कालिकोटमा सशस्त्र द्ववन्द्धमा विस्थापित परिवारले अझै राहत पाएनन

रारा सञ्चार अनलाईनः सशस्त्र द्वन्द्वको समयमा तत्कालीन विद्रोही माओवादी पक्षबाट विस्थापित भएका परिवारले अहिलेसम्म पनि राहत नपाएको गुनासो गरेका छन् । शान्ति तथा पुनःनिर्माण मन्त्रालयबाट जिल्ला प्रशासन कार्यालय कालिकोटमार्फत मृत्यु, बेपत्ता, विस्थापित र अपहरण भएका पीडित तथा परिवारका नाममा राहत रकम निकासा भई आएपनि १ सय ६७ विस्थापित परिवारको नाम छुटेपछि उनीहरूले यस्तो गुनासो गरेका हुन् ।

खाडाचक्र नपा ५ का ६० वर्षीय दुर्गाबहादुर शाहीले तत्कालीन माओवादीका कारण गाउँमा बस्न नसकेपछि ०५७ सालमा पाँच जनाको परिवार सदरमुकाम मान्म बजारमा विस्थापित हुनुभएको थियो । शान्ति स्थापनापछि गाउँ फर्कनुभएका उहाँका परिवारको नाम विस्थापितको तथ्याङ्कमा छैन । यस्तै समस्या खाडाचक्र नगरपालिका ८ का ५५ वर्षीय रुपलाल मल्लको पनि रहेको छ ।

तत्कालीन माओवादीका कारण गाउँमा बस्न नसकेपछि चार जनाको उहाँको परिवार ०५६ सालमा सदरमुकाम मान्म बजारमा विस्थापित भएको थियो । शान्ति स्थापना भएपछि गाउँ फर्केको आफ्नो परिवारको नाम विस्थापितको तथ्याङ्कमा नहुँदा राहत नपाएको उहाँले गुनासो गर्नुभयो ।

कालिकोटका २ सय ५२ जना विस्थापित परिवारमध्ये नाम सूचीसहित आएका १ सय २८ परिवारका १ हजार १ सय ५८ जनालाई २५ हजार रुपियाँका दरले दिने भनिए पनि रकम अभावका कारण मन्त्रालयबाट विस्थापितका नाममा आएको २ करोड २६ लाख रुपैंया दामासाहीका दरले वितरण भएको छ । स्थानीय शान्ति समितिका सचिव खेमबहादुर रोकायले राहत रकम आएपनि अझै सिफारिस गरेका पीडितहरूको राहत आउन बाँकी रहेको जानकारी दिनुभयो ।

You May Also Like