६ नम्बर प्रदेशः कर्णालीका पाचँ जिल्लाको चुनाव कस्तो ? (विस्तृत बिवरण सहित)

सुर्खेत– पहिलो चरण अन्तर्गत प्रदेश नम्बर ६ का सात जिल्लामा प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन आइतबार सम्पन्न भएको छ। कर्णालीका पाँच जिल्लासहित जाजरकोट र पश्चिम रुकुममा आइतबार उत्साहपूर्ण रुपमा मतदान सम्पन्न भएको छ। यद्यपि केही छिटफुट घटना भने भएका छन्।

जुम्ला
५९ हजार ५८ मतदाता रहेको जुम्लामा करिब ६० प्रतिशत मत खसेको छ। ९० वटा मतदान केन्द्र रहेको जुम्लामा बिहान आठ बजेदेखि मतदान सुरु भएको थियो। जुम्लाका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलका अनुसार, ४८ वटा मतदान केन्द्रका मतपेटिकाहरु आइतबार नै सदरमुकाम खलंगा ल्याइएको छ भने अन्य केन्द्रहरु टाढा रहेकाले सोमबारसम्म ल्याइसक्ने बताइएको छ। यहाँ कुनै अप्रिय घटना भने भएन।

मुगु
६० वटा मतदान केन्द्र रहेको मुगुमा पनि शान्तिपूर्ण रुपमा मतदान भएको छ। मुगुका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका अनुसार ६० वटा केन्द्रमध्ये राराछायानाथ नगरपालिकाको १८ वटा मतदान केन्द्रका मतपेटिकाहरु आइतबार नै सदरमुकाम ल्याइएको छ। बाँकी रहेका मतपेटिकाहरु सोमबार साँझसम्म ल्याइसक्ने उनले जानकारी दिए।

कालिकोट
जिल्लाभरिका एक सय ९ वटा मतदान केन्द्रहरुमा ६५ प्रतिशत मत खसेको बताइएको छ। मतदानको अघिल्लो दिन शनिबार राति विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच मुम्रामा झडप हुँदा चार जना घाइते भएका थिए। तर, आइतबार भने कुनै घटना हुन पाएन। स्थानीय प्रशासनले सुरक्षा व्यवस्थालाई कडा बनाएको थियो। पैदल मार्गबाट ल्याउँदा मतपेटिका लुटिने डरका कारण जिल्लाका नरहरिनाथ र सान्नीत्रिवेणी गाउँपालिकाको मतपेटिकाहरु हेलिकोप्टरमार्फत आइतबार सदरमुकाम मान्म ल्याइएको छ। मतपेटिकाको सुरक्षाका लागि मतदान सम्पन्न भएपछि हेलिकोप्टरबाट दुई वटा गाउँपालिकाका मतपेटिका सदरमुकाम ल्याइएको जिल्ला प्रशासन कार्यालय कालिकोटले जनाएको छ।

हुम्ला
हुम्लाको चंखेली गाउँपालिकाको मेखाला मतदान केन्द्रका मतदाताले आइतबारको मतदान बहिस्कार गरेका छन्। स्थानीय तहको पुनर्संरचना गर्ने बेलामा स्थानीयले छुट्टै वडापालिका मागेका थिए । तर उक्त माग सुनुवाई नभएपछि स्थानीयले आइतबारको मतदान बहिस्कार गरेका हुन्। चंखेली गाउँपालिका ३ मा रहेका रारा आधारभूत मतदान केन्द अन्तर्गत रहेका एक सय १९ जना मतदातामध्ये ६ जनाले मात्र मतदान गरेका छन्। यसअघि संयुक्त विज्ञप्ति निकालेर स्थानीयले मत नदिने बताएका थिए। तर, साँझ पाँच बज्नै लाग्दा ६ जना मतदाता आएपछि उनीहरुलाई मतदान गर्न दिइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिए। ५२ वटा मतदान केन्द्र रहेको हुम्लामा ७१ प्रतिशत मत खसेको छ। आइतबार रातिसम्म ६ वटा मतदान केन्द्रका मतपेटिकाहरु समदरमुकाम ल्याइएको छ भने ३६ वटा मतदान केन्द्रका मतपेटिकाहरु भने हेलिकोप्टरमार्फत ल्याइने प्रमुख जिल्ला अधिकारी बाँस्कोटाको भनाइ छ।

डोल्पा

१८ हजार नौ सय ८९ मतादाता रहेको डोल्पाका ७६ प्रतिशत मत खसेको छ। प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले जिल्लाका ६६ वटै मतदान केन्द्रमा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको बताए। सेफोक्सुन्डो गाउँपालिकाको दुईवटा मतदान केन्द्र निकै टाढा रहेका कारण त्यहाँको तथ्यांक प्राप्त नभएको बताइको छ। बाँकी रहेको ६४ वटा मतदान केन्द्रका मतपेटिकाहरु सोमबारसम्म सदरमुकाम ल्याइने प्रजिज आचार्यले जनाए।

जाजरकोट
जाजरकोटमा केही झडपबाहेक शान्तिपूर्ण रुपमा मतदान सकिएको छ। जाजरकोटमा करिब ७२ प्रतिशतको हाराहारीमा मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। साँझ पाँच बजे मतदान सकिएसँगै मतपेटिका सदरमुकाम ल्याउने काम सुरु भएको छ।

पश्चिम रुकुम
दुई वटा मतदान केन्द्रको मतदान स्थगित भएको पश्चिम रुकुममा पनि ६६ प्रतिशत मत खसेको छ । पश्चिम रुकुममा १ सय ४ मतदान केन्द्र रहेकोमा दुई वटा केन्द्रमा पुनः मतदान गरिने भएको छ। आइतबार भएको मतदानका क्रममा रुकुम पश्चिमको बाँचीकोट गाउँपालिका–५ स्थित रत्ना निमावि मतदान केन्द्र र आठबीसकोट नगरपालिका–१२ गत्तासैना मतदान केन्द्रमा एसिड परेर मतपत्र जलेपछि पुनः मतदान गरिने निर्वाचन आयोगले जनाएको छ। रत्ना निमाविमा २५० र गत्तासैनामा ३६५ मत खसेपछि एसिड परेर मतपत्र जलेकाले मतदान स्थगित भएको थियो।

दुवै मतदान केन्द्रमा आगामी मंसिर २१ गते पुनः मतदान गरिने रुकुम पश्चिमका मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले जानकारी दिए।

    रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । यहि सञ्चार गृह द्वारा सञ्चालित कर्णाली अनलाइन पनी आधिकारीक न्युज पोर्टल अनलाइन हो । हामीलाई फेसबुकमा तलका लिकंबाट फ्लो गर्नुहोला ।
    रारा सञ्चार अनलाइनः यहाँ
    कर्णाली अनलाइनः यहाँ

You May Also Like