मुगुको नाथर्पुमा कामै नगरी १२ लाख कहाँ गायब भयो ?

गमगढीः रारा सञ्चार अनलाईन । चालु आर्थिक वर्ष २०७३ । ७४ सकिन जम्मा अव चार दिन बाँकि रहे पनि जिल्लाका विभिन्न क्षेत्रमा भने कामै नगरि बजेट खर्च भएको छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँ पालिकाको वडा नम्बर १ र २ साविकको नार्थपु गाविसमा कामै नगरि १२ लाख खर्च गरिएको पाईएको छ ।

सुरुमा स्थानीय राजनितीक दलले जनज्योति उच्च माध्यामिक विद्यालय रहेको ठाउँ कृषि विषयको पठन पाठन गर्ने भन्दै १२ लाख रकम विनियोजन गरेका र अहिलेसम्म सिटिईभिटीबाट अनुमति ल्याउन नसके पछि सो रकम मिलेमतोमा विकास नै नगरि खर्च गरिएको हो ।

१२ लाख मध्य तिन लाख तत्कालिन गाविस सचिव मणिचन्द्र कार्कीले खर्च गरिसकेका र बाँकि रहेको ९ लाख रुपैयाँलाई बाँडफाँड गरिएको छ । दुई लाख ७५ हजार का दुईवटा गोरेटो बाटो निर्माण गर्ने र तिन लाख पचास हजारमा विद्यालयमा फर्निचर व्यवस्था गर्ने भने पनि नत बाटो बनाईएको छ नत विद्यालयमा फनिर्चर नै व्यवस्था गरिएको छ ।

बजेट बाँडफाँड गरिएको सुनेको र अहिले काम सुरु हुन थालेको तथा तिन लाख रकम गाउँ परिषद गर्नु पहिले नै स्थानीय स्तरमा काँग्रेस , एमाले र माओवादी केन्द्रले बाँडेर खाएको वडा नम्बर २ का स्थानीयवासी बास्तोला शाहीले बताए । विद्यालयमा फलामका बेन्च डेस्क बनाउन गाउँमा सम्भव नभएकाले सदरमुकामबाट बनाएर लैजाने तयारी छ भन्ने मात्र आफुले सुनेको शाहीले बताए ।

काम सम्पन्न भए पछि मात्र भुक्तानी दिने गरि उपभोक्ता समितिको खातामा रकम पठाईएको , वडाका अध्यक्षको रोहबरमा मात्र काम सम्पन्न भए पछि भुक्तानी दिईने वडा सचिव तिलक आचार्यले जानकारी दिए । त्यस्तै तिन गाविसलाई अलगै गाउँ पालिकाको माग गर्दै कार्तिकको अन्तिम साता देखि आन्दोलन गरेका साविकका धैनकोट, कालै र रारा गाविसका राजनितीक दलका अगुवाहरुले तिन गाविसबाट १५ लाख रकम खर्च गरेको पाईएको छ ।

गाविस देखि आन्दोलनका लागि सदरमुकाम आएका उनिहरुले तिनवटै गाविसमा गोरेटो बाटो निर्माणका लागि उपभोक्ता समिति गठन गरि रकम समितिको खातामा हालेर आन्दोलनमा खर्च गरेका छन भने तोकिएका गोरेटा बाटा निर्माण हुन भने सकेका छैनन ।

कच्चे देखि ग्याम भन्ने स्थानसम्म गोरेटो बाटो निर्माणका लागि पेश्की स्वरुप ५ लाख पचास हजार उपभोक्ता समितिले लिएको देखिए पनि उपभोक्ता समितिका मान्छेलाई पेश्की फरफारक गर्न धेरै ताकेता गरे पनि रकम आफुले नचलाई आन्दोलनकारीले खर्च गरेकाले आफुलाई कुनै जानकारी नभएको जवाफ दिने गरेको रारा गाविसकी सचिव पार्वती उपाध्यायले जानकारी दिईन ।

धेरै पटक पेश्की फछर्यौट गर्न ताकेता गरे पनि स्थानीयवासीले वेवास्ता गर्दै आईरहेको उनले बताईन । कालै र धैनमा पनि गोरेटो बाटोका लागि उपभोक्ता समिति गठन गरेर कामै नगरि पाँच पाँच लाख आन्दोलनमा खर्च गरिएको छ ।

You May Also Like