दुई सुटरको अपराधकथा : सेनाको जागिर छाडेर गुन्डागर्दीको दुनियाँमा

काठमाडौं– श्यामबहादुर गुरुङ ‘गुम्बे’ र अमरबहादुर रानाले १४ वर्षअघि नेपाली सेनामा सँगसँगै जागिर सुरु गरे। दुवैको पदस्थापन कालीदेवी गण (हाल नवलपरासी) मा भयो। 

उच्च महत्वाकांक्षा भएका उनीहरु सिपाहीको जागिरबाट सुरुदेखि नै सन्तुष्ट हुन सकेनन्। जिम्मेवारपूर्ण दैनिकी, कठिन शारीरिक अभ्यास र कडा अनुशासनमा टिक्न उनीहरुलाई गाह्रो भयो।

गुम्बेको चिनजान लोप्साङ लामासँग थियो। लामा पैसाका लागि जे पनि गर्ने व्यक्ति थिए। काठमाडौंमा उनी गुन्डा नाइके समिरमानसिंह बस्नेतको निकटमा बसेर काम गरिरहेका थिए। यो सबै गुम्बेलाई थाहा थियो।

गुन्डागर्दीबाटै लोप्साङको हैसियत बढ्दै गयो। त्यो देखेपछि मोहित बनेका गुम्बे अन्तत: सेनाको जागिर छाडेर भागे। 

त्यसपछि लोप्साङको समूहमा आबद्ध भएर ठेक्कापट्टामा संलग्न व्यापारी धम्काउने धन्दा सुरु गरे। यो करिब ४ वर्षअघिको घटना हो। 

सेनाको जागिरमा भन्दा गुन्डागर्दीबाटै पैसा कमाइने देखेपछि सेनामा गुम्बेसँगै प्रवेश गरेका अमरबहादुर रानाले पनि २ वर्षअघि जागिर छाडे। जागिर छाडेर भागेको उनले परिवारलाई समेत जानकारी दिएनन्। 

अमर पनि लोप्साङकै समूहमा आइपुगे, जहाँ गुम्बे ‘सानदार’ जीवन बिताइरहेका थिए। पछि अमर समिरमानसिंह बस्नेत र कुमार घैंटको समूहमा आबद्ध भए। सैनिकको कडा जागिरभन्दा गुन्डागर्दीको ‘रमाइलो’मा उनी अभ्यस्त हुन थाले।

२०७२ साउनमा प्रहरी मुठभेडमा घैंटे मारिएपछि गुम्बे र अमर भारततिर छिरे। गुन्डागर्दीबाट पैसा कमाउने लत बसिसकेको उनीहरुको मन अन्य कामतिर लागेन। त्यहाँ पनि गुन्डागर्दीलाई नै पेशा बनाए। 

भारतमा उनीहरुको भेट भयो, रुपन्देहीबाट भागेर पुगेका मनोज पुनसँग। यी दुई भगौडा सैनिकका नाइके समिरमानसिं र मनोजले ‘अन्डरवर्ल्ड’ शैलीमा धम्की र असुलीको योजना बनाए। 

धम्काउँदैमा पैसा आउने सम्भावना थिएन। त्यसकारण उनीहरु कसैको हत्या गरेर आतंकित बनाउन चाहन्थे। 

हत्याका लागि दुर्गा तिवारी उनीहरुको पहिलो निसानामा परे। मनोजको दुस्मनी पनि भएकाले उनको हत्या गर्ने र त्यसपछि व्यापारीहरुलाई धम्काएर पैसा उठाउने योजना बन्यो। 

त्यही योजना अनुसार गत वर्ष पुस ४ मा देवदहमा तिवारीको हत्या भयो। गोली हान्ने व्यक्ति लोप्साङ थिए। हत्यालगत्तै मनोजले प्रहरीलाई फोन गरेर घटनाको जिम्मेवारी लिए। जिम्मेवारी लिनुको कारण अरुलाई आतंकित बनाउनु र पैसा असुल्नु थियो। 

सोहीअनुसार बुटवलका व्यवसायीहरुलाई धम्क्याउने धन्दा सुरु भयो। उनीहरुले ‘तिवारीकै हालत बनाइदिने’ भन्दै व्यापारीलाई आतंकित बनाउन थाले। गिरोहका नाइकेहरु पक्राउ नपरेकाले व्यापारीहरु डराएर पैसा दिन वाध्य थिए। 

त्यसरी उठाएको मध्ये बढी पैसा मनोजले नै राख्न थालेपछि उनीहरुबीचमै विवाद सुरु भयो। त्यही कारण समिरमानसिंह र लोप्साङ छुट्टिए। मनोज र सोम घलेले अर्को टिम खडा गरे।

सेनाको जागिर छाडेर गुन्डागर्दीमा लागेका गुम्बे र अमरबहादुर पनि समिर र लोप्साङकै समूहमा बसे। 

हत्याबाट चर्चाको लोभ

बुटवल घटनाबाट मनोज पुन चर्चित भएपछि गुम्बे र अमरबहादुरमा पनि अरु कसैको हत्या गरेर पैसा कमाउने अनि चर्चामा आउने लोभ जाग्यो।

सोही अनुसार गत वर्ष चैतमा उनीहरुले गुन्डा नाइके दावा लामाको हत्या योजना बनाए। लामासँग दुस्मनी भएकाले हत्याका लागि सो समूहले उनलाई छानेको थियो। लामा’bout सबै सूचना लिएपछि जिम जाने बेला उनको हत्या योजना बन्यो। 

गोली हान्ने जिम्मेवारी अमरबहादुरलाई दिइयो। योजनाअनुसार २०७३ चैत २८ मा गौरीघाटस्थित क्लबमा छिर्न लाग्दा अमरले दावालाई गोली हाने। उनको ढाडमा हानिएको ३ राउन्ड गोली पेटबाट निस्किएको थियो। तर, संवेदनशील अंग र हड्डीमा गोली नलागेकाले उनी बाँच्न सफल भए। 

घटनालगत्तै लोप्साङले काठमाडौंका तत्कालीन एसएसपी छविलाल जोशीलाई फोन गरेर भने, ‘दावालाई हामीले हानेका हौं।’

दावालाई आक्रमण गरेपछि सो समूहले धम्काउँदै पैसा उठाउन थालेको थियो। 

फोन गरेर घटनाको जिम्मेवारी लिँदा पनि प्रहरीले घटनामा संलग्न कसैलाई पक्राउ गर्न सकेन। उनीहरुको मनोबल बढ्दै थियो। ‘क’ श्रेणीका ठेकदारहरु उनीहरुको धम्कीबाट आतंकित बन्न थालेका थिए। केहीले पैसा दिए, केहीले मानेनन्।

पैसा दिन नमान्नेमध्ये एक थिए, निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन। गौचनसँग समिरमानको चिनजान थियो। 

पछिल्लो समय गौचनसँग उनको विवाद बढेको थियो। आफूलाई नटेरेको रिसमा समिरमानले गौचन हत्याको योजना बनाएका हुन्। गत भदौदेखि नै उनले गौचनको दैनिकी पछ्याउन एक टोली खटाएका थिए। 

अन्तत: असोज २३ मा गौचनको हत्या गर्न उनी सफल भए।

गोली हान्न उनै २ भगौडा सिपाहीलाई जिम्मेवारी दिइएको थियो। दावालाई एक जनाले मात्र गोली हान्दा मृत्यु नभएकाले यसपटक दुई जनालाई पेस्तोल दिएर प्रयोग गरिएको थियो। 

गोली हान्नेमध्ये गुम्बे गत मंगलबार पक्राउ परेका छन्। अमरबहादुर राना भने अझै फरार छन्। घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का एसपी जीवनकुमार श्रेष्ठ बताउँछन्।

निर्माण व्यवसायी गौचन हत्यामा संलग्न २२ जनाविरुद्ध प्रहरीले गत साता मुद्दा दायर गरेको छ। जसमध्ये हत्या योजनाका मुख्य नाइके समिरमानसिंह बस्नेतसहित ९ जना जेल चलान भएका छन्। घटनामा संलग्न १० जनालाई अझै प्रहरीले पक्राउ गर्न सकेको छैन। 

सोही मुद्दामा बुधबार पक्राउ परेका सुटर श्यामबहादुर गुरुङ ‘गुम्बे’ प्रहरी हिरासतमै छन्। हत्यामा गुम्बेसँगै अमरबहादुर राना पनि संलग्न थिए। 

जर्नेलकहाँ छु भनेर अपराध दुनियाँमा 

अमरबहादुर रानाको घर उदयपुर हो। गौचन हत्यापछि प्रहरी टोली उनको घर पुगेको थियो। उनी’bout सोध्दा जर्नेलको घरमा कार्यरत रहेको परिवारका सदस्यले बताएका थिए। जबकि २ वर्षअघि नै उनले जागिर छाडिसकेका थिए। 

‘परिवारलाई जागिर छाडेको उसले बताएको रहेनछ,’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारी भन्छन्, ‘जर्नेलको घरमा छु भनेर परिवारलाई ढाँटेको रहेछ।’ 

महत्वाकांक्षाले सुरक्षाको जागिर छाडेर अपराधमा लागेका उनीहरुको ‘गुन्डागर्दीको रमझम’ लामो समय चल्न सकेन। प्रहरीले कर्तव्य ज्यान र संगठित अपराध मुद्दामा ३० वर्ष कैद सजाय माग गरी उनीहरुविरुद्ध मुद्दा दायर गरिसकेको छ।

साभारः 

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

You May Also Like