मुगुको स्वास्थ्य अवस्था सुधार गर्न कर्णाली स्वास्थय बिज्ञान प्रतिष्ठानको टोली नियमित आउने


गमगढीः
जिल्लामा देखिएको स्वास्थ्य अवस्थालाई सुधार गर्न अबदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जिल्ला अस्पताल मुगुमा नियमित विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । मुगुका अधिकाँश महिलाहरुमा पाठेघर खस्ने समस्या जटिल बन्दै गएको विभिन्न सरकारी तथा गैरसरकारी निकायले बताई रहेपनि आङ्ग खस्ने समस्या भएका महिलाहरुले नबोलिदिंदा एकिन तथ्यांक आउन सकेको छैन ।

मुगु जिल्लाभर आङ्ग खस्ने समस्याको उपचार गर्ने उद्देश्यले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका निर्देशक धर्मराज जोशी नेतृत्वको एक टोली मुगु आईपुगेको छ । महिलाको आङ्ग खस्ने समस्या कस्तो छ भन्ने अवस्था बुझ्न आफ्नो टोली मुगु पुगेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका निर्देशक जोशीले जानकारी दिनुभयो ।

आङ्ग खस्ने समस्या मात्र नभएर प्रसुति सेवा, बाल रोग, हाड जोर्नी लगायतका सेवाहरु समेत शिविरका माध्यमले प्रदान गरिने भएको बताईएको छ । अबदेखि मुगु स्वास्थ्य कार्यालयले नियमित रुपमा आङ्ग खस्ने समस्याबाट पीडित महिलाको पहिचान गरि दशजना भन्दा बढी पीडित महिलालाई जम्मा गर्नसके जुम्लाबाट हरेक हप्ता दश दिनमा विशेषज्ञ चिकित्सकको टोली आएर पाठ्यघरको शल्यक्रिया गर्ने व्यवस्था प्रतिष्ठानले मिलाउने प्रतिष्ठानका निर्देशक जोशीको भनाई छ ।

हप्ता दश दिनमा पाठ्यघर खसेका दुई तीन जना महिला मात्र पहिचान हुनसके जिल्ला स्वास्थ्य कार्यालयले उनिहरुलाई जुम्ला पठाउने र जुम्लामा उनीहरुको निःशुल्क शल्यक्रिया समेत गरि बाटो खर्च समेतको व्यवस्था गरिने भएको छ । यता जिल्ला अस्पताल मुगुमा शल्यक्रिया मार्फत सुत्केरी गराउनका लागि विशेषज्ञ राख्ने विषयमा छायानाथ रारा नगरपालिकाका जन प्रतिनीधीहरुसंग छलफल भइरहेको बताईएको छ ।

तत्काल महिनाको दुई तीन पटकसम्म हाड जोर्नी, बाल रोग, सर्जरी लगायतका सेवा प्रवाह गर्नका लागि प्रतिष्ठानले ब्यवस्था मिलाउने र जसका लागि पालै पालो गरेर प्रतिष्ठानबाट विशेषज्ञ चिकित्सकको टोली मुगु पठाउने तयारी भई रहेको निर्देशक जोशीले बताउनुभयो । यसरी आउने टोली विरामीको चाप अनुसार जिल्लामा बस्ने र जुम्ला फर्किने अवस्था निर्धारण हुने बताईएको छ ।

देशमा अब संघीय व्यवस्था आइसकेपछि सिंहदरवारको अधिकार गाउँ गाउँमा आउने भनेपछि मुगुका दुर्गम गाउँ बस्तिका नागरिक सरकारबाट पाउने सबै सेवा सुविधा गाउँ घरमा नै पाउने आशामा थिए । तर विडम्बना स्थानीय तह, प्रतिनीधी सभा र प्रदेश सभाको निर्वाचन भई सक्दा पनि स्थानीय तहबाट दिनुपर्ने सरकारी सेवा केन्द्रमुखी बन्दै जाँदा नागरिकले सोचे जस्तो सेवा पाउन सकेका छैनन् ।

स्थानीय तहको निर्वाचन पछि सबै प्रकारका स्वास्थ्य सेवा वडा स्तरबाट नै उपलब्ध गराउने सरकारले बताएपनि अहिले जिल्लाका एक नगरपालिका र तीनवटा गाउँपालिकाबाट प्रवाह हुनुपर्ने सेवा सुविधा सदरमुकाममा आएर लिनुपर्ने बाध्यता रहेको छ । ग्रामीण क्षेत्रमा ईन्टरनेट, बैंक तथा वित्तीय संस्था नहुँदा अधिकाँश काम सदरमुकाममा नै गर्नुपर्ने स्थानीय तहका जन प्रतिनीधीहरुले बताउदै आएका छन । यसमा नागरिकको जीबनमा प्रत्यक्ष प्रभाव पर्ने स्वास्थ्य क्षेत्र झन लथालिंग देखिएको छ ।

२०७३ चैत्रदेखि जिल्ला अस्पतालमा शल्यक्रियामार्फत सुत्केरी गराउने, एपेण्डिक्स, हर्निया, हाईड्रोशील लगायतका शल्यक्रिया सञ्चालनमा आएपनि राजनीतिक क्षेत्रबाट अनावश्यक दबाब, आफ्नै कर्मचारीबाट धम्की आउन थालेपछि जिल्ला स्वास्थ्य कार्यालयका कार्यालय प्रमुख एमडिजिपी (विशेषज्ञ) डाक्टर जितेन्द्र कडेंलले जिल्ला छोडेको दुई महिनादेखि जिल्ला अस्पतालबाट प्रवाह हुने सबै प्रकारका शल्यक्रिया सेवा बन्द भएका छन ।

विशेषज्ञलाई जिल्लाबाट पठाएपनि फेरि अरु विशेषज्ञ ल्याउने पहल कुनै निकायबाट भएको छैन भने सामान्य अवस्थामा सुत्केरी हुन सक्ने गर्भवतीलाई समेत जिल्ला अस्पतालमा उपचार सम्भव छैन भन्ने जवाफ आउदा अहिले अधिकाँश गर्भवती महिलालाई सुत्केरी गराउन जुम्ला, नेपालगञ्ज लैजानु पर्ने बाध्यता मुगुबासीलाई आई परेको छ ।

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

 

 

You May Also Like