‘चिलगाडी’को पर्खाइमा कालिकोटबासी

कालिकोट: विना विभागीय मन्त्री महेन्द्रबहादुर शाहीलाई मतदाता रिझाउन हम्मेहम्मे परेको छ । कालिकोटका मतदाताले हालसम्म कुनै पनि उम्मेदवारलाई दोहो¥याएर जिताएका छैनन् । यसअघि संविधानसभा निर्वाचनमा विजयी भएका शाहीलाई यसपटक मतदातालाई आकर्षित गर्न त्यति सहज छैन । प्रदेशसभाका लागि वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादी नेता शाहीले मतदाता रिझाउन जिल्लामा चिलगाडी
(जहाज) ल्याइदिने मुख्य एजेण्डा बनाएका छन् । करिब ३१ वर्ष लगाएर निर्माण भएको कोटवाडास्थित सुनथराली विमानस्थल सञ्चालनमा छैन ।

आफ्नो क्षेत्रमा रहेको यही विमानस्थल सञ्चालन गर्दै जहाज उडाउने आश्वासन शाहीले मतदातालाई बाँड्दै हिँडेका छन् । एक वर्षअघि परीक्षण उडान सफल भए पनि यो विमानस्थल हाल सञ्चालनमा छैन । पञ्चायतकालमा नै मुख्य चुनावी एजेण्डा बनेको यो विमानस्थल चार दशकपछि पनि उम्मेदवारको मुख्य चुनावी नारा बनेको हो । विमानस्थल सञ्चालन नहुँदा मतदाताले सार्वजनिक रूपमै आक्रोश पोख्न थालेपछि शाहीले मात्र होइन, जिल्लाका सबै उम्मेदवारले जहाज उडाउने एजेण्डालाई पहिलो प्राथमिकतामा राखेका छन् ।

स्थानीय तहको मत परिणाम हेर्दा एमाले र माओवादीको वाम गठबन्धन जिल्लामा बलियो छ । तर पनि मतदाताले एकपटक मात्र परीक्षण गर्ने भएकाले हालसम्म जिल्लाबाट कसैले पनि दोहो¥याएर चुनाव जितेका छैनन् । त्यसकारण पनि दोहो¥याएर उम्मेदवार बनेका शाहीले आफ्नो पक्षमा मत पार्न जहाज उडाउने एजेण्डालाई पेचिलो बनाउँदै लगेका छन् । शाहीले मात्र होइन, त्यही क्षेत्रबाट प्रदेशसभाका कांग्रेस उम्मेदवार कालिबहादुर सहकारीको मुख्य चुनावी एजेण्डा पनि विमानस्थल नै बनेको छ ।

भौगोलिक रूपमा विकट र यातायातको पहुँच नभएका कारण यस क्षेत्रका बासिन्दा पैदल हिँड्न बाध्य छन् । वर्षौदेखि आँगनबाटै जहाज चढ्ने सपना बुनेका स्थानीय वासिन्दाको आकांक्षा बुझेका उम्मेदवार र दलले यसपटक कुनै पनि हालतमा जहाज उडाउने बाचा गरेका छन् । ‘अब भारी बोकेर पैदल हिँड्नुपर्ने छैन, हाम्रो आँगनबाटै जहाज उड्नेछन्’ प्रदेशसभा (ख) का उम्मेदवार महेन्द्रबहादुर शाही मतदाताको बीचमा पुग्दा भन्छन्, ‘अघिल्लो पटक जितेर संविधान दिएको छु, यसपटक जिताएर पठाउनुहोस् । वर्षौदेखि जहाज चढ्ने जिल्लाबासीको सपना पूरा गर्नेछु, अब सुनथराली विमानस्थलमा नियमित जहाज उड्नेछन् ।’ आफ्नो घोषणापत्र र मतदाताको बीचमा पुग्दा पनि विमानस्थल सञ्चालनको एजेण्डालाई मुख्य प्राथमिकता दिएको एमाले कालिकोटका अध्यक्ष नगिन्द्र शाहीले बताए ।

उनले भने, ‘मतदाताको मुख्य माग नै विमानस्थल सञ्चालन रहेको छ, त्यही माग पूरा गर्ने वाचासहित वाम गठबन्धन मतदाताको बीचमा पुगेको छ ।’ कांग्रेसबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका भुपेन्द्रजंग शाहीले पनि विमानस्थल सञ्चालनको मुद्दालाई आफ्नो एजेण्डामा समेटेका छन् । मतदाताको बीचमा पुग्दा उनले पनि विमानस्थल सञ्चालन गर्ने वाचा गरिरहेका छन् ।

जिल्लाबाट माओवादीका दुर्गबहादुर रावतले वाम गठबन्धन र कांग्रेसका भुपेन्द्रजंग शाहीले प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका छन् । यस्तै प्रदेशसभाको (क) बाट एमालेका कुर्मराज शाहीले वाम गठबन्धन र कांग्रेसका टेकराज शाहीले उम्मेदवारी दिएका छन् । जिल्लामा मुख्य प्रतिस्पर्धा हुने आंकलन गरिएका वाम गठबन्धन र कांग्रेसका सबै उम्मेदवारहरू आफ्नो पक्षमा मतदातालाई आकर्षित गर्न व्यस्त छन् । यही मंसिर १० गते हुने निर्वाचनमा दल र तीनका उम्मेदवारबीच जिल्लाबासीको अधुरै रहेको चिलगाडी चढ्ने रहर पूरा गर्ने होडबाजी नै चलेको छ ।

सार्वजनिक सभा, भेला, घरदैलो र घोषणापत्रमा नै दलहरूले आफूलाई जिताए जिल्लामा जहाज ल्याइदिने मुख्य आश्वासन दिएका छन् । दलहरूले विमानस्थल सञ्चालनको एजेण्डालाई पेचिलो बनाए पनि मतदाता भने विश्वस्त देखिदैंनन् । पञ्चायतकालदेखि नै चुनावी नारा बन्ने गरेको यो विमानस्थल हालसम्म पनि सञ्चालनमा नआउँदा मतदाताहरूमा अविश्वास बढेको हो ।

‘पहिला पनि चिलगाडी ल्याउँछौं भन्थे, आजसम्म चढ्न पाएनौं’ स्थानीय हस्ता विष्टले भनिन्,‘धेरै नेताले जितेर गए, आजसम्म गाउँमा चिलगाडी नै आएनन् । पोहोर एकदिन मात्र आएको थियो, त्यसपछि हामीले देख्नै पाएनौं ।’ चुनावमा जित्न नेताहरूले भाषण मात्र गर्ने गरेको भन्दै उनले यसपाली विमानस्थल सञ्चालन गर्ने उम्मेदवारलाई नै भोट दिने बताइन् ।

मान्मका व्यवसायी प्रेमबहादुर शाही भने अब विमानस्थल सञ्चालन हुनेमा आशावादी छन् । उनी भन्छन्, ‘अब अविश्वास गरेर पनि भएन, यसपाली जहाज उडाउने मुद्दा सबैको साझा बनेको छ । सायद अब नेताहरूले विमानस्थल सञ्चालन गर्लान्, उम्मेदवारले पनि भोट माग्दा यही वाचा गरेका छन् ।’ चार दशकदेखि निरन्तर चुनावी नारा बनेको कोटवाडा विमानस्थल सञ्चालनको एजेण्डालाई अब पुरा गर्नुपर्ने उनले बताए । करिब २६ करोड खर्चेर निर्माण सम्पन्न भएको यो विमानस्थलमा हालसम्म पनि नियमित उडान नहुँदा स्थानीय पैदल हिँड्न बाध्य छन् ।

खानेपानी माग्दै मान्म
जिल्ला सदरमुकाम मान्ममा मुख्य चुनावी एजेण्डाका रूपमा खानेपानीको बनेको छ । करिब २० हजार जनसंख्या रहेको खाँडाचक्र नगरपालिकाले खानेपानीको अभाव झेल्दै आएको छ । खडेरीमा खानेपानीको हाहाकार नै हुने नगरभित्र यसपटक मुख्य चुनावी एजेण्डाका रूपमा खानेपानीको मुद्दा बनेको हो ।
हाल करिब पाँच किलोमिटर टाढाबाट ल्याइएको एकमात्र खानेपानी आयोजनाको पानी पर्याप्त छैन ।

बढ्दो जनसंख्या र खडेरीमा मुहान सुक्दा सदरमुकामका वासिन्दा सास्ती बेहोर्न बाध्य छन् । निर्वाचनको दिन नजिकिदैं गर्दा यहाँका मतदाताले आफूकहाँ आउने सबै उम्मेदवारसँग खानेपानी माग्ने गरेका छन् । तर दल र तीनका उम्मेदवारसँग सदरमुकाममा खानेपानी व्यवस्थापन’bout ठोस योजना भने छैन ।
अधिकांश मतदाताले खानेपानीको मुद्दा उठाउन थालेपछि उम्मेदवारले भाषणमा यही मुद्दा समेट्न थालेका छन् । सदरमुकाम मान्ममा व्यवसाय गर्दै आएका रत्नबहादुर शाहीले भने, ‘मान्ममा मुख्य समस्या भनेकै खानेपानी हो, सँधै अभावका कारण व्यवासाय गर्नसमेत मुस्किल हुँदै आएको छ ।

यहाँको हित चाहाने उम्मेदवारले पहिला खानेपानी समस्या समाधानको योजना ल्याउनुपर्छ, जसले सदरमुकामवासीलाई खानेपानीको हाहाकारबाट उम्काउने योजना ल्याउँछ त्यसैलाई भोट दिने हो ।’ विगत केही वर्षयता सदरमुकामको जनसंख्या बढ्दै आएको र पानीको स्रोत घटेका कारण दैनिक रूपमा खानेपानीको समस्या झेल्दै आएको उनले बताए ।

    रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । यहि सञ्चार गृह द्वारा सञ्चालित कर्णाली अनलाइन पनी आधिकारीक न्युज पोर्टल अनलाइन हो । हामीलाई फेसबुकमा तलका लिकंबाट फ्लो गर्नुहोला ।
    रारा सञ्चार अनलाइनः यहाँ
    कर्णाली अनलाइनः यहाँ

You May Also Like