नेपालले आतङ्कवादविरुद्ध सात कानुन बनाउने

गमगढीः गृहमन्त्री जनार्दन शर्माले प्रजातन्त्र र कानुनी शासनको मुख्य बाधक भ्रष्टाचार भएको बताउनुभएको छ । श्रीलङ्काको कोलम्बोमा आयोजित दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्रहरुको गृहमन्त्रीस्तरीय आठौँ बैठकलाई बिहीबार सम्बोधन गर्दै गृहमन्त्री शर्माले भ्रष्टाचार बढ्दै जाँदा राजनीति, सम्बन्धित संस्था र नेतृत्वमाथि समेत जनताको विश्वास गुम्ने बताउनुभएको उहाँको सचिवालयले जनाएको छ ।

उहाँले आतङ्कवाद तथा आपराधिक क्रियाकलापविरुद्ध विश्वभरबाट उच्चतम प्रयास चालिए पनि त्यस्ता समस्याको समाधानमा कठिनाइ उत्पन्न भइरहेको टिप्पणी गर्नुभयो । आतङ्कवादविरुद्ध नेपालले महत्वपूर्ण सात कानुन बनाउन लागेको जानकारी मन्त्री शर्माले बैठकमा दिनुभयो ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयलाई सम्बोधन गर्न पुनरवलोकन समिति समेत गठन भएको बताउँदै उहाँले अन्तर्राष्ट्रिय मापदण्डअनुसार काम अगाडि बढेको जानकारी दिनुभयो । अहिलेको विकास र समृद्धिको दिशामा विद्युतीय अपराध ठूलो चुनौती बनिरहेको गृहमन्त्री शर्माको भनाइ छ । दुईदिने कार्यक्रममा सहभागी भई गृहमन्त्री शर्मा, मन्त्रालयका सचिव लोकदर्शन रेग्मी र प्रवक्ता दीपक काफ्ले शुक्रबार स्वदेश फर्किने कार्यक्रम छ । रासस

You May Also Like