सरकारले आज प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्दै

काठमाडौं । सरकारले मंगलबार सातै प्रदेशका प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने तयारी गरेको छ । आज दिउँसो साढे ४ बजेपछि बस्ने मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख तोक्नुका साथै प्रदेशको कार्य सञ्चालन गर्ने गरी अस्थायी केन्द्र तोक्न लागेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

निर्वाचन आयोगले बिहीबारसम्ममा प्रदेश प्रमुख नतोके आउँदो २४ गतेका लागि तोकिएको राष्ट्रियसभा चुनाव प्रभावित हुने चेतावनी दिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार नै प्रदेशप्रमुख र अस्थायी केन्द्र तोक्ने तयारी गर्नुभएको हो । राजनीतिक सहमतिका आधारमा प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने बताउँदै आए पनि सहमति जुट्न नसकेपछि यी दुवै निर्णय देउवा आफैले गर्न लाग्नुभएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार प्रदेश प्रमुखमा पूर्वसचिव एवं निर्वाचन आयोगका पूर्वआयुक्त दोलखबहादुर गुरुङ, मोहनराज मल्ल, अनुराधा कोइराला, रत्नेश्वरलाल कायस्थ, उमाकान्त झा, दुर्गाप्रसाद खनाललगायतलाई सिफारिस गर्ने गरी प्रस्ताव तयार भएको छ ।

राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पु¥याएका र कुनै विवादमा नपरेका व्यक्तिलाई प्रदेश प्रमुख बनाउने सरकारको तयारी छ । यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार संविधानको धारा २८८ को उपधारा ३ बमोजिम प्रदेशको तत्काल कार्य सञ्चालनका लागि अस्थायी केन्द्र तोक्न लागिएको छ ।

केन्द्रका विषयमा प्रधानमन्त्रीले एकपटक आन्तरिक छलफल गरेर निर्णय लिने र दिउँसो  मन्त्रिपरिषद्बाट टुंगो लगाउने तयारी गर्नुभएको छ । 

 

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

You May Also Like