चुनावले जन जनको हातमा पैसा

काठमाडौं: प्रदेशसभा र प्रतिनिधिसभाको पहिलो चरणको चुनाव आउन तीन दिन मात्र बाँकी रहँदा गाउँगाउँमा चहलपहल बढेको छ । काठमाडौंलगायत विभिन्न शहरमा बस्दै आएकाहरु समेत आफूनिकट दल र उम्मेदवारलाई सघाउन गाउँ फर्किएका छन् । मतदानस्थलमा पनि चुनावमा खटिएका कर्मचारी पुग्ने क्रममा छन् । चुनावी चहलपहलले तरकारी पसलेदेखि तारे होटलसम्म र खुद्रा व्यापारीदेखि कुखुरा पाल्नेसम्मको हातमा पैसा पुगेको छ :

सोलुखुम्बु सल्लेरीकी सूर्यकुमारी श्रेष्ठको होटल शनिबार हाट लाग्ने दिन मात्र चल्थ्यो । अहिले सातैदिन उत्तिकै चल्न थालेको छ । चुनावी प्रचार प्रसारका लागि हिँड्ने दलका कार्यकर्ता, चुनावी सुरक्षाका लागि खटिएका म्यादी प्रहरी र कर्मचारीको चापले होटलमा राम्रै कारोबार भएको श्रेष्ठले बताउनुभयो ।लमजुङ भोटे ओडारकी तरकारी पसले बीना देवको तरकारी पसलको कारोबार पहिले भन्दा दोब्बर भएको छ ।

चुनावको प्रचारप्रसार हुनुअघि दैनिक दुई/तीन हजारको रुपैयाँ व्यापार हुने उहाँको तरकारी पसलमा अहिले दैनिक दश हजार रुपैयाँसम्मको व्यापार हुन थालेको छ । लमजुङकै सुन्दरबजार ९ का होटल सञ्चालक नन्दजंग गुरुङको होटलमा पनि दैनिक कारोबार बृद्धि भएको छ । पहिले दैनिक ६/७ हजारको व्यापार हुने होटलमा अहिले १०/१२ हजार रुपैयाँको व्यापार हुने उहाँले बताउनुभयो ।

होटलमा दालभात, गेडागुडी, तरकारी, चिया, चिनीको खपत बढ्दा ती बस्तुको माग स्वभाविक रुपमा बढ्छ । होटल सन्चालकले ती सामान पसलेमार्फत आपूर्ति गर्ने भएकाले खाद्य पसलको कारोबार पनि बढेको छ । सोलुखुम्बु सल्लेरीका लोकेन्द्र कुमार केसी भन्नुहुन्छ ‘होटलमा बढेको कारोबारले खाद्यान्न पसले, तरकारी पसले, किसान तथा दुईटा कुखुरा पाल्नेको आम्दानी पनि बृद्धि हुन्छ नि !’

स्थानीय तहको चुनाव लगत्तै देश, प्रदेश तथा प्रतिनिधिसभाको चुनावमा होमिएकाले चालु आर्थिक वर्षको चार महिनामा विकास खर्च पनि हुन सकेको छैन, तर बजारमा भने पैसाको प्रवाह बढीरहेको छ । चुनावको बेला सरकारले छुट्याएको रकम बजारमा निष्काशन हुन थालेकाले सामान्य मानिसको हातमा पनि पैसा पुगेको अर्थविद डाक्टर चन्द्रमणि अधिकारीले बताउनुभयो । उहाँका अनुसार चुनावको समयमा औपचारिक क्षेत्रबाट मात्र नभई अनौपचारिक क्षेत्रबाट पनि त्यत्तिकै रकम प्रवाह हुने भएकाले यत्तिबेला सबैको हात हातमा पैसा पुग्छ ।

चुनावले व्यापार घाटा बढाउने
चुनावका कारण सबैको हातहातमा पैसा पुगे पनि यसले अर्को तर्फ व्यापार घाटा पनि बढाउने अर्थविद अधिकारीको विश्लेषण छ । चुनावको बेला खपत हुने सामान मात्र नभई यस्तो बेला दैनिक उपभोग्य बस्तु समेत छिमेकी देशबाट आयात गर्नुपर्ने भएकाले विदेशी मुद्रा बाहिरिने र फलतः देशले व्यापार घाटा व्यहोर्नुपर्ने डा. अधिकारी बताउनुहुन्छ । ‘हामीले नै फलाउन सक्ने तरकारी, पाल्न सक्ने कुखुरा र उब्जाउन सक्ने अन्न देशभित्रै तयार पार्न सकेको भए चुनावमा हुने खर्च हाम्रै देशभित्र रहन्थ्यो, अरु त अरु नेतालाई लगाउने फूलको माला समेत भारतबाट ल्याउनुपर्छ जसका कारण देशले व्यापार घाटा व्यहोर्नुपर्छ’ डा. अधिकारीले बताउनुभयो ।

    रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । यहि सञ्चार गृह द्वारा सञ्चालित कर्णाली अनलाइन पनी आधिकारीक न्युज पोर्टल अनलाइन हो । हामीलाई फेसबुकमा तलका लिकंबाट फ्लो गर्नुहोला ।
    रारा सञ्चार अनलाइनः यहाँ
    कर्णाली अनलाइनः यहाँ

You May Also Like