कर्णालीमा नेकपाका पाँच गुट, कुन नेता कतातिर ?

सुर्खेत । कर्णाली प्रदेशमा सत्तारूढ नेपाल कम्युनिस्‍ट पार्टी (नेकपा) मा पाँचवटा गुट देखिएको छ । केन्द्रीय नेतृत्वका चलिरहेको गुटगत राजनीतिका प्रभाव जिल्ला तहसम्म पनि पुगेको हो। १० जिल्ला रहेको कर्णाली प्रदेशमा तत्कालीन माओवादी केन्द्रले ६ जिल्लाको नेतृत्व पाएको छ। तत्कालीन नेकपा एमालेको भागमा ४ वटा जिल्लाको नेतृत्व परेको छ।

एकतापछि कर्णालीमा गुटैगुट

एकता टुंग्याएपछि कर्णालीमा नेकपा गुट उपगुटमा विभाजित भएको छ। कर्णालीमा अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दुई गुट, माधव नेपाल र रामबहादुर थापा बादलको पनि गुट सक्रिय छ। कर्णालीमा सबैभन्दा बलियो गुट प्रचण्ड पक्षधर देखिएको छ।

कर्णालीका १० जिल्लामध्ये प्रचण्डको समूहका ४ जिल्ला अध्यक्ष छन्। जुम्लाका वीरबहादुर कुँवर, रुकुमका गोपाल शर्मा, हुम्लाका लालकेश जैशी र मुगुका सुरवीर बुढा प्रचण्ड समूहमा छन्। पार्टी अध्यक्ष ओली समूहमा दैलेखका रवीन्द्र शाही र सल्यानका गोविन्द पुन छन्। माधव नेपाल समूहमा सुर्खेतका ध्रुव शाही र डोल्पाका दत्तबहादुर रोकाय देखिएका छन्।

बादल समूहका जाजरकोटका ढकवीर राना र कालिकोटका धनजित शाही छन् ।

सचिव पनि विभाजित

कर्णालीका जिल्ला सचिव गुटमा विभाजित छन्। प्रचण्ड समूहमा सुर्खेतका कृष्णबहादुर जिसी, सल्यानका कर्णबहादुर बुढाथोकी, डोल्पाका मालबहादुर रोकाय र दैलेखका प्रेम कटुवाल रहेका छन्। त्यसैगरी,ओली समूहमा कालीकोटका नागिन्द्र शाही, हुम्लाका दल रावल छन।

नेपाल समूहका सचिवहरूमा जाजरकोटका करवीर शाही, जुम्लाका तीर्थबहादुर बुढा, धर्मबहादुर शाही र रुकुमका विमल पुन छन्।

प्रदेशमा पनि उस्तै समस्या

पूर्वएमाले अध्यक्ष ओली गुटको नेतृत्व नेकपा कर्णाली प्रदेश सह–इन्चार्ज तथा प्रदेशसभा सदस्य यामलाल कँडेलले गरेका छन्। माधव नेपाल गुटको नेतृत्व केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले गरिरहेका छन्। त्यसैगरी, नेता रामबहादुर थापाको समूहको नेतृत्व नेकपाका कर्णालीका सचिव मायाप्रसाद शर्माले गरेको नेकपा स्रोतले जनाएको। उनी बादलसँगै वैद्य माओवादीबाट आएका हुन्। प्रचण्डकै दुई गुट कर्णालीमा अध्यक्ष प्रचण्डकै दुई गुट देखिएका छन्। स्थायी कमिटी जनार्दन शर्मा र शक्तिबहादुर बस्नेतले छुट्टै गुटको नेतृत्व गरिरहेका छन्। शर्मा कर्णाली प्रदेशका इन्चार्ज र बस्नेत वनमन्त्री छन्।

दुई नेताको केन्द्रमा एउटै गुट छ। तर, कर्णालीमा उनीहरूले फरक(फरक गुट चलाइरहेका छन्। कर्णालीबाट नेकपाका स्थायी समिति सदस्यमा उनीहरू दुवै छन्। दुवै नेता केन्द्रमा प्रचण्ड खेमाका भित्रिया नेतामा पर्छन्। कर्णालीमा स्थानीय नेताहरू केन्द्रमा एउटा र प्रदेशमा अर्को गुटमा देखिएका छन्। हुम्लाका अध्यक्ष लालकेश जैसी कर्णालीमा बादल समूहका मायाप्रसादनिकट छन्। तर, केन्द्रमा भने प्रचण्ड समूहमा रहेको दाबी स्रोतले गरेको छ।

थाहा खबर मार्फत साभार

You May Also Like