । मिटरब्याजी भएको आरोपमा विप्लव समूहले बम विष्फोट गराएको हुन सक्ने प्रारम्भिक अनुमान छ । अनुसन्धानका लागि विशेष तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको छ ।

घाइते प्रहरी इन्सपेक्टर मृत्यु

२८ मंसिर, जनकपुरधाम । धनुषाको छिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बजार नजिक बम विष्फोट हुँदा घाइते भएका प्रहरी निरीक्षक (इन्सपेक्टर)अमिर कुमार दाहालको पनि मृत्यु भएको छ । कोखामा छर्रा लागेर गम्भीर घाइते भएका दाहालको मृत्यु अस्पतालमा उपचारका क्रममा भएको हो ।

महेन्द्रनगर बजारबाट उत्तरपूर्वतर्फ पर्ने कुचाइ टोलमा राजेश साहको घर बाहिर पोलमा राखिएको बम गएराति विष्फोट हुँदा राजेश र उनको छोरा आनन्दको मृत्यु भएको थियो । दाहाललाई शनिबार बिहान ६ः४० मा डाक्टरहरुले मृत घोषणा गरेका हुन् ।

राजेश साहको घर बाहिरको पोलमा शंकास्पद वस्तु रहेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक अमिर कुमार दाहालसहितको टोली खटिएको थियो । त्यहाँ जम्मा भएको भिडभाड हटाउँदै गर्दा बम विष्फोट भएको थियो । बम विष्फोटमा दाहालको कोखामा छर्रा लागेको थियो ।घटनामा घाइते भएका राजेश साहकी छोरी अञ्जली, छोरा प्रकाश र प्रहरी जवान रिजनाथ कुमार महतोको उपचार जारी छ ।

You May Also Like