गुजरातको यस्तो गाउँ, जहाँ सबै करोडपति छन्

काठमाडौं: दक्षिण एसियाका कुनै पनि गाउँ भन्ने बित्तिकै हामी कच्ची घर, कच्ची सडक र पिछडिएको क्षेत्रका रुपमा चिन्दछौँ । तर भारतको गुजरात राज्यमा यस्ता दर्जनौँ गाउँ रहेका छन् जसलाई ‘करोडपतिहरुको गाउँ’ भनेर चिनिन्छ । 

यो गाउँ भौतिक संरचना र समृद्धिका लागि अन्य गाउँहरुभन्दा निकै अगाडि रहेको छ । छक्क पर्ने कुरा त के भने यहाँका बासिन्दाले अरबौँ रुपैया बैंकमा जम्मा गरेका छन् । 

कच्छ क्षेत्रमा पर्ने बल्दिया गाउँलाई गुजरातको सबैभन्दा धनी गाउँका रुपमा चिनिन्छ । यहाँका फराकिला सडक, सुन्दर र आलिशान महलले यहाँको समृद्धताको झलक देखाउँछ । यहाँको सुन्दरताले कुनै युरोपेली गाउँको कल्पना गराउँछ । 
स्थानीय पत्रकार गोविन्द केराई भन्छन्, ‘यहाँका आठ वटा बैंकका तथ्यांक हेर्ने हो भने खातामा डेढ हजार करोड रुपैयाँ जम्मा छ । डाकखानामा पनि पाँच सय करोडभन्दा बढी पैसा जम्मा छ ।’

गाउँका कैयौँ घरमा ताला झुण्डिएको छ । स्थानीय बासिन्दाका अनुसार गाउँका अधिकांश मानिस विदेशमा बस्दछन् । भुज शहरको नजिकै रहेको माधवपुर गाउँ पनि ‘करोडपतिको गाउँका नामले चिनिन्छ । यो गाउँमा नौ वटा बैंकका शाखा रहेका छन् । स्थानीय बासिन्दा खेमजी जादवका अनुसार यहाँ अधिकांश नागरिक करोडपति छन् । उनी भन्छन्, ‘यहाँका सबै धनी छन् । करोडपति छन् । मानिसहरु बाहिर कमाउँछन् र पैसा यहाँ ल्याउँछन् ।’

गाउँका अधिकांश नागरिक पटेल समुदायका छन् । बल्लिया गाउँका जादव गरेसियामा रहेको एक कन्स्ट्रक्सन कम्पनीका मालिक ह्न् । लगभग सय वर्षअघिदेखि यहाँका नागरिक व्यापारका लागि विभिन्न देशमा पुग्ने गरेका थिए । उनीहरुले विदेशमा सिकेको सीप र आम्दानीलाई आफ्नै गाउँमा खर्च गर्दै समृद्धिको बाटोमा लगेका हुन् । 

-बीबीसी हिन्दीबाट

You May Also Like