प्रदेश प्रमुखलाई कति धेरै सेवा सुविधा !


काठमाडौं ।
सरकारले बुधबार ७ वटै प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख तोकेको छ । प्रदेश नम्बर १ मा डाक्टर गोविन्द सुब्बा, २ मा रत्नेश्वरलाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रमुख तोकिएको हो । प्रदेश प्रमुख तोकिएलगत्तै उनीहरुले पाउने सेवासुविधा’bout जिज्ञासा लिनेहरु धेरै छन् ।

प्रदेश प्रमुखले पाउने सेवा सुविधा :

प्रदेश सञ्चालन ऐनले प्रदेश प्रमुखले पाउने सेवा सुविधा तोकेको छ । प्रदेश प्रमुखको मासिक पारिश्रमिक ६४ हजार रुपैयाँ हुन्छ । यसबाहेक हरेक वर्ष पोशाक सुविधा बापत १८ हजार रुपैयाँ छुट्टै पाइन्छ ।

अतिथि संस्कार तथा भैपरि खर्च ४० हजार रुपैयाँ तोकिएको छ । ऐनको अनुसुची २ मा प्रदेश प्रमुखले पाउने भत्ता र बिमाको सुविधा पनि तोकिएको छ । बीमा, पोशाक र भत्ता बाहेक नै प्रदेश प्रमुखको तलबभत्ता प्रत्येक महिना १ लाख ४ हजार रुपैयाँ हुन्छ ।

प्रदेश प्रमुखले १ लाख ५० हजारको बीमा सुविधा पाउँछन् । विदेश भ्रमण गर्दा प्रदेश प्रमुखले २ सय ५० अमेरिकी डलर भत्ता पाउने व्यवस्था छ । त्यस्तै देशभित्रै भ्रमण गर्दा ३ हजार रुपैयाँका दरले प्रतिदिनको भत्ता पाउने व्यवस्था गरिएको छ ।

प्रदेश प्रमुखले युरोपियन देश, अष्ट्रेलिया, न्यूजिल्याण्ड, अमेरिका, क्यानाडा, कुवेत, कोरिया, जापान, हङकङ, रुस, कतार, जाम्बिया, यूएई, सिङ्गापुर, लेवनान, बहराइनको भ्रमण गर्दा २ सय ५० अमेरिकी डलरको ३३ प्रतिशत थप गरेर भत्ता पाउने छन् ।

भारतको चेन्नइ, हैदरावाद, बैङ्गलोर, मुम्बई, दिल्ली, कोलकाता, बङ्गलादेशको ढाका र चटगाउँबाहेक अन्य स्थानको भ्रमण गर्दा प्रदेश प्रमुखले २ सय ५० अमेरिकी डलरको ५० प्रतिशत रकम थप गरि प्रतिदिन भत्ता पाउने व्यवस्था छ ।

प्रदेश प्रमुख पदबाट हटेमा एक महिनाको पारिश्रमिक थप गरी तलब दिइने व्यवस्था छ । प्रदेश प्रमुखले आवासका लागि प्रदेश राजधानीमा सरकारी आवास पाउने छन् । आवास बनिनसक्दा सरकारले तोके बमोजिम भाडा पाउने व्यवस्था रहेको छ ।

त्यस्तै घरको मर्मतसम्भार सरकारले नै गर्छ । घरका लागि आवश्यक फर्निचरलगायतका सामानको सबै बन्दोबस्त सरकारबाटै हुन्छ । प्रदेश प्रमुखले गाडीसहित सम्पूर्ण सेवा सुविद्या पाउँछन् । 

प्रदेश प्रमुखको आवासको लागि टेलिफोन, कम्प्यूटर, इन्टरनेट, फ्याक्स, पत्रपत्रिका जस्ता सञ्चार सुविधा नेपाल सरकारले व्यवस्था गर्नेछ । प्रदेश प्रमुखको लागि सरकारले एकजना नीजि डाक्टरको पनि व्यवस्था गरिदिन्छ । उपचारका गर्दा लागेको सबै खर्च प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सम्बन्धित अस्पताललाई उपलब्ध गराउने छ ।

त्यस्तै नेपालको अस्पतालमा उपचार गराउँदा १ जना कुरुवासहितको खर्च र विदेशमा लागेको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोर्छ । प्रदेश प्रमुखले प्रत्येक महिना खाईपाई आएको रकम मुख्य चाडपर्वमा भत्ता स्वरुप पाउनेछन् ।

प्रदेश प्रमुखको नीजि सचिवालयमा १२ जना कर्मचारी रहने व्यवस्था रहेको छ । प्रमुख स्वकीय सचिव, सहस्वकीय सचिव, उपस्वकीय सचिव, स्वकीय अधिकृत, फोटोग्राफर अधिकृत, कम्प्युटर सहायक, प्रशासन सहायक, लेखा सहायक एक एक जना रहने छन् भने सवारी चालक र कार्यालय सहयोगी दुई दुई जना रहने व्यवस्था छ । 

त्यस्तै प्रदेश प्रमुखले आवश्यक ठानेमा विज्ञको नियुक्ति गर्न सक्नेछन् । विज्ञको सम्पूर्ण खर्च नेपाल सरकारले उपलब्ध गराउने व्यवस्था छ । 

श्रोतः Ujyaalo

 

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

You May Also Like