‘साहुको कुटाइले मर्ने भएँ’ भनेर भ्वाइस म्यासेज पठाउने चेलीको उद्दार कसले गर्ने

‘तपाईं त मेरो जेठाजुको छोरा जस्तै लाग्यो तपार्इंको घर कहाँ होला ?’ मेरो फेसबुकमा अपरिचित व्यक्तिको भ्वाइस म्यासेज आयो ।  उनी मेरो फेसबुकमा साथी पनि थिइनन । नचिनेको मान्छेको यस्तो म्यासेजले छक्क परें । प्रोफाइल खोलेर हेरे । प्रोफाइल फोटोमा फूलको तस्बिर राखिएको थियो । नाम पनि अर्कै लाग्ने । नेपालीले राख्ने जस्तो नाम थिएन ।

साथीको लिष्ट हेरें । मेरा गाउँले साथीहरु पनि थिए । आफन्तै पो हो कि जस्तो लाग्यो । मैले अफ्नो ’boutमा नेपालीमा लेखेर पठाए । उनले बुझिन कि बुझिनन मैंले पत्तो पाइन ।  उनको भ्वाइस म्यासेज दिनहुँ आइरहन्थ्यो । भ्वाइस म्यासेजमा उनले आफ्नो परिचय दिइन् । ‘मेरो घर भेरी अञ्चलको बाँके जिल्लामा हो । मेरा चार सन्तान छन् । दुई छोरीको विहे भैसक्यो । छोराहरु सानै छन् । मेरो घरको आर्थिक अवस्था राम्रो छैन् । गरिखाने खेतीपाती पनि छैन् । मेलापात र अधियाँ गरेरै दैनिकी चलाउँथे ।’

बाध्यतामा परेकी मलाई एकजनाले विदेशमा काम लगाइ दिन्छु, कमाइ पनि राम्रो हुन्छ भनेर सुनाए । खानलाउनै धौं धौै गरेर नेपालमा बस्नु भन्दा त बरु दुईचार पैसा कमाइ पनि हुन्छ । यस्तै सोच आयो ।  दलालले युएईमा १२ सय दिर्हाम मासिक तलव आउने काम लगाइ दिन्छु भनेर सुनाए । नेपाली ३० हजार रुपैयाँ भन्दा बढी कमाई हुने भएपछि मैले पनि हुन्छ भनेर जवाफ दिएँ । नेपालबाट युएई दुवई आएँ । विमानस्थलबाट एकजना नेपालीले मलाई श्रीलंकनकोमा लगेर छाडिदिए ।

१२ सय दिर्हाम भनेपनि उसले मलाई ८ सय दिर्हाममा काम लगायो । काम गर्न साह्रै दुःख छ । साहुले मनपरी व्यवहार गर्छन् । काम गर्न सक्दिन भन्दा पनि कुटेर काममा जबरजस्ती लगाउँछन । जस्तो काम पनि गर्न पर्छ । केही बोले कुटेर उठ्न नसक्ने बनाउँछन् । मेरो बुढो शरीर साहुको कुटाइले धुलो भइसक्यो । कुट्दा कुट्दै मर्छु कि जस्तो लाग्छ ।

लौ न दाइ मलाई बचाउनुस्, रातभरी विरामी साहुनीलाई स्याहार्नु पर्छ । दिनभरी घरको काम, बालबच्चाको हेरचाह गर्दै बित्छ । तलव पनि ६ महिनाको एक पटक मात्र दिन्छ । साना बालबच्चा छाडेर आएकी म आफै मर्ने भएँ । कसैसँग कुरा गरेको थाहा पाए मार्छन कुटेर । मलाई बचाउनुस् । म के गरौं दाइ । मेरो भिसा अवधि पनि सकिन लागेको छ, पुलिसले समाएर जेल पो हाल्ने हो कि । उनको म्यासेज आइरह्यो । भ्वाइस म्यासेज मात्र आउने भएकाले मलाइ लाग्यो, उनी नेपाली लेख्न, र पढ्न जान्दिनन् ।

रमजान पछि नेपाल पठाउछु भनेको छ । पठाएन भने मलाई तपाईंले यो नर्कबाट निकाल्नु है दाइ । म आँखा राम्रोसँग देख्दिन । उनी रोए झैं लाग्यो । अगाडि थपिन् ‘म नेपाल फर्किन चाहन्छु, छोराछोरीको मुख हेर्न मन छ ।’ मैले तपाईंको नाम, नम्बर र ठेगाना दिनुन, म सक्दो सहयोग गर्छु भनेर म्यासेज त गरे तर उनले म्यासेज सुन्न नजानेर हो कि त्यसको जवाफ पठाएकी छैनन् ।

उनको हाल कस्तो होला ? मेरो मनमा यही कुरा खेलिरहन्छ । उनको म्यासेजले मलाईं साह्रै दुःखी बनाएको छ । आफ्ना फाईदाका लागि यसरी आफ्नै दिदीबहिनी बच्नेलाई के भनौं । नेपालबाट अवैधानिक बाटो प्रयोग गरेर आएका उनी जस्तै धेरै नेपाली दिदीबहिनीको बिजोग छ परदेशमा । युएईमा नेपाली महिलाहरुको माग धेरै छ । घरेलु कामदेखि कम्पनीहरुमा पनि नेपाली महिलाहरुलाई देख्न सकिन्छ । तर दलालले वैधानिक रुपमा नभई आफ्ना फाइदाका लागि नेपाली दिदीबहिनीलाई बेचिदिएका छन् ।

युएईको अजमान, बरदुवई, सारजाह र अहिले रसअलखेमामा महिलाहरु राख्ने र कतार, कुवेत साउदी अरब लगायतका देशबाट कामदार खोज्दै आउने स्थानीय रोजगारदातालाई बेच्ने गरेको समस्यामा परेका धेरै महिलाले भोगेका दुःखले पुष्टि गरिसकेको छ ।

You May Also Like

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ