अष्ट्रेलिया कसरी जाने ? कस्ता विद्यार्थी जान पाउँछन् अष्ट्रेलिया ? यस्तो छ प्रक्रिया !

काठमाण्डौ । विश्वव्यापी मान्यता प्राप्त शैक्षिक डिग्री र रोजगारीको राम्रो अवसरका कारण अष्ट्रेलिया नेपाली विद्यार्थीहरुको पनि आकर्षक शैक्षिक गन्तव्यको रुपमा रहेको छ ।

तर अष्ट्रेलिया अध्ययनमा जानका लागि शैक्षिक स्तर भने राम्रो हुनुपर्छ । पछिल्लो समय प्लस टुमा प्रथम श्रेणी नै चाहिने अवस्था छ । अंग्रेजी भाषामा निकै दक्ष हुनुपर्छ ।

यसरी अष्ट्रेलिया जान चाहने विद्यार्थीको आर्थिक स्थिति पनि कम्तिमा शिक्षण शुल्क तिर्न सक्ने हुनुपर्छ । त्यसो त मध्यमस्तरका आय भएका नेपालीले समेत अष्ट्रेलिया अध्ययन गर्न सक्छन् । तर कम्तिमा एक वर्ष त घरबाट नै खर्च जोहो गरेर जानु बुद्दिमानी ठहरिन्छ ।

अष्ट्रेलियामा कलेज अनुसार शिक्षण शुल्क पनि फरक फरक हुन्छ । कलेजको ब्राण्ड, गुणस्तर जस्ता कुराले शुल्क फरक पर्न जान्छ । अष्ट्रेलिया जानका लागि औसतमा १२ लाखदेखि २८ लाख रुपैयाँसम्म खर्च लागेको पाइन्छ ।

विद्यार्थीले शुल्क तिरेर अष्ट्रेलियाको कुनै कलेजमा भर्ना भएपछि तिरेको पैसा डुब्ने सम्भावना हुँदैन । कलेज डुब्यो भने पनि त्यहाँको सरकारले विद्यार्थीलाई न्याय दिलाउने काम गर्छ । नर्सिङ, आइटि, इन्जिनियर, हस्पिटालिटि, विजनेश, पब्लिक हेल्थ, प्रोजेक्ट म्यानेजमेन्ट जस्ता विषय अष्ट्रेलियामा राम्रो मानिन्छ ।

विद्यार्थी भिसामा कसरी जाने अस्ट्रेलिया : यस्तो छ प्रक्रिया

शैक्षिक योग्यता

न्यूनतम कक्षा १२ पास गरेपछि मात्र उच्च शिक्षाको लागि अष्ट्रेलिया जान योग्य भइन्छ । कक्षा ११ र १२ को अंक मिलाएर कुल ६० प्रतिशत वा सोभन्दा माथि ल्याएको हुनुपर्दछ ।

अथवा कतिपय कलेजले ५५ प्रतिशतसम्म अंक ल्याउनेलाई लिने गरेका छन् । यसका साथै विद्यार्थीले कक्षा १० को परिणाम पनि प्रस्तुत गर्नुपर्ने हुन्छ ।

आईईएलटीएस

आवश्यक शैक्षिक योग्यता पूरा भइसकेपछि विद्यार्थीले आईईएलटीएसको परीक्षा दिनुपर्ने हुन्छ । जसमा २ वर्षसम्म कायम रहन्छ । उक्त परीक्षामा विद्यार्थीले ६.० ल्याउनु पर्छ ।

यदी कुनै विद्यार्थीले ५.५ अंक ल्याएको छ भने पनि उसले प्रक्रिया सुरु गर्न त पाउँछ तर, यस्तो अवस्थामा उसलाई कलेजले प्रस्ताव पत्र नदिने सम्भावना धेरै हुन्छ ।

वीत्तिय आवश्यकता

अस्ट्रेलिया पढ्न जानका लागि शैक्षिक योग्यता मात्र राम्रो भएर पनि हुँदैन । यसका साथै वीत्तिय योग्यता पनि हुनुपर्दछ । वीत्तिय आवश्यकताहरुमा आफ्नो परिवारको आर्थीक स्रोत, घरजग्गाको वीत्तिय मूल्यांकन सबै गरेर कम्तीमा ४० लाख सम्पत्ती देखाउनुपर्ने हुन्छ । यदि कलेजले मागे अनुरुपको शैक्षिक योग्यता र वीत्तिय योग्यताको राम्रो मेल हुन सक्यो भने भिसा लाग्ने मौका धेरै हुन्छ ।

जसमा एक वर्षको पढाइ शुल्क, त्यहाँ रहँदासम्मको स्वास्थ्य बीमा, एक वर्षको बसाइ खर्च, १९ हजार ८ सय ३० अस्ट्रेलियन डलर, तथा रिटर्न टिकट (२ हजार अस्ट्रेलियन डलर) बुझाउनु पर्छ । साथै बैंकबाट लिएको लोन वा बैंक ब्यालेन्स वा आम्दानीको स्रोत देखाउनु पर्ने हुन्छ ।

प्रक्रिया

शैक्षिक योग्यता, वीत्तिय आवश्यकता, अन्य आवश्यक कागजपत्रहरु तयार गरिसकेपछि एउटा भरपर्दो शैक्षिक परामर्श केन्द्रमा गएर काउन्सुलरको सल्लाह अनुसार प्रक्रिया अगाडि बढाउन सकिन्छ ।

अस्ट्रेलिया जाँदा परामर्श केन्द्रबाट नै सबै प्रक्रियाहरु गर्दा राम्रो हुन्छ । सबै कागजपत्रहरु तयार पारिसकेपछि आफूले छानेको कलेज र विषयमा आफू स्पष्ट हुनुपर्छ ।

उक्त कागजपत्रको आधारमा सबै कुराहरु पुष्टि भइसकेपछि कलेजले प्रस्ताव पत्र पठाउँछ । त्यसपछि सम्बन्धित कलेजले विद्यार्थीको वीत्तिय प्रमाणिकरण माग्छ ।

उक्त प्रमाणिकरण पत्रलाई कलेजले स्विकारी गरीसकेपछि विद्यार्थीलाई ६ महिना वा एक वर्षसम्मको शुल्क तिर्नका लागि प्रस्ताव राख्छ । सामान्यतया विद्यार्थीहरुले १ वर्षको शुल्क बुझाउने गर्छन् । यी सबै कामहरु पूरा भइसकेपछि कलेजले सीओइ पत्र दिन्छ । सबै कुराहरु पूरा भइसकेपछि अब भिसा बाँकि रहयो ।

अब विद्यार्थीले सबै कागजपत्रहरुलाई भिसा कार्यालयमा पठाउनु पर्छ जुन भारतमा छ । अन्तमा भिसा अधिकारीले सबै कुरा चेकजाँच गरेर सबै कागजपत्रहरु सत्य र विश्वसनीय भएमा भिसा प्रदान गर्छ ।

यदि कुनै विद्यार्थीप्रति कुनै कुराको शंका लाग्यो भने उनीहरुले फोन तथा स्काइपको माध्यमबाट सामान्य अन्र्तवार्ता समेत लिन सक्छन । कुनै विद्यार्थीको मामलामा भिसा यतिकै पनि अस्वीकार हुन सक्छ । भिसाका लागि अप्लाइ गरेको १५ दिनदेखि १ महिनाभित्रमा सामान्यतयाः भिसा आइसक्छ ।

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ
हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

You May Also Like