कर्णालीबाट ६ नम्बर प्रदेशमा मुख्यमन्त्री दाबेदार को-को ?

जुम्ला: नेपालको राजनीतिक इतिहासमा कर्णालीको केन्द्रीयमा प्रभाव कम भइरहेको समयमा भने संघीय प्रादेशिक सरकार प्रमुखका लागि कर्णालीका तीन नेता अहिले मुख्यमन्त्रीको उम्मेदवारको दौडमा होमिरहेका छन् । हुम्लाका कांग्रेस नेता जीवनबहादुर शाही मुख्यमन्त्रीको उम्मेदवारसहित हुम्ला निर्वाचन क्षेत्र प्रदेशसभा (ख) बाट प्रदेशसभाको सांसदको उम्मेदवार रहेका छन् । उहाँलाई कांग्रेसले औपचारिक रुपमा ६ नं प्रदेशको मुख्यमन्त्रीको उम्मेदवार निर्णय गरिसकेको छ ।

जुम्लाबाट माओवादीका नेता नरेश भण्डारी प्रदेश क्षेत्र (क) बाट प्रदेशसभाका सांसद उम्मेदवार बनेका छन् । यसैगरी कालिकोटबाट माओवादीकै नेता महेन्द्रबहादुर शाही प्रदेशसभा सांसद उम्मेदवार बनेका छन् । जीवनबहादुर शाहीलाई कांग्रेसले मुख्यमन्त्रीको उम्मेदवारको रुपमा निर्णय नै गरिसकेको हुँदा कांग्रेसमा अब शाही यदी हुम्लाको प्रदेशसभा (ख) बाट विजय भएपछि कांग्रेसका तर्फबाट ६ नं प्रदेशको मुख्यमन्त्रीको एकमात्र उम्मेदवार हुन् ।

यता माओवादीका भण्डारी र शाहीले भने आ–आफ्नो तर्फबाट ६ नं. प्रदेशको मुख्यमन्त्रीको दाबी गर्दै आइरहेका छन्, तर माओवादीले ६ नं प्रदेशको मुख्यमन्त्रीको उम्मेदवार निर्णय नगरिसकेको हुँदाको उम्मेदवार हुने भन्ने विषय अन्यौल भएको छ । एकातिर वाम गठबन्धनको भागमा माओवादीले ६ नं. प्रदेश दाबी गर्दै आए पनि एमाले वा माओवादी कसले पाउने त्यो पनि निर्णय भईसकेको छैन ।

माओवादीको दाबी अनुसार ६ नं. प्रदेश वाम गठबन्धनको माओवादी केन्द्रको भागमा पर्‍यो भने र चुनाव जितेमा कर्णालीका जुम्ला, कालिकोट, मुगु, हुम्ला र डोल्पाबाट सम्भावित मुख्य मन्त्रीको चर्चामा आएका शाही र भण्डारी मध्यै एकजना पर्न सक्छन् । वाम गठबन्धनका उम्मेदवारलाई मुख्यमन्त्रीको रेसमा भने केही सजिलो देखिन्छ । किनकी स्थानीय तहको चुनावमा एमाले माओवादीको मत ६ नं. प्रदेशमा दोब्बर छ ।

जीवनबहादुर शाही (हुम्ला)
हुम्ला नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले (५२ वर्ष) ०४६ सालदेखि विद्यार्थी राजनीतिबाट राजनीति सुरु गर्नुभएको हो । कांग्रेस केन्द्रीय सदस्य समेत रहेका शाही २०७३ भदौ १० गते संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री र २०७३ फागुनमा खानेपानी तथा सरसफाई मन्त्री समेत भइसक्नुभएको छ ।

कांग्रेस विभाजित हुँदा पनि सुरुदेखि नै नेता शाही र जुम्लाका पूर्व पार्टी सभापति स्वर्गिय मानव सेजुवाल देउवाको पक्षमा निरन्तर लाग्नुभयो । मानव सेजुवालको अर्घाखाँचीको जहाज दुर्घटनामा परि निधन भएपछि कर्णालीमा कांग्रेसमा जीवन शाहीले नै नेपाली कांग्रेसको नेतृत्व गर्दै आइरहेका छन् ।
हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नं ५ मा जन्मेका शाहीले अमेरिककाको क्याटलोसिटीमा पाइलट पढे पनि आफूलाई राजनीति मार्फत नै सामाजिक सेवा गर्दे उद्देश्यले नोकरी नगरी राजनीति गर्दै आएको बताउनुभयो ।

उहाँले ५ वटा “ब” को सिद्धान्तमा कर्णालीको विकासमा ध्यानदिनुपर्ने बताउँदै आएका छन् । बाटो, बिजुली, वन, विचार र बजारको विकास भयो भने कर्णालीको विकास हुने बताउनुभयो । उहाँले अबको विकास प्रदेशबाटै हुने भएकाले प्रदेशको उम्मेदवार बनेको बताउनुभयो ।

नरेश भण्डारी (जुम्ला)
जुम्ला गोठिचौर गाउँपालिका ५ कुम्डी गाँउमा जन्मिएका भण्डारीको राजनीतिक यात्रा २०५१ सालबाट तत्कालीन नेकपा एकता केन्द्र निकट अखिल क्रान्तिकारीबाट सुरु भएको थियो । पुल्चोकमा इन्जिनियर अध्ययन गर्न गएका भण्डारी भने नोकरी छोडेर भूमिगत भई माओवादीले सुरु गरेको सशस्त्र युद्धमा लाग्नुभएको थियो ।

पार्टीका जिल्ला ईन्चार्ज हुँदै विभिन्न जिम्मेवारीमा रहेका भण्डारी २०६४ सालमा संविधानसभाको पहिलो चुनावमा निर्वाचित हुनुभयो । उहाँ अहिले नेकपा माओवादी केन्द्रका पोलिव्युरो सदस्य तथा नेपाल राष्ट्रिय बुद्धिजिबी संगठनका केन्द्रीय अध्यक्ष पनि हुनुहुन्छ । कर्णाली विविध पक्ष समेटिएको चाँदीको घेरा नाम पुस्तकका लेखक समेत रहेका उहाँ पश्चिम नेपालको स्वास्थ्यको धरोहर मानिने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका जन्मदाता मानिनुहुन्छ ।

उहाँ संविधानसभाको चुनावमा निर्वाचित भइसकेपछि कर्णालीको शैक्षिक क्षेत्रमा स्तरउन्नती भएको थियो । ऐन मार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना, जुम्ला क्याम्पसलाई स्नाकोत्तर अपग्रेड, कर्णाली प्राविधिक शिक्षालाई डिप्लोमा अपग्रेड, चन्दननाथ विज्ञान विषय सुरुवात, हिमा बहुमुखी क्याम्पसको स्थापना लगाएर विभिन्न कामहरु गरेकाले जुम्ली नागरिकका लागि उहाँ लोकप्रिय नेता मानिनुहुन्छ ।

स्नातकसम्म अध्ययन गरेका भण्डारीले देशको संघीय संरचनामा अब प्रदेशको विकास र समृद्धि महत्वपूर्ण भएको भन्दै आफू सुरुदेखि नै मुख्यमन्त्रीको उम्मेदवार हुनेगरी प्रदेशसभाको उम्मेदवार बनाएको दाबी गर्दै आएका छन् ।

महेन्द्रबहादुर शाही (कालिकोट)
२०३३ साल माघ १५ गते कालिकोट जिल्लाको पचालझरना गाउँपालिका (साबिकको नानिकोट गाविस वडा नं ८) मा मध्यमवर्गीय परिवारमा जन्मिएका महेन्द्रबहादुर शाही पनि मुख्यमन्त्रीको उम्मेदवार भन्दै प्रदेशसभाको उम्मेदवार बन्नुभएको छ । २०५२ सालको सशस्त्र जनयुद्धको सुरुदेखि नै भूमिगत भएका शाहीले एसएलसीसम्म अध्ययन गर्नुभएको छ ।

शाही नेकपा माओवादी केन्द्रका पोलीटव्युरो सदस्य र भेरी, कर्णाली राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष हुनुहुन्छ । वि.स. २०४८ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिई २०५२ सालमा जब माओवादीले जनयुद्धको सुरुवात जनयुद्धमा सहभागी हुनुभयो ।

२०५२ सालबाटै जनयुद्धमा होमिएका उहाँले पार्टीको संगठन र छापामारमा समानान्तर भूमिका निर्वाह गर्नुभएको थियो । कालिकोट जिल्लाको सैन्य इन्चार्ज भएर जिल्लामा जनमुक्ति सेनाको नेतृत्व गर्दै उहाँ युद्धमोर्चामा आफै सहभागी हुनुहुन्थ्यो । उहाँले छोटो समयमा उर्जा क्षेत्रमा कर्णालीमा राष्ट्रिय प्रशारण लाईन सुरुवातदेखि केही काम गरेको देखिन्छ । ‘जलस्रोतको उपयोग गराैँ, राष्ट्रलाई समृद्ध बनाऔं’ भन्ने नाराका साथ ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री भएको दुई हप्ताभित्र नै ३४ बुँदे श्वेतपत्र सार्वजनिक गर्नुभएको थियो ।

कालिकोटबाट २०७० सालको चुनावमा विजयी भएका सांसद महेन्द्रबहादुर शाही अहिले बिना विभागीय मन्त्री हुनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता गराएर प्रस्तावकको रुपमा निकै चर्चामा रहेका उहाँ माओवादी केन्द्रभित्र इमान्दार नेताको रुपमा चिनिनुहुन्छ ।

तत्कालीन नेकपा माओवादीले संचालन गरेको जनयुद्धमा सहभागी शाहीको कालिकोटमा युद्धकालमा माओवादी संगठन बिस्तारमा ठूलो योगदान रहेको छ । उहाँ युद्धकालमा विभिन्न लडाईको मोर्चामा कमाण्डरको भूमिका निर्वाह गरेर सफल पनि हुनुभएको छ ।

रारा सञ्चार अनलाइन प्रालीद्धारा सञ्चालित रारा सञ्चार अनलाइनलाई फेसबुकमा यहाँ र अर्को अनलाई कर्णाली अनलाइनलाई फेसबुकमा यहाँबाट भेट्न सकिन्छ । हाम्रो फेसबुक पेज लाइक गरि हामी सगँ नजिक हुनुहुनेछ भन्ने बिश्वास हामीले लिएका छौ ।

You May Also Like