रोल्पामा आगलागीबाट २० लाखको क्षति, बालक घाइते

रोल्पा । रोल्पाको सुवर्णावती गाउँपालिका–१ घोडागाउँमा शनिबार भएको आगलागीबाट सात घर जलेर नष्ट हुँदा लाखौँको क्षति भएको छ । आगलागीबाट नरेन्द्र पुन, नरिमा घर्ती, मनबहादुर पुन, किशोर घर्ती, अमर घर्ती र पवि घर्तीको घर तथा घरसँगै रहेको गोठ जलेर नष्ट भएको छ भने कृष्णवहादुर घर्तीको भान्सा कोठा जलेर नष्ट भएको छ । 

आगलागी भएको खबर पाएपछि इलाका प्रहरी कार्यालयबाट गएको प्रहरी टोली, स्थानीय जनता र समुदायस्तरीय विपद् व्यवस्थापन समितिका पदाधिकारीहरुको सहयोगले आगो नियन्त्रणमा लिइएको थियो । 

आगलागीबाट नरेन्द्र पुनका ५ वर्षीय छोरा आयुष पुन जलेर घाइते भएका छन । घाइते पुनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको बताइएको छ । आगलागीबाट घरभित्र रहेका अन्न, लत्ताकपडा, नगद, जिन्सीसमेत जलेर नष्ट भएको छ भने आधा दर्जन पशु चौपायासमेत जलेर नष्ट भएको बताइएको छ । आगलागीबाट करिव रु २० लाखभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको स्थानीयवासी नारायण केसीले जानकारी दिनु भयो । 

आगलागी पीडितका लागी समुदायस्तरीय विपद् व्यवस्थापन समितिले तत्कालका लागि चिनी र च्युराको व्यवस्था गर्नुका साथै बस्नका लागि आफन्तको घर व्यवस्था गरिदिएको केसीले जानकारी दिनुभयो । 

विद्यालय छुट्टीको दिन परेका कारण केटाकेटी खेल्ने क्रममा आगो लागेको हो कि भन्ने अनुमान गरिएको केसीले बताउनुभयो । रासस

You May Also Like