इजिप्ट : मस्जिदमा बिद्रोहीको आक्रमण, २३५ जनाको मृत्यु

इस्लामिक बिद्रोहीले इजिप्टको सिनाई प्रान्तको एक मस्जिदमा बम आक्रमण तथा अन्धाधुन्ध गोली चलाउँदा दुई सय ३५ जनाको ज्यान गएको छ । इजिप्टको उत्तरी सिनाई प्रान्तमा रहेको मस्जिदमा शुक्रबार आक्रमण भएको र त्यस क्रममा धेरै सर्वसाधारण नागरिकको ज्यान गएको इजिप्टको सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

सिनाइ प्रान्तको वीर अल–अबेद बजारमा रहेको अल–रावदा मस्जिदमा आक्रमण भएको हो ।
आक्रमण भएका बेला शुक्रबार हुने नियमित प्राथनाका लागि मस्जिदमा मानिस जम्मा भएका थिए । आधुनिक इजिप्टको इतिहासमा यो आक्रमण सबैभन्दा धेरै मानिसको ज्यान जाने गरी भएको आक्रमण हो । सन् २०१३ मा इजिप्टसहितका क्षेत्रमा सुरु भएको इस्लामिक बिद्रोहयता भएको हो ठूलो आक्रमण हो । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएका छैनन् ।

तर इस्लामिक स्टेट (आइएस) सम्बद्ध लडाकुले आक्रमण गरेको हुन सक्ने जनाइएको छ । ४० जना भन्दा बढीको समूहमा आएका आक्रमणकारीले मस्जिदमा नमाज पढिरहेका नागरिकलाई लक्षित गरी बम विस्फोट गराउनुका साथै अन्धाधुन्ध गोली चलाएका हुन् ।

इजिप्टको सरकारी टेलिभिजनका अनुसार घटनामा एक सय ३० जना घाइते भएका छन् । यसैबिच इजिप्टका राष्ट्रपति अब्दुल फतह अल–सिसीले सिनाईको मस्जिदमा भएको आक्रमणको बदला लिएरै छोड्ने घोषणा गर्नुभएको छ । यो आक्रमणले आफ्नो देश र नागरिकलाई आतंकवाद विरुद्धको अभियान कमजोर नभइ थप मजबुद बनाएको उहाँले बताउनुभएको छ । सुरक्षा अधिकारीसँगको कुराकानीपछि उहाँले घटनामा संलग्नलाई कुनै पनि हालतमा नछोडिने बताउनुभएको हो ।

    रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । यहि सञ्चार गृह द्वारा सञ्चालित कर्णाली अनलाइन पनी आधिकारीक न्युज पोर्टल अनलाइन हो । हामीलाई फेसबुकमा तलका लिकंबाट फ्लो गर्नुहोला ।
    रारा सञ्चार अनलाइनः यहाँ
    कर्णाली अनलाइनः यहाँ

You May Also Like