किन हुँदैन आगलागीको छानवीन ?

कृष्णमाया उपाध्याय/नन्दराम जैशी
जुम्ला । मध्यरातमा आगलागी भयो । आगो नियन्त्रणमा आएन । उपचारका लागि आएका विरामीहरुले हतारहतार भागेर आफ्नो ज्यान बचाए । घटना भएको राती अस्पतालमा रहेका विरामी कुरुवाहरु अहिले पनि यो घटना सम्झंदा भक्कानिन्छन् । विहान उज्यालो हुँदा सबै संरचना र अस्पतालमा रहेको अन्य सम्पत्ति खरानी भइसकेको थियो ।


दुई वर्ष पहिला जुम्ला सदरमुकाम खलंगामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको यो घटना अहिले पनि रहस्यमै छ । मध्यरातमा भएको उक्त आगलागीका कारण प्रतिष्ठाका भवनहरु अहिले खण्डहरमा परिणत भएका छन् । करौडौंको सम्पत्ति एकैरातमा खरानी भएको यो घटनाको छानवीन हुन सकेको छैन ।

विरामीको ज्यान बचाउने अस्पतालमा भएको उक्त घटनालाई लुकाउन खोजिएको भन्दै स्थानीयले छानवीनको माग छोडेका छैनन् । मध्यरातमा अस्पतालमा कसले आगो लगायो भन्ने प्रश्न अहिले पनि सर्वसाधारणले गरिरहेका छन् ।

दुई वर्षअघि पुसको कठ्यांग्रिदो जाडोमा भवनभित्र रहेका एक दर्जन बढी विरामीलाई बचाउन सफलता त मिल्यो । तर भौत्तिक संरचना जोगाउन सकिएन । दुई वर्ष पहिलाको त्या रातमा स्थानीय गोविन्दप्रसाद उपाध्याय अस्पतालमै थिए ।

उनले विरामी आफन्तलाई हतारमा बाहिर निकालेर जोगाएका थिए । घटना भएको दुई वर्षपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुग्दा उनको मन दुख्यो । कारण आगलागीले जलेका भवन खण्डहरमा परिणत भएको देखे । घटना’bout छानवीन नहुँदा उनमा आक्रोश पैदा भएको छ ।

अस्पतालको भग्नावसेश देखेपछि उनले भने, ‘कर्णालीका जनताको ज्यान बचाउन बनाएको भवनको यो हालत छ, हालसम्म पनि यो यस्तै खण्डहर रहेछ । घटनाको छानवीन गरेर दोषी पत्ता लगाउनुपर्छ, यसको पुननिर्माणमा पनि ढिलाइ भयो ।’

उनी मात्रै होइनन, अहिले यो अस्पतालमा पुग्ने जोकोहीलाई खण्डहर बनेको अस्पतालको संरचनाले गिज्याइरहेका छन् । राज्यले करोडौं लगानी गरी कर्णालीका नागरिकको जीवन बचाउन निर्माण गरिएको अस्पताल नै खण्डहर बनेपछि कर्णालीबासीको मन खिन्न हुने गरेको छ ।

‘भवन जल्दा भौतिक संरचनाको क्षति मात्रै भएन, कर्णालीका गरिब नागरिकको गुणस्तरिय स्वास्थ्य सेवा पाउने अधिकार पनि जलेको छ,’ नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले भने । लामो समयसम्म करोडौंको सम्पत्ति नष्ट गराउनेहरु कारबाहीको दायरामा नआउँदा कर्णालीवासी आक्रोशित छन् ।
अनुसन्धानमै विते दुई वर्ष
कर्णालीको स्वास्थ्य अवस्था सुधार केन्द्रका रुपमा स्थापित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आगालागी प्रकरण हालसम्म खुल्न सकेको छैन । विरामीलाई उपचार गराइरहेका बेला नै आगालागी हुँदा करोडौंको क्षती बेहोरेको प्रतिष्ठानको उक्त घटनाको ’boutमा हालसम्म

कुनै तथ्य सार्वजनिक भएको छैन ।
विरामीको विचल्ली हुने गरी भएको त्यो घटनाका दोषी र कारणका विषयमा हालसम्म कुनै पनि जानकारी बाहिर नआउँदा कर्णालीवासी निराश छन् । घटनालगतै कर्णालीवासीको मागअनुसार छानवीन गर्ने जिम्मेवारी प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी) ले लिएको थियो ।

तर सीआइबीले पनि दुई वर्षसम्म घटनाको विषयमा कुनै आधिकारिक जानकारी सार्वजनिक गर्न सकेको छैन । स्वास्थ्य सेवालाई सहज र खुला बनाउनका लागि निर्माण भएको भवन हस्तान्तरण नहुँदै आगलागी भएको थियो । त्यसको कारण हालसम्म पनि पत्ता लाग्न नसक्नुले राज्यले कर्णालीका नागरिकको स्वास्थ्य सुरक्षामाथि वेवास्ता गरेको यहाँका नागरिकहरुको गुनासो छ ।

विशेषज्ञ सहितको गुणस्तरिय सेवा प्रदानको लागि निर्माण भएको भवन मात्रै होइनन, विभिन्न रोगहरुको परिक्षण गर्ने औजारहरुसमेत आगोमा नष्ट भएपछि प्रतिष्ठानले हालसम्म पनि विशेषज्ञ सेवा सुरु गर्न सकेको छैन । जसका कारण पुनः विगतजस्तै कर्णालीवासीले आँगनकै थलो छाडेर महंगो खर्च गर्दै तराइका अस्पतालहरुमा उपचार गराउनु पर्ने बाध्यता छ ।

विषेशज्ञ सेवामा कठिनाइ
करोडौं खर्चेर बनाइएको भवन एकै रातमा भग्नावशेसमा परिणत भएपछि प्रतिष्ठान स्थापनापछि सहज उपचारको सपना बोके स्थानीयले हाल उपचारमा सास्ती खेप्नु परेको छ । भवनका साथमा नयाँ उपकरणहरुसमेत जलेका थिए । भवनमा आगलागी हुँदा दुई करोड २६ लाख बराबरको क्षती भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

जसका कारण हालसम्म विरामीले प्रविधिअनुसारको उपचार सेवा पाउन सकेका छैनन् । कर्णाली अञ्चल अस्पताल हुँदादेखि ८६ लाख २१ हजार आठ सय ४६ रुपैयाँको लागतमा भवन बनेको थियो ।

बिरामीहरुको जाँच गर्नको लागी युएसजी मेसिन, सेन्टिफ्युज मेसिन, ईन्डोसकोपी मेसिन, एक्सरे मेसिन, ईलोक्ट्रोलाईट लगायतका महत्पवूर्ण मेसिनहरु जलेको अस्पतालका रजिष्टार विश्वराज काफ्लेले बताए । तीन सय ८१ प्रकारका सामाग्री जल्दा अस्पतालले एक करोड १५ लाख २२ हजार ५५ रुपैयाँ बराबरको क्षति ब्यहोर्नुप रेको उनको भनाइ छ ।

तत्काल यो घटनाको छानवीन गरेर दोषी पहिचान गरिदिन माग गर्दै गत भदौ ५ गते गृह मन्त्रालयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पत्र पठाईएको थियो ।

हालै सम्पन्न प्रतिष्ठानको चौंथो सीनेटलेसमेत उक्त आगलागी प्रकरणलाई छानवीनको निस्कर्षमा पु¥याउन दबाव दिने निर्णय गरेको छ । यसअघि सीआइबीको निर्देशनमा प्रतिष्ठानले घटनामा संलग्न रहेका शंकास्पद व्यक्तिहरुको नामावली दुई पटक पठाइएकोसमेत रजिष्ठार काफ्ले जनाए ।
‘अब नयाँ भवनबाट सेवा दिनेछौं’
भवन जलेपछि दुई वर्षदेखि प्रभावित भएको विशेषज्ञ सेवा आगामी फागुनदेखि सञ्चालनमा ल्याउने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दाबी छ । ‘भवनसँगै औजारहरु जल्दा आँगनमै पाउने विशेषज्ञ सेवाबाट वञ्चित हुनप¥यो, यहाँका नागरिकले सहज सेवा पाउन सकेनन्’ रजिष्टार काफ्लेले भने,‘विरामीले उपचारमा बाहिर गएर महंगो खर्च गर्न बाध्य भए, अब नयाँ भवन बन्दैछ । आगामी फागुनदेखि अस्पतालले विशेषज्ञ सेवा दिनेछ, हामी त्यसका लागि निरन्तर प्रयासरत छौं । ’

प्रतिष्ठानका अनुसार ७६ करोड लागतमा नयाँ भवन निर्माण हुँदैछ । यो भवनमा सेवा सञ्चालन हुने वित्तिकै मध्य तथा सुदुरपश्चिमकै ठूलो अस्पताल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान हुने उनको दाबी छ ।

कर्णाली लगायत पश्चिमी जिल्लाहरुलाई लक्षित गरी स्थापित प्रतिष्ठानमा नयाँ भवनमा उच्च गुणस्तरिय सेवा सञ्चालन हुने रजिष्टार विश्वराज काफ्लेले बताए । ‘हामी विशेषज्ञ सेवा सञ्चालनका लागि तयारी भएका छौं, विशेषज्ञहरु पनि करिव दुई दर्जन बढी नै छन्’ उनले भने, ‘विरामीको उच्च सुरक्षासहित उपचार हुँदा कर्णालीका नागरिकले महंगो खर्चेर तराइमा उपचारका लागि जानुपर्ने बाध्यता टर्नेछ ।’

जुम्लामा तापक्रम माइनसमा हुने भएकाले विरामीको सुरक्षाका लागि सोलारबाट अत्याधुनिक सुरक्षाप्रणाली अपनाइनेछ । हाल अस्पतालले आफ्नै फार्मेसी सञ्चालनको तयारी पनि गरेको छ । यस्तै हालसम्म कर्णालीमा सञ्चालन हुन नसकेको आईसीयु कक्ष र रक्त सञ्चार केन्द्र पनि नयाँ भवनमा सेवा सञ्चालन हुनेछन् । (क्रियाशील पत्रकार मञ्च नेपालका लागी)

 

                                                Ujyaalo

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

 

You May Also Like