आपतमा परेका परदेशीको सहयोगी बन्दा …

सानैदेखिको रहर थियो पीडामा परेकालाई सहयोग गर्ने । प्रवासी नेपाली समन्वय समिती (पिएनसिसी)मा काम गर्दा मेरो त्यो इच्छा पनि पूरा भयो । काम गर्न थालेको केही समयमै मलेसियामा घाइते भएर आएका पीडितको परिवारसँग काम गरेको थिएँ ।  पीडितको आर्थिक अवस्था देख्दा मलाई एकदमै नराम्रो लाग्यो । उनको मात्र हैन वैदेशिक रोजगारीमा गएका धेरै नेपालीको यस्तै अवस्था छ ।

त्यसको केही समयपछि साउदीमा मृत्यु भएका दाइको शव नेपाल ल्याउन भर्खर १६ वर्ष लागेका भाइले गरेको दुःख देखें । शव नेपाल आएपछि पनि फेरि साउदी नै फर्काइएको थियो । शव फिर्ता गर्न एयरलाइन्सको कार्यालयमा निवेदन दिन गएको थिएँ ।  म कानुनको विद्यार्थी । कानुन विषयमा सिकेका केही कुराको प्रयोग गर्न सकिन । तर यो क्षेत्र मेरा लागि सिक्ने र बुझ्ने अवसर बन्यो ।

काम गर्ने क्रममा आफन्त गुमाएका परिवारका आँशु देखें । कहिले तिनै आँशुका साछि बनें । पिनसिसी मेरो सिकाइको ठूलो स्थल बन्यो । जहाँ मैंले जीवन चिन्न पाएँ ।  कार्यालयको टिममा म सहित अरु सहकर्मी पनि महिला मात्रै थिए । मैंले साउदी र कुवेतमा समस्यामा परेको कामदारलाई सहयोग गर्ने जिम्मेवारी पाएको थिएँ । सुरुवातमा विदेशमा रहेका नेपाली दूतावासले राम्रो सहयोग नगर्दा काम गर्न अलि गाह्रो भएको थियो । त्यसबेला तत्कालिन श्रम सहचारी हरिशचन्द्र घिमिरे कार्यकाल सकेर नेपाल फर्कनु भएको थियो ।

कुवेतमा त श्रम सहचारी समेत थिएनन् । श्रम सहचारी नियुक्ति भएपछि भने कामदारको उद्दार कार्यका लागि धेरै सहयोग पाएँ । त्यसले काम गर्न हौसला मिल्यो । दिनदिनै समस्यामा परेका कामदारको परिवारसँग सम्पर्क हुन्थ्यो ।  सहयोगका लागि सम्बन्धित निकायहरुसँग छलफल हुन्थ्यो । एकदिन नेपाल दूतावासको सहयोगमा कुवेतमा लामो समयदेखि सम्पर्कविहिन भएका एक महिला कामदारसँग सम्पर्क भयो । मसँग कुरा गर्दा उनी निकै खुसी थिइन् । पहिलो मालिकले धेरै यातना दिने र काम गरे वापतको पैसा नदिएका कारण अर्को घरमा काम गर्न थालेकी थिइन् । उनलाई नेपाल फर्काउन पाउँदा खुसी लाग्यो । उनी जस्ता धेरै कामदारको समस्या देखें ।

समाधानका लागि सहयोग पनि गरें । उनले नेपाल फर्काउन सहयोग गरेकोमा धन्यवाद् दिइन्, उनको धन्यवाद दिने तरिका फरक थियो । मेरो मन छोयो, जब उनले मेरो छोराछोरी काखमा ल्याइदिएकोमा धन्यवाद भनिन् । त्यो घट्नाको केही समय अघि साउदीमा धेरै कम्पनी बन्द भए । कम्पनीमा काम गर्ने धेरै नेपाली कामदार विचल्लिमा परे । कम्पनीसँग नेपाली कामदारको ’boutमा बुझ्नका लागि समन्वय गरें । कम्पनीले कामदारलाई अर्कै कम्पनीमा सारेको बतायो ।

तर कम्पनीले नेपालीलाई पासपोर्ट र आवश्यक कागजपत्र नदिएकाले नेपाली कामदार अवैधानिक भएका थिए । निकै प्रयास गरेपछि उनीहरुलाई नेपाल फर्काउन सफल भयौं ।   त्यो मेरा लागि खुसीको कुरा थियो । तर दुःखको कुरा के थियो भने त्यही कम्पनीको अरु शाखामा केही नेपाली कामदारको मृत्यु भयो । उनीहरुको शव नेपाल ल्याउन निकै कठिन भयो । वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड, नेपाली दूतावासको सहयोगमा शव नेपाल ल्याइयो । अब क्षतिपूर्तिको कुरा गरौं ।

वैधानिक कामदारले त कागजपत्र पूरा गरेपछि क्षतिपूर्ति पाउँथे । तर  अवैधानीक भएर विदेशमा काम गरेकाले कसरी पाउने ? अझ सम्वन्धित निकायको गल्तीको कारण कामदारका परिवारले झनै दुःख भोगिरहेका हुन्छन् । साउदी अरबमा कामदारको सरकारी विमा जेनेरल अर्गनाइजेसन अफ सोसियल इन्स्युरेन्समा गरेको हुन्छ । यो बीमा अनुसार बीमा गरेका कार्यस्थलमा दुर्घना तथा सवारी दुर्घनाका क्रममा मृत्यु भएका कामदारहरुको हकमा निजमा आश्रित रहेका परिवारहरुको नाममा क्षतिपूर्ति पाउँछन् । तर सम्वन्धित निकायसँग समन्वय गर्न अति नै गाह्रो छ ।

केही समयअघि साउदीमा भएको आर्थिक मन्दीका कारण नेपाली कामदारहरु समस्यामा परे । नेपाल फर्कन खोज्ने नेपालीको संख्या धेरै थियो । दूतावासलाई पनि सबै नेपालीलाई प्रकृया पु¥याउन कठीन भैरहेको थियो । तर पनि दूतावासले निरन्तर प्रयास गरिरहेको थियो ।  ठगीमा परेका कामदारहरुको सहयोगका लागि हामीले संयन्त्र बनाएका थियौं ।

उद्दारका लागि हामीले नेपाल दूतावास मात्र नभई रोजगारदाता संस्थाहरुसँग पनि समन्वय गयौं । कानूनी उपचारका लागि हामीले सिबिआईको सहयोग पनि लिएका थियौं । हराएका कामदारहरु तथा लामो समयसम्म सम्पर्कमा नरहेका कामदारहरुको खोजीका लागि हामीलाई विभिन्न मिडियाहरुको सहयोग मिलेको थियो ।  यति हुँदाको अवस्थामा पनि साच्चै पीडामा परेको अप्ठेरोमा परेकाको लागि केही गर्न नसक्दा एकदम दुःख लागेको छ ।

नेपालबाट औपचारिक र वैधानिक रुपमा वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि सहयोग गर्न तत्पर नेपाली दूतावास भारत तथा अन्य मुलुकका बाटो हुँदै वैदेशिक रोगारीमा जाने कामदारहरुको सहयोगका लागि आनाकानी गरेको पाएं । कारण थियो दूतावाससँग ती कामदारहरुको कुनै पनि जानकारी नहुनु । उद्दारका लागि विभिन्न संघ संस्था स्थापना भएका छन् । भारत जाने कामदारको जानकारी संकलन वा त्यसकोे लागि नेपाल सरकारसँग समन्वय गर्ने संघसंस्थाहरु सायदै देखिए ।

केहीलाई सहयोग गर्न सफल भएँ केहीलाई सहयोग गर्न सकिनँ । केही परिवारले धन्यवाद दिए भने केहीले गाली गरे । धेरै एजेन्ट तथा रोजगारदाता कम्पनीहरुले सहयोग गरेनन् भनेर नम्र भाषामा गाली पनि गरेँ । नेपाली दूतावासका कर्मचारीहरु मेरा सहयोगी रहे । तर पनि धेरै कामहरुलाई निरन्तरता दिन तथा केहीमा सुधार गर्न अति आवश्यक देखिन्छ ।  नेपाल सरकार, श्रम तथा रोजगार मन्त्रालय अन्र्तगत स्थापना भएको द्रुत उद्दार समितिको सक्रियता अति आवश्यक छ । यसको लागि विभिन्न सरकारी, राष्ट्रिय तथा स्थानीय निकायमा काम गर्ने निकायहरुसँगको समन्वय र सहकार्य जरुरी छ ।

You May Also Like

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ