प्रदेश ६ काे मुख्यमन्त्री माअाेवादीले पाउने

काठमाडाैं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच प्रदेश मुख्यमन्त्री र सभामुख बाँडफाँटको गृहकार्य अन्तिम चरणमा पुगेको छ । पूर्वसभामुख एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङको नेतृत्वमा गठित ६ सदस्यीय कार्यदलका सदस्यहरूले लामो गृहकार्यसहित अन्तिम टुंगो लगाउन आज कार्यदल बैठक बोलाएका छन् ।

कार्यदल सदस्यहरूबीच भएको अनौपचारिक सहमतिको एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डलाई ब्रिफिङ गरी सहमतिसमेत लिइसकेका कारण आज मुख्यमन्त्री, सभामुख र मन्त्री बाँडफाँटको निर्णय लिन लागिएको कार्यदलका एक सदस्यले बताएकाे खवर जनता टाइम्समा छ । उनका अनुसार दुवै अध्यक्षको अनुमतिमा एमालेले चार र माओवादीले दुई वटा प्रदेशको मुख्यमन्त्री लिने सहमति भइसकेको छ ।

सात प्रदेशमध्ये ६ वटा प्रदेशमा स्पष्ट बहुमत रहेको वाम गठबन्धनले सोही सहमतिका आधारमा आजको बैठकबाट सबै प्रदेशमा मुख्यमन्त्री, सभामुख र मन्त्रीको टुंगो लगाउने अन्तिम गृहकार्य अघि बढाएको हो । ‘आइतबारको बैठकबाट टुंगो लगाउने गरी गृहकार्य भइरहेको छ, त्यति धेरै समस्या नभएकाले हामी निर्णयमा पुग्छौँ,’ कार्यदलका सदस्य एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले भन्नुभयो । पाण्डेका अनुसार एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालले स्पष्ट गाइडलाइन दिएकाले कार्यदलमा सहमति जुटाउन सहज बनेको छ । यसअघिको बैठकमा माओवादीले दुई वटा प्रदेशमा मुख्यमन्त्री र चार प्रदेशमा सभामुख चाहिने प्रस्ताव गरेको थियो ।

सो प्रस्तावका विषयमा ओली र दाहालले छलफल गरी कार्यदललाई आवश्यक निर्देशन दिइसकेका छन् । ओली र दाहालकै निर्देशनमा आइतबारको बैठकबाट प्रदेश नम्बर २ बाहेक ६ वटै प्रदेशमा सरकार गठनका लागि वाम गठबन्धनको उम्मेदवार टुंग्याउन लागिएको हो । प्रदेश २ मा भने वाम गठबन्धनको बहुमत छैन ।

सो प्रदेशमा राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमको गठबन्धनले बहुमत ल्याएको छ । कार्यदल सदस्य पाण्डेले अब ढिलाइ नगरी निष्कर्षमा पुग्न दुवै अध्यक्षले निर्देशन दिइसकेकाले आज बस्ने कार्यदल बैठकले प्रदेशका सबै विषयमा टुंगो लगाउने बताउनु भयो । ‘हामी सकेसम्म आज नै टुंग्याउँछौँ । अब यसमै अलमलिरहनु उचित हुँदैन, नेतृत्वको निर्देशन पनि यही छ,’ पाण्डेले भन्नुभयो।

कार्यदलमा ६ मध्ये ४ प्रदेशमा एमाले र २ मा माओवादी केन्द्रले मुख्यमन्त्री लिने सहमति जुटिसकेको छ । तर, एमालेले मुख्यमन्त्री पाएको प्रदेशमा माओवादी र माओवादीले मुख्यमन्त्री पाएको प्रदेशमा एमालेको सभामुख रहने प्रस्तावका विषयमा बैठकअघिसम्म गृहकार्य गरी निर्णय लिने एक सदस्यले बताए ।

‘एमालेको मुख्यमन्त्री भएको प्रदेशमा माओवादी केन्द्रले सभामुख तथा माओवादीको मुख्यमन्त्री भएको प्रदेशमा एमालेले सभामुख लिने गरी माओवादी केन्द्रबाट आएको प्रस्तावमा सहमति भइसकेको छैन, गृहकार्य जारी छ,’ पाण्डेले भन्नुभयो । उनका अनुसार यस विषयमा विभिन्न विकल्प’bout छलफल भइरहेको छ । कार्यदलमा अहिलेसम्म माओवादीले प्रदेश नम्बर १ र ३ मा मुख्यमन्त्रीको दाबी गरेको छैन ।

एमालेबाट प्रदेश–१ मा सचिव भीम आचार्य र पोलिटब्युरो सदस्य शेरधन राई प्रतिस्पर्धामा छन् । यसैगरी, प्रदेश ३ मा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, पोलिटब्युरो सदस्यहरू राजेन्द्र पाण्डे, पशुपति चौलागाईं, सानु श्रेष्ठसहित कैलाश ढुंगेल र केशव स्थापित दाबेदार छन् । प्रदेश ४ मा सचिव पृथ्वी सुब्बा गुरुङ र स्थायी कमिटी सदस्य किरण गुरुङबीच प्रतिस्पर्धामा हुनुहुन्छ । प्रदेश नम्बर ५ मा यसअघि नै एमालेका स्थायी समिति सदस्य शंकर पोखरेललाई मुख्यमन्त्री बनाउने सहमति एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालबीच भइसकेको छ । त्यसैले, प्रदेश ५ मा पनि माओवादीको कुनै दाबी छैन ।

सो प्रदेशमा एमालेका वैचारिक नेता पोखरेल मुख्यमन्त्री बन्ने निश्चित भइसकेको छ । माओवादीले प्रदेश ६ र ७ को मुख्यमन्त्री पाउनुपर्ने प्रस्ताव गरिसकेको छ । एमालेतर्फका सदस्यहरूले पनि सो प्रस्तावमा सहमति जनाइसकेका छन् । प्रदेश ६ का ४० सदस्यमध्ये एमाले एक्लैले २० स्थानमा जितेकाले एमाले संगठनले मुख्यमन्त्री नछोड्ने निर्णय गरेकाले केही समस्या देखिएको छ ।

यद्यपि, प्रदेश ६ का विषयमा अध्यक्षद्वय ओली र दाहालले निर्णय लिने अपेक्षा कार्यदलको छ । कार्यदलले प्रदेशसभाको बढीमा १० प्रतिशत बराबरको मात्र मन्त्रिपरिषद् बनाउने निर्णय पनि गरिसकेको छ ।

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

You May Also Like