चितवन विकासका लागि यस्ता छन् प्रचण्डका योजना !

चितवन: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनवासीको लागि नौलो नाम पटक्कै होइन । २०१९ सालमा कास्कीबाट हालको भरतपुर महानगर–१४ शिवनगरमा बसाईं आएका प्रचण्डकै कमाण्डमा दश बर्षे जनयुद्ध सफलता पुर्वक सम्पन्न भयो । वृहद शान्ति सझौताका हस्ताक्षर कर्ता मध्येका एक प्रचण्डले शान्ति प्रक्रिया सफलता पुर्वक सम्पन्न गर्नक लाग महत्वपुर्ण भुमिका निर्वाह गरेका छन् । नेपाली जनताका प्रतिनिधिहरुबाट बनेको संविधानको कार्यान्वयनसँगै सङ्क्रमणकालको अन्त्य गरी आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने क्रममा मुलुक यतिवेला आम निर्वाचनको संघारमा छ ।

दुई–दुईपटक प्रधानमन्त्री भएर मुलुकको बागडोर सम्हालिसकेका प्रचण्ड यसपटक चितवन–३ को चुनावी मैदानमा होमिएका छन् । यतिवेला पुत्र वियोगको बज्रपातले शोकाकुल बनेका उनी फगत चुनाव जित्नका लागी मात्रै चितवन झरेका छैनन्, उनले महत्वपुर्ण योजना समेत लिएर आएका छन् । आगामी केही वर्षमा नेपालमा औद्योगिकरण, कृषिमा आधुनिकीकरण, सडक, रेल, विद्युत, टेलिफोन र इन्टरनेट सञ्जालको व्यापक विस्तारको योजना सहित चितवन आएका प्रचण्डले रोजगारी, आवास, स्वास्थ्य, शिक्षा, मनोरञ्जनमा आम मानिसहरुको पहुँच पु¥याएर समाजवाद उन्मुख आर्थिक सामाजिक विकासको योजना अगाडी बढाएका छन् ।

पुरानो राज्यसत्ता भत्काएर नयाँ नेपाल निर्माणका लागी राजनैतिक क्रान्तिको नेतृत्व गरेका प्रचण्ड चितवनकै उत्पादन हुन् । चितवनकै भूमिबाट राजनीतिक जीवन सुरुवात गरी यहीँ टेकेर ठूलो जनक्रान्तिको नेतृत्व गर्न सफल हुनु चितवनवासीका लागि गौरवको कुरा हो । आर्थिक क्रान्ति र संवृद्धिको अठोट सहित नेकपा एमाले र माओवादीको बिचमा चुनावी गठबन्धन बनाउन सफल भएका माओवादी अध्यक्ष प्रचण्डले चितवनलाई देशको विकासको नमुना बनाउने अठोट गरेका छन् । वाम गठबन्धनको साझा उम्मेदवारका रुपमा चितवन ३ बाट प्रतिनीधिसभाको उम्मेद्वार बनेका प्रचण्डलाई सिंगो चितवनवासीको साझा उम्मेदवार र अभिभावकका रुपमा लिईएको छ ।

चितवनको विकासका लागी प्रचण्डले सातैवटा पालिकाहरु एकीकरण गरी ‘चितवन मेट्रो सिटी’ बनाउने महत्वकांक्षी योजना बनाएका छन् ।

प्रचण्डका चितवन विकासका योजना यस्ता छन्–
बिपन्नलाई रोजगारी
माओवादी अध्यक्ष प्रचण्डले उद्योग, कृषि, सेवा, यातायात लगायतका क्षेत्रहरुमा आगामी पाँच बर्षभित्र ५० हजार रोजगारी सिजर्ना गर्ने लक्ष्य आफ्नो घोषणापत्रमा प्रस्तुत गरेका छन् । ‘रोजगारी दिँदा चितवनका विपन्न परिवारलाई प्राथमिकतामा राखिने छ’ प्रचण्डले आफ्नो घोषणापत्रमा लेखेका छन्, ‘चितवनको औद्योगीकरणका लागि चालु योजनाहरुको कार्यान्वयन तथा नयाँ योजनाहरुका माध्यमबाट रोजगारीका थप अवसर सिर्जना गरिने छ ।’

सुकुम्बासीका लागी आवास
उम्मेद्वार प्रचण्डले भूमिहीन सुकुम्बासीका लागी बहुतले आधुनिक आवास गृह निर्माण गर्ने योजना अगाडी सारेका छन् । उनले सार्वजनिक गरेको घोषणापत्र अनुसार पहिलो प्राथमिकताका साथ सुकुम्बासीहरु हाल बसोबास गरेकै क्षेत्र वा पायक पर्ने ठाउँमा त्यस्तो भवन निर्माण गरिने छ ।
प्रधानमन्त्री हुँदा उनले घोषणा गरेको कालिका नगरपालिकामा ‘औधोगिक क्षेत्र’ निर्मण गर्ने कुरालाई मुर्तरुप दिने उको अर्को योजना रहेको छ । उक्त औधोगिक क्षेत्रमा देशभित्र र बाहिरका उद्योगीहरुलाई व्यापक रुपमा आकर्षित बनाई आगामी पाँच वर्षभित्र औद्योगिक शहर निर्माण गरिने लक्ष्य रहेको बताईएको छ ।

त्यस्तै चितवनको उपयुक्त स्थानमा तिन नम्बर प्रदेशको तेल भण्डारीण स्थल निर्माण गर्दै ठोरी नाकालाई ब्यवस्थित बनाउने योजना पनी उनले आफ्नो घोषणापत्रमा प्रस्तुत गरेका छन् ।

बाँदरमुडेमा पार्क, निकुञ्जमा मेसजाली !
बाढी र बन्यजन्तुले बर्षेनी दुःख दिने चितवनको माडी क्षेत्रको समस्या समाधानका लागी गुणात्मक हल खोजिने प्रचण्डले बताएका छन् । ‘राष्ट्रिय निकुञ्ज चितवनवासीको गौरव भइरहँदा माडीबासीका लागि कतिपय सन्दर्भमा अभिशाप बनेको छ’ प्रचण्डले आफ्नो घोषणापत्रमा लेखेका छन्, ‘आगामी पाँच वर्षमा माडी र बाँकी चितवन जोड्ने गरी राष्ट्रिय निकुञ्जमा सुरुङ्गमार्ग वा फ्लाईओभर सडकमध्ये एक निर्माण गरिने छ ।’

रिउ खोलाको किनारमा निर्माण हुने भनिएको करिडोर निमार्ण गर्दै ४० किलोमिटर माडी रिङरोड निर्माण गरिने बताईएको छ । त्यस्तै माओवादी अध्यक्ष प्रचण्डले जनयुद्धका क्रममा भुलवस भएको बाँदरमुढे दुर्घटनामा दिवंगत भएकाहरुको चिरस्मरणमा पार्क निर्माण गर्ने घोषणा गरेका छ् । ‘राष्ट्रिय निकुञ्जका जङ्गली जनावरहरुका कारण यस क्षेत्रका जनताले सास्ती झेल्नु परिरहेको अवस्थालाई अन्त्य गर्नु आवश्यक छ’ प्रचण्डले सार्वजनिक गरेको घोषणा पत्रमा भनिएको छ, ‘निकुञ्जसँग जोडिएका बस्ती क्षेत्रमा पी।सी।सी। वालसहितको मेस जाली जडान गरिने छ ।’

कृषि शिक्षा र उत्पादनको केन्द्र
चितवनमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालय देशकै एक मात्र प्राविधिक विश्वविद्यालय हो । यसलाई आगामी दिनमा केन्द्रीय विश्वविद्यालयका रुपमा अघि बढाइने प्रचण्ड प्लान रहेको छ । त्यस्तै रामपुर कृषि क्याम्पसलाई हाल थोरै मात्रामा रहेको विद्यार्थी संख्यालाई बढाएर अहिलेको भन्दा दशौं गुणा बढी विद्यार्थीहरु पढ्न सक्ने सामथ्र्य विकास गरिने बताईएको छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय, सामुदायिक विद्यालय, त्रिविको आङ्गिक क्याम्पस वीरेन्द्र बहुमुखी क्याम्पसको स्तरीकरणका लागि विशेष पहल गरिने उल्लेख गर्दै प्रचण्डले आफ्नो घोषणापत्रमा भनेका छन्, ‘किसानलाई आधुनिकीकरण गर्न अति आवश्यक भइसकेको छ, तसर्थ जमिनको चक्लाबन्दी गरी सहकारीकरण वा अन्य माध्यमबाट ठूलो स्केलमा कृषि फर्मको विकास र विस्तार गरिने छ ।’

‘चितवनमा रहेका सप्तगण्डकी क्याम्पस, बालकुमारी कलेज, माडी कलेज र शहिद स्मृति कलेजजस्ता सामुदायिक कलेजसँगको सहकार्यमा चितवनमा एउटा पब्लिक विश्वविद्यालय स्थापना गरिने छ’ उनले आफ्नो घोषणा पत्रमा भनेका छन्, ‘ चितवन जिल्लाका कम्तिमा २५ प्रतिशत विद्यालयहरु नमूना विद्यालय बनाइने छ, साथै वडाहरुमा गरीब तथा न्यून आय भएका अभिभावकका बालबालिकाको शिक्षाका लागि तत्काल मन्टेश्वरी कक्षासहितको सामुदायिक विद्यालय स्थापना गरिने छ ।’

मेट्रो रेलदेखि अन्तर्राष्ट्रिय रंगशालासम्म !
नेकपा माओवादीका अध्यक्ष प्रचण्डले चितवनमा मेट्रो र मोनो रेलको सम्भाव्यता अध्ययन गरी निर्माण कार्यलाई अघि बढाइने देखी अन्तर्राष्ट्रिय रंगशाला निर्माण सम्मको कार्ययोजना सार्वजनिक गरेका छन् । ‘मेघौलीमा रहेको विमानस्थलको स्तरोन्नति गरी त्यसलाई सञ्चालनमा ल्याइने छ र भरतपुर–मेघौली सडक यातायातलाई २०/२५ मिनेटमा ओहोर–दोहर गर्नसक्ने ढङ्गले स्तरोन्नति गरिने छ ।’ उनले भनेका छन्, ‘नवलपुर खण्डसँग जोडेर समग्र पश्चिम चितवनको विकास गर्न नारायणी नदीमा ३ वटा थप पुल निर्माण गरिने छ ।’

उनले शारदानगरमा शारदानगरमा अन्तर्राष्ट्रियस्तरको खेलकूद रङ्गशाला निर्माण गर्ने योजनालाई प्राथमिकतामा राखेका छन् । ‘चितवनमा अन्तर्राष्ट्रियस्तरको मनोरञ्जन पार्क ९फनपार्क० निर्माण गरिने छ’ उनले आफ्नो घोषणपत्रमा भनेका छन्, ‘उक्त पार्कको नामाकरण शहीदहरुको नाममा राखिने छ, त्यस्तै बाँदरझुलाका जनताको भरपर्दो र वैज्ञानिक समाधान निकालिनेछ ।’

चितवनमा आमसञ्चार तथा सञ्चारकर्मीहरुको सर्वाङ्गण विकासका लागि ‘आमसञ्चार प्रतिष्ठान’को निर्माण गरिने लक्ष्य राखेका प्रचण्डले स्थानीय तथा सामुदायिक सञ्चारलाई समानुपातिक विज्ञापन, अनुदान तथा विज्ञापनका लागि सहज हुने नीतिगत व्यवस्था र कार्यान्वयनका लागि पहल गरिने बताएका छन् । चितवनलाई पहिलो पर्यटकिय गन्तब्यको रुपमा विकास गर्ने लक्ष्य राखेका प्रचण्डले देवघाट, मौलाकालिका क्षेत्रलाई धार्मिक पर्यटनको रुपमा विकास गर्नेगरी गुरुयोजना तयार गरिने बताएका छन् ।

मेडिकल राजधानी
चितवन जिल्ला केही वर्षयता मेडिकल राजधानीका रुपमा तीब्र विकास भईरहेको छ । देशकै स्वास्थ्य सेवाको प्रमुख केन्द्रका रुपमा यसलाई विकास गर्न विशेष योजनाको निर्माण गरी आवश्यक पहल गरिने योजना प्रचण्डले प्रस्तुत गरेका छन् ।

‘बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको स्तरोन्नति र सेवालाई व्यवस्थित बनाउने, भरतपुर अस्पताललाई विकास गरी मेडिकल कलेजको रुपमा निर्माण गर्ने योजना बनाइने छ’ उनले आफ्नो घोषणा पत्रमा भनेका छन्, ‘क्षयरोग, मलेरिया, डेंगु, एचआईभीलगायतका सङ्क्रामक रोगहरुविरुद्ध प्रभावकारी कदमका लागि केन्द्रीयस्तरमा विशेष कार्यक्रम, एचआइभी सङ्क्रमित एकल महिला तथा बालबालिकालाई सामाजिक सुरक्षा कार्यक्रममा समेटिने छ ।’

    रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । यहि सञ्चार गृह द्वारा सञ्चालित कर्णाली अनलाइन पनी आधिकारीक न्युज पोर्टल अनलाइन हो । हामीलाई फेसबुकमा तलका लिकंबाट फ्लो गर्नुहोला ।
    रारा सञ्चार अनलाइनः यहाँ
    कर्णाली अनलाइनः यहाँ

You May Also Like