बाजुरामा खानेपानीका पाँच ट्याङ्की निर्माण कार्य सुरु

बाजुरा | बाजुराको बडीमालिका नगरपालिकाले खानेपानीका ट्याङ्की निर्माण शुरु गरेको छ । 

सदरमुकामवासीले लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका भए पनि अब खानेपानीको समस्या टर्ने भएको छ । स्थानीय तहमा जनप्रतिनिधि आएको करिब सात महिनापछि सदरमुकामको खानेपानी व्यवस्थित बन्ने भएको छ । 

मार्तडीको बृहत् खानेपानी उपभोक्ता समितिको लापरबाहीका कारण सदरमुकाममा रहेका होटल व्यवसायी सरकारी तथा गैरसरकारी कार्यालय र स्थानीयवासीले समयमै खानेपानी नआउने र आए पनि एक घण्टा बढी नआउने समस्या झेल्दै आएको बताइएको छ । 

जिल्ला सदरमुकाम मार्तडीमा रहेको बडीमालिका नगरपालिका प्रमुख पदम बडुवालले खानेपानी उपभोक्ता समितिलाई नगरमै राखी खानेपानी व्यवस्थित गर्न थालेको बडीमालिका नगरपालिकाको ८ नं वडा अध्यक्ष प्रकाश रावलले बताउनुभएको छ । 

उहाँले सदरमुकाम मार्तडीमा रहेका सरकारी तथा गैरसरकारी उद्योगी, व्यापारी, होटल व्यवसायीलाई सहजरुपमा खानेपानी उपलब्ध गराउनका लागि विभिन्न स्थानमा पाँच वटा ट्याङ्की निर्माण गरिने बताउनुभयो । 

सदरमुकामभित्रै रहेका भाकम, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला निर्वाचन कार्यालयको पछाडि रहेको जनस्वास्थ्यको जमिनमा, जिल्ला प्रहरी कार्यालयको परिसरमा र रानीवनमा खानेपानीका पाँच ठूला ट्याङ्की निर्माण हुन लागेको नगर प्रमुख पदम बडुवालले जानकारी दिनुभएको छ । 

नगर प्रमुखले दिएको जानकारीअनुसार खानेपानी ट्याङ्की निर्माणका लागि रु एक करोड एक लाख बजेट प्रथम नगरसभाबाट विनियोजन गरिएकाले सोहीअनुसार एक ट्याङ्की ५० घनमिटरको बनाउने गरी मार्तडी बृहत् खानेपानी उपभोक्ता समितिलाई जिम्मेवारी दिइएको बताउनुभयो । 

खानेपानी पाँच ट्याङ्की निर्माणका लागि रकम कम हुने भएकाले थप गर्नुपर्ने भएको नगर प्रमुख बडुवालले बताउनुभयो । खानेपानी ट्याङ्की निर्माणपछि समस्याको समाधान हुनेछ । उहाँले खानेपानी प्रयोगकर्तालाई धारामा टुटी प्रयोग गर्न आग्रह गर्नुभएको छ । धारामा टुटी नलगाउनेको खानेपानीको लाइन काटिने बडुवालको भनाइ छ । रासस

 

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

 

 

You May Also Like