आज राति १२ बजेदेखि मौन अवधि सुरु

काठमाडौं: आइतवार पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । दल, उम्मेदवार, कार्यकर्ता, मतदाता सञ्चारमाध्यम लगायत कुनै व्यक्ति या संस्थाहरुले गएराति १२ बजेदेखि चुनाव प्रचारप्रसारसँग सम्बन्धित कुनै पनि क्रियाकलाप गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता नवराज ढकालका अनुसार मौन अवधिमा एसएमएस, फेसबुक, ट्वीटर, भाइवरजस्ता सामाजिक सञ्जालमार्फत पनि भोट माग्न र चुनाबको प्रचारप्रसार गर्न पाइने छैन । मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखिएका चुनाव प्रचारप्रसारका सामग्री हटाउनुपर्नेछ ।

मौन अवधि सुरु भएपछि भोट माग्ने हिसावले कुनै पनि क्रियाकलाप गरेमा १ लाख रुपैयाँ जरिवानादेखि उम्मेदवारी खारेजसम्मको कारबाही हुन सक्ने आयोगले जनाएको छ । चुनाव प्रचारको अन्तिम दिन भएकाले आज बिहानैदेखि उम्मेदवारहरु घरदैलो तथा सभामा भोट माग्न व्यस्त छन् ।

You May Also Like